नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीले नियुक्त गरे विशाल भट्टराई – Nepal Press

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीले नियुक्त गरे विशाल भट्टराई

काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव पक्षले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो । अहिले प्रतिनिधिसभा पुनःस्थापनापछि दलको नेताबाट ओलीलाई हटाउने प्रक्रियामा जाने कि सिधै संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

ओली पक्षले पार्टी विभाजनले कानुनी मान्यता नपाउँदासम्म दलको नेता ओली रहेको हुनाले प्रचण्ड-माधव पक्षले दलको नेता परिवर्तन गर्ने हो भने बहुमत सांसद जुटाएर दलभित्रको प्रक्रियामा आउनुपर्ने बताइरहेको छ ।

तर प्रचण्ड–माधव पक्षका सांसद कृष्णभक्त पोखरेलले भने आफूहरुले त्यसबारे अहिले नसोचेको भन्दे संसदकै प्रक्रियामा जाने सम्भावना रहेको बताए । नेकपाका संघीय संसदका २२३ सांसदमध्ये दुवै पक्षमा हाराहारी सांसद रहेका छन् ।

केही सांसदको ओहोरदोहोर चलिरहेको बेला ओलीलाई बुहमतबाट हटाउने संख्या नपुग्ने आशंका प्रचण्ड-माधव पक्षमा छ । त्यसैले दलको वैधानिक प्रक्रियामा जाने भन्दा अब पार्टी विभाजनलाई कानुनी प्रक्रियाबाट मान्यता दिलाउनेतर्फ सो पक्ष लाग्ने भएको छ ।

 


प्रतिक्रिया

One thought on “नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीले नियुक्त गरे विशाल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर