बिरामी बोकेको जिप दुर्घटना, बिरामीकै मृत्यु, चार घाइते – Nepal Press

बिरामी बोकेको जिप दुर्घटना, बिरामीकै मृत्यु, चार घाइते

रासस । म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका-३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *