विष्णु रिमालको स्पष्टीकरण- मनमोहनको पालामा जे गरेका थियौं, अहिले त्यही गर्छाैं – Nepal Press

विष्णु रिमालको स्पष्टीकरण- मनमोहनको पालामा जे गरेका थियौं, अहिले त्यही गर्छाैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले २५ वर्षअघि मनमोहन अधिकारीले जुन बाटो लिएका थिए, यसपटक केपी शर्मा ओलीले पनि त्यही गर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै रिमालले राजीनामा गर्ने कि संसदको सामना गर्ने भन्ने सन्दर्भमा २०५२ सालमा जे गरेका थियौं, जे भनेका थियौं अहिले पनि त्यही हुने बताएका छन् ।

रिमालले भनेका छन्– प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न । यी विषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरु २०५२ सालमा पनि थियौं र अहिले पनि छौं ।

२०५२ सालमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालीन प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्कालीन नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

अधिकारीले त्यसबेला राजीनामा नगरी त्रिवि शिक्षण अस्पतालको शय्याबाट अविश्वास प्रस्तावको जवाफ दिएका थिए । उनले बोल्न नसकेपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिएका थिए ।

यसपटक पनि मनमोहन अधिकारीकै बाटोमा ओली जान तयार रहेको रिमालले बताएका छन् । ओली मनमोहन सरकारमा तेस्रो वरियतासहित गृहमन्त्री थिए त्यसबेला ।

रिमालले भनेका छन्– दुई प्रधानमन्त्रीहरु मनमोहन र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं भनेका थियौं, त्यसै गर्दै अहिले चाहिं नहुने किन रहेछ ? उनले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर