कोमल वली भन्छिन्- रघुजीको निकृष्ट अभिव्यक्तिविरुद्ध अदालत जाँदैछु – Nepal Press

कोमल वली भन्छिन्- रघुजीको निकृष्ट अभिव्यक्तिविरुद्ध अदालत जाँदैछु

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।

हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।

‘अहिले यो विषयमा सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ’, उनले नेपाल प्रेससँग भनिन् ।

नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।

‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसें भने भोलि अरु महिलाहरुले पनि यसैगरी आरोपित बन्नुपर्नेछ ।

सामाजिक सञ्जालमा कतिपयले तपाईंलाई राजनीतिक योगदान विना केपी ओलीले राष्ट्रियसभा मनोनीत गरेको भनेर पनि टिप्पणी गरेका छन् नि ? भन्ने नेपाल प्रेसको  प्रश्नमा कोमलले यसरी प्रष्टिकरण दिइन् :

‘केपी ओलीले टप्प टिपेर राष्ट्रियसभामा ल्याउनुभएको आरोप पूर्णरुपमा झूटो हो । म तल्लो कमिटीदेखि सिफारिस भएर आएकी हुँ । पहिले जिल्ला कमिटीले सिफारिस गर्‍यो । त्यसलाई प्रदेश कमिटीले सदर गरेर एक नम्बरमा नाम राखेर पठायो । अनि, स्थायी कमिटीले पारित गरेपछि बल्ल म राष्ट्रियसभामा पुग्ने बाटो खुलेको हो । स्थायी समितिले मेरो निर्णय गर्दा रघुजी पन्तले किन रोक्नुभएन ? अहिले फरक पार्टी भयो भन्दैमा यसरी आरोपित गर्न मिल्छ ?’

आफूलाई कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।

‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन् मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला’, उनले भनिन् ।

आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड-नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।

‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ’, वलीले भनिन् ।
नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्बन्ध रहेको वलीले उल्लेख गरिन् ।

‘उहाँ प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै चिनेको हो । म उहाँलाई सम्मान गर्थेँ । दाइ भन्थें । तर, मलाई आज एकदमै ठूलो चोट पुर्याउनुभयो’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर