आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह – Nepal Press

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

विराटनगर । उद्योगी, व्यापारी एवम् करदातालाई आर्थिक ऐन-२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।

यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे ।

यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपिलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रूपैयाँसम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिनाहा हुने भनिएको छ ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक ५० लाखभन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

विसं २०७५ असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयको अपिलमा छ ।

आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्त:शुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्त:शुल्क निर्धारण (झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणबाहेक) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने भनिएको छ ।

यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु चार अर्ब ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा रु दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल भएको छ । विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताए ।

सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ३७ लाख ७७ लाख ३१ हजार र अन्त:शुल्क रु एक अर्ब ३९ करोड ६२ लाख ६२ हजार छन् । गत साउनदेखि माघसम्ममा कार्यालयले आयकरमा १३१, मूल्य अभिवृद्धिकरमा १६७ र अन्त:शुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । गएको वर्षभन्दा यस वर्ष सो अवधिमा आयकरमा चार, मूल्य अभिवृद्धिकरमा २६ र अन्त:शुल्कमा पाँच प्रतिशत प्रगति भएको छ ।

आन्तरिक राजस्व कार्यालयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कूल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर