२ दिनमै सकियो टेष्ट, इंग्ल्याण्डविरुद्ध भारतको १० विकेटको जित
भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइनलनजिक


एजेन्सी । भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट २ दिनमै सकिएको छ । इंग्ल्याण्डले दिएको ४९ रनको लक्ष्य भारतले विना क्षति पूरा गर्यो ।
नरेन्द्र मोदी रंगशाला मोटेरामा पहिलो पारीको जवाफी ब्याटिङमा ९९–३ को स्थितिबाट बिहीबार दोस्रो दिनको सुरुआत गरेको भारतले १ सय ४५ रनमा सबै विकेट गुमाउँदा ३३ रनको अग्रता बनाएको थियो । उसका लागि रोहित शर्माले सर्बाधिक ६६ रन बनाए । इंग्लिस टोली पहिलो पारीमा ११२ रनमा समेटिएको थियो ।
दोस्रो पारीमा इग्ल्याण्ड ८१ रनमै अलआउट भएपछि भारतले ४९ रनको विजयी लक्ष्य पाएको हो । रोहित शर्मा २५ र शुभमन गिलले १५ अविजित रन बनाएपछि भारतले सहज जित निकाल्यो ।
म्यान अफ द म्याच चुनिएका भारतका अक्सर पटेलले दुई पारीमा गरी ११ विकेट लिए । उनले पहिलो पारीमा ६ र दोस्रो पारीमा ५ विकेट लिएका हुन् । स्पिनर हाबी भएको खेलमा रविचन्द्र आश्विनले पनि ७ विकेट लिए ।
टेष्ट क्रिकेट अधिकतम ५ दिनको हुन्छ । १ सय ४४ वर्षको टेष्ट इतिहासमा २ दिनमै खेल सकिएको यो २२ औं पल्ट हो । यसअघि भारतले सन् २०१८ मा अफगानिस्तानलाई २ दिनमै हराएको थियो ।
यो जितपछि चार खेलको शृंखलामा २–१ को अग्रता बनाएको भारत विश्व टेष्ट च्यामिपयनसिपको पनि फाइनल नजिक पुगेको छ । विश्व च्याम्पियनसिपमा न्युजिल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ ।
फाइनलमा पुग्नका लागि भारतले ४ मार्चदेखि सुरु हुने चौथो टेष्टमा जित वा कम्तिमा बराबरी गर्नुपर्नेछ । समीकरण यस्तो बनेको छ कि यदि भारतमाथि इंग्ल्याण्डले जित हासिल गरेको अवस्थामा अस्ट्रेलियाले न्युजिल्याण्डसँग फाइनल खेल्नेछ ।