कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति – Nepal Press

कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

विराटनगर । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने जनाए ।

पण्डितले भने-बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।

नेता पण्डितले नेपाल प्रेससँगको कुराकानीका क्रममा पार्टीलाई एक बनाउने विषय असम्भव नरहेकाले त्यसका लागि आफूले छलफल चलाउने बताए ।

उनले अदालतको फैसलापछि एक समूह हारियो र सबै सिद्धियो भन्ने स्थितिमा पुगेर अर्को समूहमा जितको उन्माद देखिएकाले दुवै समूहका शीर्ष नेताबीच छलफल चलाउने माध्यमका रुपमा आफ्नो भूमिका रहने बताए ।

उनले अदालतले संसद पुनर्स्थापना गराउने फैसलालाई स्वागतयोग्य समेत भनेका छन्।

उनले भने-अहिले म अलिकति सरसल्लाहमा छु, एक दुई दिनमा मेरो खेमा प्रष्ट हुनेछ। नेकपाका दुवै समूहबाट यो बीचमा धेरै कमी–कमजोरी भएका छन् ।

नेता पण्डितले यसअघि अदालतको फैसला आएपछि आफू नेकपाको कुन समूहमा जाने भन्ने निर्णयमा पुग्ने बताउँदै आएका थिए ।

तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिंदै आएका थिए । एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर उनी प्रचण्ड-माधव समूहमा पनि सार्वजनिक रुपमा भने खुलेका छैनन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

  1. के गर्ने आफ्नै घर मा आगो लगाउने को कमी छैन इख को लडाईं मा यस्तै हुन्छ ।

Leave a Reply to Umesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर