पत्रकारलाई चुनाव लाग्यो, नेकपा विभाजनको असर पत्रकार महासंघमा यसरी देखिंदैछ – Nepal Press

पत्रकारलाई चुनाव लाग्यो, नेकपा विभाजनको असर पत्रकार महासंघमा यसरी देखिंदैछ

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव नजिकिएको छ । चुनावको मिति नतोकिए पनि अबको एक महिनामा चुनाव हुने निश्चितप्रायः छ ।

विधानतः केन्द्रीय साधारणसभा भएको एक महिनाभित्र चुनाव हुनुपर्ने भए पनि आन्तरिक किचलोका कारण निर्वाचन तालिका सार्वजनिक भएको छैन ।

फागुन ५ गते साधारणसभा सकिएपछि चैत ५ भित्रमा चुनाव हुनुपर्ने हो । निर्वाचन गराउन पत्रकार कपिल काफ्लेको संयोजकत्वमा निर्वाचन समिति पनि बनेको छ । तर, पछिल्लो समय मनलाग्दी सदस्यता वितरण गरेको उजुरी परेपछि समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको छैन ।

यद्यपि, विवाद समाधान भएर चैतको आधाआधीतिर निर्वाचन हुने पत्रकार महासंघका नेताहरू बताउँछन् । पत्रकार महासंघको चुनावको मुखैमा वामपन्थी पत्रकारहरूको संगठन फुटेकाले त्यस खेमाका उम्मेदवारका आकांक्षीहरू खुलेर आउन सकेका छैनन् ।

निर्वाचन नजिकिएसँगै पत्रकारहरूले पदाधिकारी र सदस्यमा उम्मेदवारी घोषणा गर्ने होड भने चलेको छ । पत्रकार महासंघमा राजनीतिक पार्टीले टिकट दिएका व्यक्तिले मात्र जित्ने परम्परा बसिसकेको छ ।

यसपटक पनि टिकटको खटनपटन कांग्रेस र विभाजित नेकपाका दुई समूहका प्रचार विभागबाटै हुने निश्चित छ ।

जसरी प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार गठन गर्ने सन्दर्भमा नेकपाका दुवै पक्ष विभाजित भएको बेला कांग्रेस दुवैको तानातानमा परेको छ, त्यसैगरी पत्रकार महासंघको चुनावमा पनि कांग्रेस सम्बद्ध प्रेस युनियनसँग दुवै पक्षले तालमेलको प्रयास गरिरहेका छन् ।

पार्टीनिकट पत्रकार संगठनहरूलाई आकांक्षी धेरै भएकाले आधिकारिक उम्मेदवार घोषणा गर्न कठिन भइरहेको छ । वामपन्थी पत्रकारहरू मिलेर लड्नुपर्ने आवाज उठे पनि नेकपाका दुई गुटको नेता जस्तै प्रेस संगठनका नेताहरूबीच पनि तिक्तता बढेकाले चुनावमा मिलेर जाने सम्भावना देखिएको छैन ।

आकांक्षीहरूले टिकटका लागि आफूनिकट नेता र संगठनमा लबिङ गरिरहेका छन् । यससँगै पत्रकार महासंघमा अध्यक्षलगायत पदाधिकारीमा को–को चुनाव लड्छन् भन्ने चासो बढ्दो छ ।

चुनावमा कस्तो समीकरण बन्छ ? र, को शक्तिशाली दाबेदार हो ? भन्न अहिले कठिन छ । नेकपाभित्रको विवादले पत्रकारको संगठनमा पनि असर गरेको छ । नेकपा विवाद किनारा नलाग्दासम्म पत्रकार महासंघभित्रको गठबन्धन पनि यताउता हुनसक्नेछ ।

नेपाली कांग्रेसनिकट प्रेस युनियन, केपी ओली पक्षीय प्रेस संगठन र प्रचण्ड–माधव पक्षीय प्रेस संगठनको बेग्लाबेग्लै रणनीति छन् । तर, उनीहरू एक्लाएक्लै चुनाव लड्ने वा कुन समूहसित मिलेर जाने भन्नेमा टुंगोमा पुगेका छैनन् ।

प्रेस युनियनका आकांक्षी र रणनीति

अघिल्लो महाधिवेशनमा प्रेस युनियन र तत्कालीन माओवादी निकट प्रेस सेन्टरको गठबन्धन भएको थियो । र, त्यही गठबन्धनले अध्यक्षसहित अधिकांश पदाधिकारी एवम् सदस्य जितेको थियो ।

माओवादी सम्बद्ध प्रेस सेन्टरसँग मिलेर युनियनले कार्यसमितिमा ७ पदाधिकारी र बहुमत सदस्य हात पारेको थियो । त्यतिबेला उपाध्यक्ष जितेका विपुल पोखरेल र समावेशी उपाध्यक्ष दिलीप थापामगर अब अध्यक्ष हुन चाहिरहेका छन् ।

त्यस्तै युनियनबाट अहिलेका महासचिव रमेश विष्टको पनि अध्यक्षमा दाबी छ ।

अघिल्लो महाधिवेशनमै अध्यक्षको दाबेदार पूर्वसचिव रामजी दाहाल पनि अध्यक्षकै रेसमा छन् ।

पोखरेललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको साथ छ भने विष्टलाई सभापति शेरबहादुर देउवा र प्रकाशशरण महतको समर्थन छ । दाहाल कांग्रेस उपसभापति विमलेन्द्र निधिनिकट हुन् । त्यस्तै हालका समावेशी उपाध्यक्ष दिलीप थापा मगरलाई आदिवासी जनजाति पत्रकारले अध्यक्ष बनाउन चाहिरहेका छन् ।

प्रेस युनियनबाट उपाध्यक्षमा सोझो दावेदार देखिएका छैनन् । चुनावी समीकरण हुँदा अर्को संगठनलाई दिनुपर्ने सम्भावना भएका कारण उपाध्यक्षमा दाबी नदेखिएको हो ।

त्यस्तै, महासचिवमा अहिलेका सचिव रामप्रसाद दाहाल, सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्रले आकांक्षा व्यक्त गरेका छन् । चुनावी समीकरणले प्रभावित पार्न सक्ने भएकाले उनीहरूले खुलेर दाबी व्यक्त गरिरहेका छैनन् ।

सचिवका लागि धेरैको आकांक्षा भएको बुझिएको छ । तर ६ मध्ये खुला सचिवमा हालका केन्द्रीय सदस्य नकुल अर्याल, यम विरही, लक्ष्मण कार्की, पूर्व केन्द्रीय सदस्य माधव दुलाल लगायत दावेदार छन् ।

एशोसिएट सचिवका लागि पवन आचार्य, राधेश्याम दाहाल र विनय देवकोटाको दाबी छ । कोषाध्यक्षमा अहिलेका लेखा समिति सदस्य भुपेन्द्र आचार्यको नाम चर्चामा छ । अहिलेका सदस्यमध्येबाटै कोषाध्यक्षको उम्मेदवार बनाइने हुनसक्ने प्रेस युनियनका नेताहरू बताउँछन् ।

कांग्रेस प्रचार विभागले पनि पत्रकार महासंघको चुनावमा चासो देखाएको छ । कांग्रेसले महासंघ चुनावलाई सहजीकरण गर्न कार्यदल नै बनाएको छ ।

प्रेस युनियनले अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी सम्मिलित वार्ता समिति बनाएको छ । सो समितिले अरू पत्रकार संगठनसँग वार्ता गरी गठबन्धनबारे टुंगो लगाउनेछ ।
अहिले विभिन्न पदमा आकांक्षा गरे पनि चुनावी समीकरणले नै कसको भागमा कुन पर्छ भन्ने निर्धारण गर्नेछ ।

प्रेस संगठनभित्र बेग्लै लफडा

पार्टीभित्रको विभाजनको असर नेकपानिकट प्रेस संगठनमा पनि परेको छ । अहिले ओली पक्ष र प्रचण्ड–माधव पक्षका दुवै संगठन आफूतिर सदस्य तान्न व्यस्त छन् ।

तत्कालीन एमालेको प्रेस चौतारीको बहुमत हिस्सा ओलीतिर छ । तत्कालीन प्रेस सेन्टरको अधिकांश हिस्सा प्रचण्ड–माधव पक्षमा छ । दुवै पक्षले यसबीचमा प्रादेशिक भेलाहरू गरिरहेका छन् ।

ओली पक्षको प्रेस संगठनबाट अध्यक्षका लागि निर्मला शर्मा, उजिर मगर, सूर्यमणि गौतम र बालकृष्ण बस्नेतले दाबी गरेका छन् । मगर महासंघका पूर्व महासचिव हुन् । त्यस्तै शर्मा सञ्चारिका समूहकी पूर्वअध्यक्ष हुन् भने गौतम महासंघका पूर्वकोषाध्यक्ष हुन् । बस्नेत पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रचण्ड–माधव पक्षबाट यसपटक अध्यक्षमा कसैको दाबेदारी देखिएको छैन । यद्यपि पूर्व महासचिव ओम शर्मा, प्रेस चौतारीका पूर्व अध्यक्ष गगन विष्टलगायतको नाम चर्चामा भने छ ।

अघिल्लो महाधिवेशनमा प्रेस युनियनले गोविन्द आचार्यलाई अध्यक्षमा सहयोग गर्ने बेलामै यसपटक प्रेस संगठनले प्रेस युनियनलाई समर्थन गर्ने सहमति भएकाले गठबन्धन भएको अवस्थामा अध्यक्षमा दाबी नरहने प्रेस संगठनका नेताहरू बताउँछन् ।

अघिल्लो समझदारी अनुसार नै प्रचण्ड–माधव पक्षले प्रेस युनियनसँग मिलेर चुनाव लड्ने र ओली पक्षलाई ‘पत्तासाफ’ गर्ने रणनीति बनाएको छ । सो समूहबाट उपाध्यक्ष वा महासचिवका लागि रोशन पुरी, गोविन्द चौलागाईं, ध्रुव लम्साल लगायतले दाबी गरेका छन् ।

पुरी लेखा समितिका संयोजक हुन् भने चौलागाईं केन्द्रीय सदस्य । महासंघका पूर्वसचिव हुन् । साबिक प्रेस चौतारीबाट चुनाव जितेकामध्ये चौलागाईं र उत्तर विष्ट प्रचण्ड–माधव पक्षमा खुलेका छन् । त्यस्तै केन्द्रीय सदस्य लेखनाथ न्यौपाने खुला सचिवका दावेदार हुन् ।

सटेन्द्र जगेबु, द्वारिका काफ्ले, स्वेता सिन्हा, मधु शाही, रामकृष्ण ज्ञवाली, टेकराज थामी ओली पक्षमा खुलेका छन् भने छेटु शेर्पा दुवै पक्षमा खुलेका छैनन् । त्यस्तै साविक प्रेस सेन्टरबाट जितेका केन्द्रीय सदस्य श्याम भट्ट भने ओली पक्षमा खुलेका छन् ।

उनीहरूमध्येबाट नै खुला तथा समावेशी सचिव र कोषाध्यक्षमा उम्मेदवार बनाइनेछ । ओली पक्षबाट उपाध्यक्षमा दीपक पाण्डेले रहर गरेका छन् । पाण्डे प्रेस काउन्सिलका सदस्य समेत हुन् ।

प्रचण्ड–माधव पक्षको प्रेस संगठनबाट कोषाध्यक्ष हुन पूर्वसेन्टरका एनके दाहालले चाहना व्यक्त गरेका छन् । पदाधिकारी बाँडफाँडमा समीकरणले प्रभाव पार्ने भएकाले दाबी गर्नेहरू कम देखिएका हुन् ।

समीकरणको सम्भावना

अहिले नै कस्तो चुनावी समीकरण बन्छ भनेर आकलन गर्न कठिन छ । सबैले सकेसम्म सहमतिमै अघि बढ्ने बताइरहेका छन् । तर सहमतिको सम्भावना भने न्यून छ ।

युनियन र प्रेस संगठनका दुवै पक्ष एक्लाएक्लै चुनाव लड्ने हो भने युनियनले जित्न सक्छ । तर, त्यो बेला आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, राप्रपा, मधेशवादी दल, जसपा, जनमोर्चालगायत साना दलका पत्रकार संगठन निर्णायक हुने देखिन्छन् ।

अहिलेसम्म तीन संगठन बेग्लाबेग्लै चुनाव लड्ने मूडमा छैनन् । प्रेस संगठनका दुवै पक्षले युनियनसित छलफल गरिरहेका छन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सकेसम्म सबैलाई मिलाएर अघि बढ्ने प्रयास भइरहेको बताए । वार्ता समितिका संयोजक समेत रहेका सिग्देलले भने– छलफल सबैसित भइरहेको छ । कोसँग मिल्ने भन्नेमा पुगेका छैनौं । सबैलाई सहमतिमा अघि बढ्न आह्वान गरेका छौं ।

त्यस्तै, ओली पक्षीय प्रेस संगठनका संयोजक अध्यक्ष गणेश बस्नेतले पनि कुन संगठनसँग गठबन्धन हुन्छ भन्ने अहिले नै प्रष्ट भइनसकेको बताए ।

प्रचण्ड–माधव पक्षीय संगठनका अध्यक्ष महेश्वर दाहालले पनि अहिले संगठन पुनर्गठनको काम भइरहेकाले महासंघको चुनावका विषयमा खासै छलफल नभएको बताए ।

एक्लै चुनाव लड्ने वा अरुलाई मिलाएर लड्ने अवस्थामा अध्यक्ष पाए वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, पूर्वमहासचिव ओम शर्मा, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्टलगायतका नेता आफूहरुसँँग उम्मेदवार रहेको प्रचण्ड माधव पक्षीय प्रेस संगठनका सहसंयोजक विश्वमणी सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर