ओलीको निश्चिन्त शैली : सरकार छ, सरकार रहन्छ ! – Nepal Press

ओलीको निश्चिन्त शैली : सरकार छ, सरकार रहन्छ !

काठमाडौं । संसद विघटनपछि आज पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । सर्वोच्च अदालतले दिएको राजनीतिक झट्कापछि ओलीको भाषण, प्रस्तुति र हाउभाउ कस्तो होला भन्ने जिज्ञासा धेरैलाई थियो ।

कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रमका सहभागीले प्रधानमन्त्रीको लामो प्रतीक्षा गर्नुपर्यो । आफ्नै परम्परागत शैलीअनुसार उनी निर्धारित समयभन्दा करिब दुई घन्टा ढिला आए । अनि ओलीको भाषण र हाउभाउ पनि हिजोअस्तिभन्दा फरक थिए । उनी निश्चिन्त देखिए । सरकारबाट हट्न लागेको कुनै संकेत गरेनन् । बरु देश निर्माणका ठूला योजनाहरु सुनाए । नियमित ख्यालठट्टा त छँदैछ ।

जुन विधाको कार्यक्रम छ, त्यही विधामा केन्द्रित रहेर लामो तर रोचक प्रवचन दिने ओलीको शैली हो । त्यो उनले आज पनि कायम राखे । उनले कृषि क्षेत्रका विभिन्न आयामहरुको रसिलो चर्चा गरे । मोटा र मसिना चामलको फरक छुट्याउनेदेखि नेपालको प्रगतिबाट विश्व चकित परेको गफ दिए ।

‘मसिना चामल धोका हो । तपाइँले कुनै धान एक इन्च लामो देख्नुभएको छ ?’ ओलीले प्रश्न गरे, ‘सबै प्रविधिले हो । मोटो चामललाई नै प्रविधिले लामा बनाइदिन्छ । अनि त्यसको भातलाई हामी भुजा भनेर खान्छौं ।’ उनले मसिना चामल उपभोग नगर्न सल्लाह दिए ।

ओलीले नेपाल प्रगति पथमा लम्किरहेको विभिन्न दृष्टान्तहरुसहित दावी गरे । हिजो वर्षका ५–६ किलोमिटर सडक कालोपत्रे हुन थालेकोमा अहिले दिनमै हुन थालेको उनको भनाइ थियो ।

‘भन्यो भने मान्छेहरु आत्तिन्छन्, तर विश्व चकित छ’ ओलीले आफ्नो ब्रान्डेड डाइलग दोहोर्‍याए ।

उनले थपे, ‘आर्थिक विकासको क्षेत्रमा नेपाल राइजिङ स्टार हो । यो मेरो भनाइ होइन विश्व बैंकको हो । विश्व बैंकले हामीलाई यत्तिकै राइजिङ स्टार भनेको होइन । भर्खरै हामीले यूएसएडको भर्सन सुन्यौं । कति मुक्तकण्ठले प्रशंसा गरेको छ । साउथ एसियामा पहिलो देश भनेर खुशी व्यक्त गरेको छ ।’

अर्को वर्षबाट नेपालले दोहोरो अंकको वृद्धिदर हासिल गर्ने ठोकुवा उनले गरे । सबै क्षेत्रमा विकासको लहर चलेको भन्दै ओलीले अब नेपालमा सिंगल लेनका होइन डबल लेनका बाटो मात्रै बन्ने बताए ।

‘उद्घाटन भइरहेका छन्, शिलान्यास भइरहेका छन् । निर्माण सम्पन्न भइरहेका छन् । अनि, यस्तोमा पनि एकथरी मान्छे केही भएन भनेर कराएका छन् । मान्छेहरुको मनोवृत्ति देख्दा अचम्म लाग्छ,’ उनले भने ।

आफूले शिलान्यास गरेको पुलमा राखिएको शिलालेखमा तोडफोड भएकोमा उनले चित्त दुखाए ।

‘त्यसमा मेरो नाम लेखिएको रहेछ, त्यसैले तोडफोड गरेछन् बहादुरहरुले । धन्न पुलमा चैं केही गरेनछन्, त्यसका लागि धन्यवाद छैन । शिलालेखको केही मतलब छैन । मलाई आफ्ना नाम पुस्तौं पुस्तासम्मले चिन्छन् भन्न भ्रम छैन’ ओलीले भने ।

गैर राजनीतिक विषयहरुमा प्रधानमन्त्रीको भाषण लम्बिँदै जाँदा सहभागीहरु छट्पटाउन थालेका थिए । तर, ओलीले उनीहरुलाई निराश बनाएनन् । कार्यक्रमको अन्त्यतिर उनले बल्ल राजनीतिक विषयमा प्रवेश गरे, अलि गम्भीर ढंगले ।

‘अघि पद्माजी (मन्त्री पद्मा अर्याल) ले कस्तो–कस्तो कुरा गर्नुभो । हुन त सही हो मान्छे सधैंभरि मन्त्री पदमा रहँदैन । रहुञ्जेल राम्रो काम गर्ने हो । म प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु । तर हिजोको अदालतको फैसलाले प्रभाव त पार्या होइन ? यो सामान्य कुरा हो ।’

‘त्यसमा केही… मेरा केही भाइहरुले लड्डु ख्वाइख्वाइ गर्‍या रे । लड्डु ख्वाएछन् खुशी भएर । जित्यौं हामीले भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन् त्यो चाहिं मैले हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । खैर यतापट्टि चिन्ता गर्नु पर्दैन ।’

‘कोही मान्छे हार्ट अट्याक भएर मर्छ, कोही ब्रेन ह्यामरेज भएर मर्छ, कोही प्लेन एक्सिडेन्टमा मर्छ । जिन्दगीको ठेगान छैन । बाचुञ्जेल राम्रो गर्ने हो । मरेपछि न मान्छे बेइमान, न इमान्दार हुनसक्छ । बाचुञ्जेल इमान्दार हुने हो गतिशील हुने हो । जिम्मेवारी निभाउने हो ।’

ओलीले त्यसपछि प्रश्न गरे, ‘अहिलेसम्मको मेरो कुराबाट मलाई केही फरक पाउनुभो ? मेरो देश विकासको आकांक्षा, संकल्पमा केही अन्तर भेट्नुभो ? फरक हुनुपर्ने आवश्यकतै छैन । स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्छ । (संस्कृतको स्लोक भन्दै) शास्त्रले भन्छः अप्ठेरो परिस्थिति होस, सुख होस, दुख होस, सम्पत्ति होस, नहोस, एक समान हुनुपर्छ । जस्तो कि उदाउने खुशियालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनुपर्दाको दुखमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ । हामी जन्मिँदा शायद सांसारिक दुखमा आइयो भनेर हो कि क्या हो, हरेक बालक रुन्छ । मर्दा कोही रुँदैन ।’

अन्त्यमा ओलीले आफूले तत्काल सरकार नछोड्ने कुरा घुमाउरो ढंगबाट गरे ।

‘हामी दृढताका साथ देश बनाइछोड्ने संकल्पमा अगाडि बढ्छौं । यो देश समृद्ध बनाइछोड्छौं । जनतालाई सुखी बनाइछाड्छौं । कृषि क्षेत्रमा उलटफेर ल्याउँछौं । हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं । यो संकल्पमा निरन्तर अगाडि बढ्छौ । अहिले धेरै कुरा भनेर मान्छे तर्साउनु पनि ठीक छैन । सरकार छ, सरकार रहन्छ । विकासको क्रम अगाडि बढ्छ । निश्चिन्त निस्फिक्री अगाडि बढ्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर