श्रीमान्, छोरा र बुहारी गुमाएकी पदममाया, जसले भत्ता काटेर नातिनातिना बढाइरहेछिन् – Nepal Press

श्रीमान्, छोरा र बुहारी गुमाएकी पदममाया, जसले भत्ता काटेर नातिनातिना बढाइरहेछिन्

इटहरी । उत्तरी मोरङको पर्यटन क्षेत्र बेतना सिमसार अगाडिबाट पाँच मिनेटमै पुगिन्छ– बुधबारे चोकको काकुम बस्ती । बस्तीमा रहेको सबैभन्दा सानो बाँसको टाटीले बनेको घर हो– पदममाया मगरको । ६२ वर्षे पदममायाको सानो घरका दुःख भने ठूला छन् ।

२०३३ सालमा धरानबाट बेलबारी बसाइँ सरेकी पदममायाले २०४५ सालमा श्रीमान् गुमाइन् । श्रीमान् गुमाएको ३१ वर्षपछि २०७६ माघ १९ मा पदममायाका छोरा दिलीप मगरको पनि मृत्यु भयो । छोरा बित्नुभन्दा पाँच वर्ष अगाडि नै बुहारीको निधन भइसकेको थियो ।

श्रीमान् र छोराबुहारी गुमाएकी पदममायाका दुई नातिनातिना छन् । नाति दिवस १२ वर्षका भए, कक्षा ७ मा पढ्छन् । नातिनी दिया मगर १५ वर्षकी भइन्, कक्षा ९ मा पढ्छिन् । स्थानीय कसेनी सामुदायिक विद्यालयमा पढाउन शुल्क लाग्दैन । तर, आवश्यक शैक्षिक सामग्री र अन्य घरखर्च जुटाउन भने पदममायालाई साह्रै गाह्रो छ ।

‘कहिलेकाहीं बनिबुतो ग¥यो अलिअलि हुन्छ, एकल महिला भत्ता आउँछ’ पदममायाले भनिन्, ‘यत्तिले मात्रै पुग्दैन ।’

कोभिड–१९ को प्रकोपताका भएको लकडाउनमा त पदममायालाई धेरै नै समस्या भयो । ‘बनिबुतो नहुँदा नुनभुटुन भएन’ पदममायाले भनिन्, ‘धन्न नगरपालिकाले नुनभुटुन र चामल दिएर बाँचियो ।’

साढे सात धुरमा फैलिएको जग्गामा बनेको सानो घरमा दिन कटाउन पनि पदममायालाई असहज छ । बर्खामा पानी घर भित्रैसम्म आउँछ । हुर्केका नातिनातिनालाई राम्रोसँग खान मात्रै हैन बस्न पनि समस्या भएको पदममायाको दुःखेसो छ । बच्चाबच्चीको पढाइ खर्च जुटाउन र घर बनाउन सहयोगी हातको खाँचो रहेको सुनाउँछिन् ।

स्थानीय सामाजिक कार्यकर्ता तारा कुलुङले पदममायाका नातिनातिनाको पढाइ खर्च जुटाउन पहल गरिरहेकी छिन् । उनले गोर्खा पिस फाउन्डेसन नामक संस्थाबाट सहयोग जुटाउन पहल गरिरहेको बताइन् । उनी भन्छिन्, ‘कम्तीमा पढाइ खर्च जुटाउन मात्रै सहयोग भएमा एउटा राम्रो काम हुनेथियो । त्यसपछि घर बनाउने र अन्य कुरामा सहयोगको काम गर्न सकिन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *