लड्दै, उठ्दै दौडिएका राजकुमार, जो क्यानडा छाडेर स्वदेशमै व्यवसाय गर्दैछन् – Nepal Press
सफलताको कथा

लड्दै, उठ्दै दौडिएका राजकुमार, जो क्यानडा छाडेर स्वदेशमै व्यवसाय गर्दैछन्

रूपन्देही । सरकारी जागिरे बुवाको तलबबाट आमाले घरखर्च चलाएको नजिकबाट नियालिरहेका रूपन्देहीका राजकुमार पराजुलीलाई सानैदेखि सरकारी जागिरप्रतिको मोह हराइसकेको थियो ।

बस्न र खेतीपातीको लागि प्रशस्त जमिन भए पनि छोराछोरीको स्कूल खर्च, नुन, तेल, चिनी, चियापत्ती जस्ता जिनिससँगै चाडपर्वमा भए पनि फेरिने लत्ता–कपडाको जोहो महिनाभरी जागिर गरेर बुझेको सरकारी तलबले पूरा गर्नुपर्थ्या ।

कहिलेकाहीं मन फुकाएर खर्च गर्न त परै जाओस्, एकजनाको कमाइले परिवारमा भैपरी आउने खर्च व्यवस्थापन गर्न कठिन नै पर्थ्याे । यस्तै समस्या देखिरहेका राजकुमारले पढाइपछि जागिर होइन आफैं स्वरोजगार बन्नुपर्छ भन्ने अठोट बनाइसकेका थिए ।

‘बुवा जागिरे हुनुहुन्थ्यो । उहाँले बुझेर ल्याएको तलबले घर–व्यवहार चलाउनुपर्ने बाध्यता थियो । सीमित तलब, परिवारका असीमित आवश्यकता– सानैदेखि यस्तै देखिरहेको थिएँ । पढेर जागिर खान्छु भन्ने कहिल्यै पनि लागेन । पढाइ पूरा गरेपछि आफ्नै व्यवसाय संचालन गर्छु भन्ने लाग्यो’– व्यवसायमा लाग्नुको कारण उनी यसरी खोल्छन् ।

रूपन्देहीको तिलोत्तमा–४ जानकीनगरका राजकुमार बुवाआमाको जेठो सन्तान हुन् । २०५० सालमै उनले एसएलसी पास गरिसकेका थिए । त्यस बेला कुखुरापालन व्यवसायले भर्खरै व्यावसायिकता पाउँदैथियो ।

रूपन्देही, नवलपरासीसँगै चितवनमा व्यावसायिक कुखुरा फार्महरू खुल्दैथिए । उनले पनि पढाइ सँगसँगै व्यवसाय शुरू गर्ने सोच बनाए । कुखुरापालन राम्रो व्यवसाय हो भन्ने सुनेका थिए । घरपरिवार र नजिकका साथीभाइले पनि कुखुरा पाल्न सुझाए ।

चल्ला र दाना किन्न पैसा नभए पनि खोर बनाउनका लागि आफ्नै जग्गा छँदैथियो । उनले २०५० सालमा कृषि विकास बैंकबाट ९५ हजार ऋण लिएर लेयर्स कुखुरा पाल्न थाले ।

‘व्यवसायको अनुभव, कति लगानी लगाउनुपर्छ भन्ने कुनै जानकारी थिएन । बैंकबाट लिएको ६०÷७० हजार रुपैयाँ खोर बनाउँदा बनाउँदै सिद्धियो । बाँकी रहेको पैसाले भाँडाकुँडा किनेको थिएँ । चल्ला र दाना किन्न पैसा पुगेन, साथीभाइसँग सरसापटी खोजेर काम चलाएँ’ २७ वर्ष पहिले व्यवसाय शुरू गर्दाको अनुभव यसरी सुनाउँछन् ।

दिमागमा व्यवसाय गर्ने भन्ने मात्र ध्याउन्न थियो, आइपर्ने अप्ठ्यारासँग जुँध्नसक्ने हिम्मत जुटिसकेको थिएन । यत्तिकैमा खोरमा हालेका २०० बढी चल्ला नहुर्किंदै मरे । ५०० लेयर्स चल्ला हालेको खोरमा २०० मरेपछि त्यो लट घाटामै गयो ।

बैंक र साथीभाइसँग लिएको ऋण तिर्नु त कता हो कता चल्ला हुर्काउँदा नै उनको काँधमा अरू ऋण थपियो । पहिलो लटमै लेयर्सबाट घाटा भए पनि कुखुरा पालनमै लाग्छु भन्ने उनले अठोट लिइसकेका थिए ।

‘कुनै पनि हालतमा यही पेशा गर्ने हो भनेर मनमा थियो, पहिलो यात्रामै ठेस लागे पनि यात्रा यत्तिकै रोक्ने कुरा भएन । लेयर्स भन्दा ब्रोइलरबाट छिटो–छिटो प्रतिफल लिन सकिन्छ भन्ने बुझेपछि ब्रोइलर कुखुरापालनतिर लागें ।’

उनीसँग अण्डा दिन छोडेपछिका ३०० लेयर्स माउ कुखुरा बेचेको पैसा थियो, त्यसैबाट एकहजार ब्रोइलर चल्ला हाले । चल्ला हालेको दुई÷तीन महिनामै प्रतिफल आउन थाल्यो । सबै कुखुरा बेचिसक्दा पहिलो लटमै ४५ हजार नाफा निस्कियो । लेयर्स कुखुराबाट घाटा बेहोरेका उनलाई ब्रोइलरले दिएको नाफाले यही व्यवसायमा लाग्न हौस्याइदियो ।

कुखुराको संख्या बढाउने सोच बनाए । दुईहजार कुखुरा अट्ने अर्को खोर बनाए । अब दुईवटा खोरमा तीनहजार ब्रोइलर कुखुरा पाल्न शुरू गरे ।

बैंक ऋण लिएर बाँस र फलामको टेकोमा खरको छानो हालेर होचो खोर बनाएका थिए । चल्ला बढ्दै जाँदा दानापानी, भ्याक्सिन दिन गइरहनुपर्ने । होचो खोरमा दानापानी र भ्याक्सिन दिंदा सरसफाई गर्दा अप्ठ्यारो हुनथाल्यो ।

उनलाई ऋण थपेरै भए पनि पक्की खोर बनाउनुपर्छ भन्ने लाग्यो । २०५० सालमा ९० हजारबाट शुरू गरेको कृषि विकास बैंकको ऋण थपिंदै जाँदा २०५५ सालमा २० लाख पु¥याए । ऋण थपेर भए पनि ठूलै स्केलमा कुखुरापालन गर्ने अठोट थियो, कच्ची खोर हटाएर पक्की खोर बनाए ।

खोरको संख्या र क्षमतासँगै चल्ला पनि थपिंदै गए । जति ठूलो लगानी त्यति धेरै बैंकको ऋण, ब्याज पनि त्यही अनुपातमा बुझाउनुपर्ने । कुखुरा फार्म ठीकै चलिरहेको थियो कुखुराको लागि दाना पनि आफैं उत्पादन गर्नुपर्छ भन्ने लाग्यो ।

‘गाडीभरि दाना ल्यायो एक–दुई दिनमै सकिने, मेशिन राख्न जग्गा छँदैथियो त्यसैमा गोदाम जस्तो बनाएर दाना उत्पादन गर्न थालें’, उनी भन्छन् ।

पहिले दाना मात्र ल्याए पुग्थ्यो । अब भने उनलाई दानाको लागि मकै, भटमास, पिना, सिद्रालगायत कच्चा पदार्थ बजारबाट ल्याउनुपर्यो ।

दाना उत्पादनमा समय दिनुपर्दा खोरमा पर्याप्त समय दिन सकेनन् । दाना उत्पादनमा कुन वस्तु कति मिसाउने भन्ने अनुभव पनि थिएन । आवश्यक मात्रा नमिलेर हो कि खोरका कुखुरा मर्न थाले ।

‘त्यो बेला कुखुरामा रानीखेतले सताउँथ्यो, साढे दुई किलो तौल पुगिसकेका एउटा खोरका सबै कुखुरा मरे । बजारमा बिक्री गर्न लैजाने भइसकेका कुखुरा खेतमा खाडल खनेर पुरें । त्यो दिन सम्झिंदा अहिले पनि मन कटक्क खान्छ’, उनी सम्झिन्छन् ।

कुखुरा पाल्ने र दाना उत्पादन गर्दा एकातर्फ लगानी थपिंदै अनि अर्कोतर्फ जोखिम पनि बढ्दै थियो । एकल लगानीमा जोखिम एक्लै बेहोर्नुभन्दा उनले गु्रपमा व्यवसाय गर्ने योजना बनाए । ‘गु्रपमा नाफासँगै लगानी र जोखिम पनि बाँडिने भएकोले अरू व्यवसायीलाई पनि दाना उत्पादनमा सहभागी गराएर दाना उत्पादन शुरू गरें’ उनी भन्छन् ।

आरडी फिडदेखि अन्नपूर्णसम्म

व्यावसायिक रूपमा कुखुरापालन गर्ने व्यवसायी थपिंदै थिए, उनले उत्पादन गरेको दानाको माग पनि बढ्दै जान थाल्यो । आफूले चल्ला ल्याउँदा भोग्नुपरेको झन्झटको अनुभव त छँदैथियो, दाना बिक्रीसँगै अरू व्यवसायीसँगको सम्पर्क पनि बढ्दै गयो । उधारोमा दाना दिएर व्यवसायीहरूको मन जित्दै थिए; दानासँगै चल्ला पनि आफैंले उत्पादन गर्नुपर्छ भन्ने लाग्यो । कमर्सियल ब्रोइलर कुखुरा हटाएर चल्ला उत्पादन गर्न थाले ।

उनी जस्तै दुई–चार जनाले सानो स्केलमा विभिन्न नाममा दाना उत्पादन गर्थे । त्यही बीचमा बजारमा प्यालेट दानाले प्रवेश पायो । त्यो बेला नेपालमा ‘निब्बस’ कम्पनीले प्यालेट दाना उत्पादन गथ्र्यो । निब्बसले किसानको मन जित्दै गयो कुखुराले पनि त्यही दाना बढी मन पराएर खान थाले, उनको बजार साँघुरिन थाल्यो ।

उनलाई अब सानो स्केलमा नभई ठूलै उद्योग (मास फिड) संचालन गर्नुपर्छ भन्ने लाग्यो ।

‘आरडी फिडजस्तै अरू ५÷६ जनाले पनि सानो स्केलमा दाना उत्पादन गर्नुहुन्थ्यो, डिलरहरू पनि किसानले प्यालेट दाना रोज्न थाले भन्न थालेपछि अब सानो स्केलमा दाना उत्पादन गरेर हुँदैन भनेर मास फिड संचालन गर्ने योजना बनायौं ।’ जति ठूलो उद्योग त्यति धेरै लगानी चाहिने । एक–दुई जनाले ठूलो उद्योग संचालन गर्न सक्ने क्षमता थिएन । सात जनाको समूह बनाएर प्यालेट दाना उत्पादन गर्ने उद्योग ‘अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि’ शुरू गरे ।

२०६४ सालमा शुरू गरिएको अन्नपूर्ण एग्रो इण्डष्ट्रिजले अहिले आफ्नो उत्पादनको दायरालाई बढाउँदै लगेको छ । तिलोत्तमा नगरपालिकाको मधवलियामा संचालित उद्योगमा कुखुराको विभिन्न प्रकारको प्यारेन्ट, ब्रोइलर, लेयर्सको दानासँगै अहिले गाईभैंसी, बाख्रा र बंगुरको दानासमेत उत्पादन हुँदै आएको छ ।

दाना बजारमा अन्नपूर्णले आफ्नो पकड जमाइरहे पनि कुखुरापालनबाटै २७ वर्ष पहिले व्यवसायमा होमिएको राजकुमारको यो समूहले कुखुरापालन व्यवसाय बिर्सिन सकेन ।

अहिले अर्घाखाँचीको सितगंगामा अन्नपूर्ण एग्रो ब्रिडिङ एण्ड रिसर्च प्रालि संचालनको तयारीमा छ । जहाँ चल्ला ह्याचरीसँगै कुखुरा फार्म संचालन गरिनेछ भने नवलपरासीको सर्दीमा अन्नपूर्ण पोल्ट्री फर्म संचालनको तयारीमा छ ।

दाना, चल्ला र कुखुरापालनसँगै अन्नपूर्णले बुटवलमा अत्याधुनिक उपकरणसहित हिमचुली चिकन एण्ड कोल्ड स्टोरमार्फत कुखुराको मासु बिक्री गर्न शुरू गरेको छ ।

सानो लगानीबाट उद्योगी बन्ने सूत्र

बैंकको ऋण र सरसापटी खोजेर सानो उमेरमै व्यवसाय शुरू गरेका राजकुमारलाई कहिलेकाहीं त लाग्थ्यो– उज्यालो नभइदिए हुन्थ्यो ।

उत्पादित कुखुरा र दाना उधारोमा लगेका किसान र फ्रेस हाउस संचालकले समयमा पैसा तिर्दैनथे । महिना दिन बित्नेवित्तिकै बैंकले ब्याज तिर्न ताकेता गथ्र्यो ।

सरसापटी लिएका आफन्त र साथीभाइ पनि पैसा मागिरहन्थे । आफूले पाउनुपर्ने पैसा नउठे पनि दिनुपर्ने ठाउँमा भाका कटाउन उनलाई मन मान्दैनथ्यो ।

‘सोचेको बेला पैसा आएन भने तनाव हुन्थ्यो, रातमा निद्रा पनि नलाग्ने, उज्यालो त नभइदिए हुन्थ्यो भन्ने लाग्थ्यो’, उनी विगत सम्झिन्छन् ।

तर उनले हरेस खाएनन् । व्यवसायसँग जोडिएका सबैसँग विश्वास जित्दै गए । व्यवसाय फस्टाउँदै गयो । आइपर्ने अप्ठ्याराहरूबाट भागेनन् । त्यसैले अहिले सफल उद्योगी, व्यवसायीको रूपमा परिचित छन् ।

‘घोडा चढ्ने व्यक्ति नै लड्ने हो, घरमा त्यसै बसिरहने व्यक्ति कहाँ लड्छ ! एकदुई पटक लड्दैमा गन्तव्य छोडेर भाग्नुहुँदैन’, उनी भन्छन् । जति अप्ठ्यारा चुनौती सामना गर्न सक्यो त्यति नै व्यवसायमा सफल हुन सकिने उनको अनुभव छ ।

क्यानडाको ग्रीनकार्ड छाडेर फिर्ता

तत्कालीन नेकपा माओवादीले शुरू गरेको सशस्त्र युद्ध र विभिन्न राजनीतिक संघ–संगठनले गर्ने बन्द तथा हड्तालका कारण व्यवसायीमा कस्तो असर पारिरहेको थियो भन्ने कुराको भुक्तभोगी थिए, राजकुमार । हप्तैपिच्छे भइरहने बन्द–हड्ताल तथा आन्दोलनले व्यवसायीहरू पलायन भइरहेका थिए ।

एकदिन त कसो समस्या समाधान नहोला, देशमा कसो शान्ति नआउला भन्ने विश्वासमा राजकुमारले जसोतसो व्यवसाय चलाइरहेका थिए । देश शान्ति प्रक्रियामा गइसकेपछि २०६४ सालमा संचालन गरेको उनको उद्योग मधेशमा चर्किएको आन्दोलनले थला प¥यो ।

उद्योगमा लगानी थपिंदै जाँदा बैंकको ऋण पनि थपिंदै गएको थियो । आन्दोलनका कारण उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेका थिए । उनले विदेशिने योजना बनाए । सपरिवार क्यानडाको आवासीय भिसाको लागि आवेदन भरे । आवेदन भरेको केही महिनापछि भिसा आयो । उनी छोराछोरी र श्रीमती लिएर क्यानडा उडे ।

क्यानडा गएपछि उनले अनुभव गरे– विदेशमा जति बाहिरी चकमधमक देखिन्छ त्योभन्दा धेरै दुःख गर्नुपर्ने रहेछ । चिल्लो बाटो, सफा कपडा लगाएर बजार र पार्कहरू घुमेको देख्दा राम्रो देखिए पनि उनी त्यहाँको बसाइमा रम्न सकेनन् ।

नेपालमा मधेश आन्दोलन पनि साम्य भइसकेको थियो । समूहमा संचालन गरेको उद्योगले गति लिइरहेको थियो । उनी क्यानडा बस्न सकेनन्, नौ–दश महिनामै स्वदेश फर्किए । ‘त्यहाँ गर्नुपर्ने दुःख हेरियो, यहाँ गु्रपमा भए पनि उद्योग राम्रै चलेको थियो, विदेशमा बाहिरी चमकधमक मात्रै रहेछ भन्ने लाग्यो, दुःख पनि पाइयो ।’

क्यानडाको बसाइँ छोडेर नेपाल फर्किने उनको निर्णयमा श्रीमती रमिला पनि सहमत भइन् । गएको एक वर्ष नहुँदै छोराछोरी बोकेर उनीहरू स्वदेश फर्किए ।

अहिले राजकुमार उद्योग संचालनमै रमाइरहेका छन् । विगत तीन महिनादेखि कोभिड–१९ को संक्रमणले सबै क्षेत्रको व्यवसाय थला परे पनि छिटै सबै सामान्य अवस्थामा आउने उनलाई विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *