मध्यपश्चिमाञ्चल विश्वविद्यालय: चुनौती र सम्भावना – Nepal Press

मध्यपश्चिमाञ्चल विश्वविद्यालय: चुनौती र सम्भावना

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई अत्याधुनिक रूपमा कुदाउन प्रणाली व्यवस्थापन आवश्यक थियो । सोही अनुसार कार्यविधि तयार हुँदैछन् । भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता कायम गरेको छु । विश्वविद्यालयमा अहिले भ्रष्टाचार न्यून भएको छ । विगतको जस्तो लथालिङ्ग अवस्था छैन । उच्च शिक्षाको इतिहासमा प्रतिस्पर्धाबाट म आफैं आएको हो । त्यही प्रणालीलाई पछ्याएर खुला प्रतिस्पर्धाबाट रजिष्टार नियुक्त भएका छन् । डीन, डाइरेक्टर क्याम्पसप्रमुख ल्याउन थालिएको छ ।

कोरोना महामारीले विश्व नै तहसनहस भएको समयमा पनि हामीले विद्यार्थीलाई कक्षा चलाउन शुरू गरेका थियौं । अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन नतिजा प्रकाशन गरेका छौं । यो पनि महत्वपूर्ण उपलब्धि नै हो ।

आफूलाई आवश्यक पर्ने ई–युनिभर्सिटी लर्निङ म्यानेजमेन्ट सिस्टम (सिकाइ व्यवस्था प्रणाली) आफैं विकास गरेका छौं । भर्चुअल प्राइभेट सर्भिस आफैंले लगेका छौं । तुरुन्तै इन्टरप्राइज रिसोर्स प्लानिङ सिस्टम बनाउँदैछौं । आफ्नै डेटा सेन्टर बनाइरहेका छौं ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आइसकेपछि प्रदेश सरकार, देश–विदेशका विभिन्न निकायसँग साझेदारी गर्ने, सहयोग माग्ने काम भएको छ ।

प्रदेश सरकारबाट पाँच लाखको पत्रकारिता सम्बन्धी छात्रवृत्ति हरेक वर्ष पाइरहेका छौं । तीन ओटा चिनियाँ विश्वविद्यालयबाट सम्झौता, ई–लाइब्रेरीका लागि सम्झौता भएका छन् । समाज कल्याण परिषदसँग प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा पाँच वटा विश्वविद्यालयले टपर हुने एक छात्र र एक छात्रालाई लर्निङ्ग एण्ड अर्निङ्ग काम दिने भएको छ ।

कोभिड विरुद्धको लडाइँ लडेर संसारका ४४ देशका २०० विश्वविद्यालयभित्र हामी पर्न सफल भयौं । काठमाडौं युनिभर्सिटी र हामी (११ वटामध्ये) परेका छौं । कोभिड विरुद्धको लडाइँमा वेबसाइट निर्माण गरेका छौं । हाम्रा विश्वविद्यालयका कोठालाई आइसोलेसन सेन्टर बनायौं । ८०६ जना स्वयंसेवक तयार गरेर, विभिन्न कक्षा कोठामा आइसोलेसन राखेको, वीरेन्द्रनगर नगरपालिकासँग मिलेर रोगसँग लड्ने क्षमता, योग सिकाएका थियौं ।

विगतमा दरबन्दी भन्दा पनि करारमा धेरै शिक्षक काम गर्थे । दशौं सिनेटले १३१ वटा दरबन्दी स्वीकृत गरेको छ । सात घण्टा प्रत्येक शिक्षक र कर्मचारी विश्वविद्यालयमा बस्नै पर्ने वातावरण बनाएका छौं । सुरक्षा प्रणाली बलियो बनाउनका लागि आफ्नै सुरक्षा युनिट इकाई बनाउन पास गरेका छौं ।

अत्याधुनिक विश्वविद्यालय बनाउने भिजन अनुसार २६३ करोडको बजेट स्वीकृत भइसकेको छ । यो बजेटले विश्वविद्यालयलाई नयाँ दिशामा लैजानको लागि दिशानिर्देश गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोभिडको समयमा शैक्षिक पात्रो घोषणा गरेको छ । कोभिडको समयमा पाँच वटा क्षेत्रमा काम गर्नका लागि योजना तयारी गरिएको छ । जसमा शैक्षिक विकास र उन्नयन, विश्वविद्यालयको आर्थिक विकास वृद्धि, पाठ्यक्रमलाई परिमार्जन, विदेशी विद्यार्थी र प्रोफेसर एक्सचेन्ज र भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक योजना बनाएका छौं । ती सबै योजनाहरू सरकार र अन्तर्राष्ट्रिय संस्थामा पेश गरिएको छ ।

शिक्षकको गुणस्तर बढाउन, जनताको विश्वविद्यालय बनाउन, आशा र भरोसा बढाउनका लागि धेरै प्रयास गरेका छौं । इन्जिनियरिङ्गमा भ्रष्टाचार नभई नतिजा निकालिएको छ । पहिले उतिबेलै परीक्षा लिने र भर्ना लिने प्रचलन थियो । अब हामी एकै दिनमा सबै संकायमा भर्ना लिन्छौं । अनलाइन फारम भर्न पाउने, मोबाइलबाट ई–सेवा पनि लगिसकेका छौं । त्यसबाट आफू बस्ने स्थानबाट फारम भर्न पाउने व्यवस्था विद्यार्थीलाई मिलाएका छौं ।

भवन निर्माण तत्काल सम्पन्न गरेर सबै कार्यालय केन्द्रीय कार्यालयमा सार्ने तयारी भइरहेको छ । इन्जिनियरिङ्ग भवनलाई अत्याधुनिक रूपमा डेकोरेशन गरेर सेवा प्रदान गर्ने काममा लागेका छौं । केन्द्रीय लाइब्रेरीलाई अत्याधुनिक बनाउन ६० लाख विनियोजन गरिएको छ । दुई सिफ्टमा काम गर्नका लागि कर्मचारीको व्यवस्था मिलाइएको छ । दश कम्प्युटर र एक फोटोकपी मेसिन दिएका छौं ।

दश वटा आंगिक क्याम्पसमा तीस लाख पहिले गएको छ । अहिले ५० लाख थप गएको छ । त्यसका अलावा पाँच लाख रुपैयाँ आईटी विकास गर्नका लागि हरेक क्याम्पसमा पठाइएको छ ।

दुर्गममा रहेका क्याम्पसले पाउने भत्ताको व्यवस्था मिलाउन प्रयास गरेका छौं । त्रिभुवन विश्वविद्यालयले दिएको जस्तै भत्ता दिने गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । नयाँ कोर्स बारेमा ५० प्रतिशत संसारको ज्ञान, ३० देखि ४० प्रतिशित स्थानीय र १० देखि २० प्रतिशत देशको ज्ञान समेट्ने छौं । ६० प्रतिशत प्राक्टिकल र ४० प्रतिशत सैद्धान्तिक परीक्षा दिने व्यवस्था गर्छौं । त्यसो गरिएको खण्डमा विद्यार्थीहरू सहजै मार्केटमा बिक्ने देखेको छु ।

कृषि तथा वन संकाय, स्वास्थ्य विज्ञान संकाय, आदिवासी ज्ञान, सीप र प्रविधि सम्बन्धी कर्णाली संस्था, चारवर्षे योग र खेलकुद प्रतिष्ठान, विकास र अनुसन्धान केन्द्र (प्याटेन) लिनका लागि जस्ता नयाँ संस्थाहरू स्थापना भएका छन् ।

राजा वीरेन्द्रको नाउँमा रहेको सुब्बाकुनाको ३४ बिघा जमिन शिक्षा र स्वास्थ्यका लागि लिजमा लिने, त्यसका लागि अभियान, ६ वटा सामुदायिक वन हाम्रो नाउँमा छन् । साढे चार सय बिघामा विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्ने र त्यसलाई भाडामा लिनका लागि वन मन्त्रालय, वन डिभिजन, शिक्षा मन्त्रालयमा निवेदन दिइसकिएको, प्रक्रिया शुरु भएको छ ।

र अन्त्यमा, फेरि पनि के भन्छु भने यो एक वर्षमा यीभन्दा धेरै काम भएका छन् । ती सबै कामको फेहरिस्त सुनाउनु भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मेरो धारणा छ । तपाइँहरू एक वर्ष अघिको र अहिलेको विश्वविद्यालय हेरेर मूल्यांकन गर्न सक्नुहुन्छ ।

( मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *