आर्सनल र एसी मिलान युरोपा लिगको अन्तिम–१६ मा, लेस्टर बाहिरियो – Nepal Press

आर्सनल र एसी मिलान युरोपा लिगको अन्तिम–१६ मा, लेस्टर बाहिरियो

एजेन्सी । इंग्लिस टोली आर्सनल र इटलीयन टोली एसी मिलानले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । गएराति भएको अन्तिम–३२ अन्तर्गत दोस्रो लेगमा आर्सनलले बेनफिकालाई ३–२ गोलको संघर्षपूर्ण जित निकाल्यो ।

एसी मिलान भने सर्बियाको क्रेना भेज्दासँग बराबरी खेले पनि अवे गोलका आधारमा अर्को चरणमा छनोट भएको हो । लेस्टर सिटी चाहिँ चेक रिपब्लिकको स्लाभिया प्राहासँग आफ्नै मैदानमा २–० ले पराजित हुन पुग्यो ।

कोरोना मापदण्डका कारण ग्रीसको स्वतन्त्र मैदानमा खेलिएको खेलमा पिएर्रे एमरिक उवामेयाङले खेलको अन्त्यतिर गोल गरी आर्सनललाई अर्को चरणमा पुर्‍याएका हुन ।

२१औं मिनेटमा उनैको गोलमार्फत आर्सनलले अग्रता बनायो । ४३औं मिनेटमा डिएगो गोन्कालभेसले गोल गरेपछि पहिलो हाफ बेनफिकाले बराबरीमा ल्यायो । ६१ औं मिनेटमा राफा शिल्भाले गोल गरेसँगै बेनफिकाले खेलमा अग्रता बनायो । तर ६७ औं मिनेटमै आर्सनलका केरिन टेर्नीेले बराबरी गोल फर्काएका थिए ।

पहिलो लेगमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए । साँघुरो हारपछि बेनफिकाको युरोपा लिग यात्रा शीर्ष ३२ मै सकिएको छ ।

इटलीयन सिरी ए मा दोस्रो स्थानमा रहेको एसी मिलानलाई भने सर्बियन च्याम्पियन भेज्दाले कठिन चुनौति पेश गरेको हो । अवे गोलको दुर्भाग्यले भेज्दा इतिहास रच्न चुकेको हो ।

घरेलु मैदानमा फ्र्यांक याग्निक किसीइले पेनाल्टीमार्फत नवौं मिनेटमै एसी मिलानलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा भेज्दाका लगि मार्को इभानिकको पासमा बेन नाबोउनले गोल गरेपछि मिलानले थप गोल गर्नै सकेन ।

पहिलो लेगमा भेज्दाको घरेलु मैदान २–२ गोलको बराबरी भएको थियो । त्यही आधारमा समग्रमा ३–३ को नतिजा भए पनि अवे गोलका आधारमा एसी मिलान अर्को चरणमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकन च्याम्यिन स्लाभिया प्राहासँग किङ पावर रंगशालामा २–० गोलले हारेपछि लेस्टर सिटीको युरोपा लिग जित्ने लक्ष्य यो सिजनका लागि सकिएको छ ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेको लेस्टरले दोस्रो लेगमा घरेलु मैदानमा लगातार गोल खान पुग्यो । स्लाभियाका लागि लुका प्रोभोडले ४९ औं र अब्दुल्लाह डिपो सीमाले ७९ औं मिनेटमा गोल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *