प्रहरी लापरबाहीविरुद्ध सदीक्षाको साहसिक लडाईं – Nepal Press
उर्लाबारी काण्ड

प्रहरी लापरबाहीविरुद्ध सदीक्षाको साहसिक लडाईं

विराटनगर । प्रहरीको अनुसन्धानमा ढिलासुस्ती र लापरबाही भयो भने मामुली घटनाले पनि असामान्य रूप लिन सक्छ । अझ, शंकास्पद त घटनाहरूमा प्रहरीको सानो गल्तीले पनि नसोचेको परिणाम उत्पन्न गरिदिन्छ । यसको पछिल्लो दृष्टान्त हो- उर्लाबारी काण्ड ।

मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शंकास्पद मृत्युपछि त्यसको अनुसन्धानमा प्रहरीले ढिलासुस्ती मात्रै गरेन, एउटा गम्भीर गल्तीसमेत गर्‍यो । त्यही गल्तीका कारण मृतकका परिवार, आफन्त र सिंगै समाज अहिले प्रहरीविरुद्ध उर्लेको छ । यो न्यायिक लडाईंको नेतृत्व गरेकी छन्, मृतककी बहिनी सदीक्षा बास्तोलाले ।

अमेरिकाको टेक्सासमा विमान चालकको तालिम गरिरहेकी सदीक्षाले दाजुको दुखद खबर सुन्नासाथ भावविह्वल अवस्थामा नेपाल आइन् । घटना विवरण सुनेपछि उनले दाजुको मृत्यु सामान्य नभई हत्या नै भएको आशंका गरिन् र न्यायका लागि प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुगिन् ।

सो घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने बतायो । त्यसपछि सदीक्षा स्वयम् प्रहरीको मिसिल हेर्न इलाका प्रहरी कार्यालय उर्लाबारी पुगिन् । मिसिल हेर्दा मृतकको एउटा फोटो साटिएको पाएपछि उनी आक्रोशित बनेकी थिइन् । उनले त्यहींबाट फेसबुकमा लाइभ गर्दै प्रहरीले षडयन्त्रपूर्वक फोटो परिवर्तन गरेर अनुसन्धानलाई बंग्याएको आरोप लगाइन् ।

भिडियोमा सदीक्षाको विस्फोटक अन्दाज र कारुणिक क्रन्दनले सामाजिक सञ्जालमा धेरैको ध्यान खिच्यो । भिडियो भाइरल भयो । त्यसपछि उनको पक्षमा समाज उठ्यो । प्रहरी–प्रशासन बल्ल गम्भीर भयो । यही घटनाले सामाजिक सञ्जालमा ‘उर्लाबारी काण्ड’ को संज्ञा पाएको छ ।

यस्तो छ घटना विवरण

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोला ४ गते अपराह्न साथीकहाँ जाने भनेर घरबाट निस्किएका थिए । घरदेखि केही टाढा मरिमराउमा गएको भनिएका उनी अपराह्न ४ बजे सौरभी होटल पुगे । त्यहाँ साथीहरू राजेश रनपहेंली, दीपेश पौडेल, मेरमान दर्जी र सुदीप परियारसँग उनको भेट भयो ।

प्रहरीका अनुसार उनीहरू पाँचै जनाले राति १० बजेसम्म सौरभी होटलमा मदिरा पिए । अत्यधिक नशामा रहेकाले प्रवीण घर फर्कन नसकेको प्रहरीको भनाइ छ । त्यहाँबाट उनलाई साथीहरूले डेरामा लगे । राजेश, दिपेश, मेरमान र सुदीप चारैजना स्थानीय रमेश गिरीको घरमा डेरा लिएर बस्थे । प्रवीण राति त्यहीं साथीहरूसँग सुते ।

भोलिपल्ट बिहान उठ्दा प्रवीण अचेत अवस्थामा पाइएको साथीहरूले बयान दिएका छन् । उनीहरूले प्रवीणलाई गोदावरी अस्पताल पुर्‍याए । तर, त्यहाँ पुर्‍याउँदा प्रवीणको प्राणपखेरु उडिसकेको थियो ।
अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरी पुगेर परिवारलाई खबर गरे । घटना विवरण सुनेपछि परिवारले शंकास्पद माने । उनीहरूले ६ जनाविरुद्ध किटानी जाहेरी दिए । तत्कालै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थाल्यो ।

फरेन्सिक रिपोर्टमा के छ ?

मृतकको शव त्यही दिन पोस्टमोर्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । शवमा बाहिरी चोटपटक देखिएको थिएन । प्रहरीले भिसेरा रिपोर्टका लागि भित्री अंगहरूको अंश फरेन्सिक ल्याबमा पठायो । फरेन्सिक रिपोर्ट समयमा आउन ढिलाइ भयो । प्रहरीले आरोपीहरूलाई २५ दिन थुनामा राखेर फरेन्सिक रिपोर्ट नआइकन माघ २ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पर्याप्त प्रमाण नभएको भन्दै ६ जना विरुद्धको अनुसन्धान प्रतिवेदन अभियोजन गर्न इन्कार गर्‍यो । त्यसपछि उनीहरू सबै रिहा भए । माघ ७ गते बीपी प्रतिष्ठानबाट भिसेराको फरेन्सिक रिपोर्ट आयो । जसमा मृत्युको कारण लेखिएको थियो– एस्फिग्जीया । चिकित्सकका अनुसार यो भनेको शरीर अक्सिजनबाट वञ्चित भएर हुने अचेतन अवस्था हो, जसका कारण मानिसको मृत्यु हुनसक्छ । यसको अर्थ फरेन्सिक रिपोर्टले हत्या भएको देखाएन

फरेन्सिक रिपोर्ट आएपछि प्रहरीले दोस्रोपटक सरकारी वकिलको कार्यालयमा माघ १२ गते अनुसन्धान प्रतिवेदन बुझायो । तर, फेरि पनि मुद्दा चल्न नसक्ने भनेर सरकारी वकिलले मिसिल फिर्ता पठाइदियो । त्यसपछि परिवार र आफन्त आन्दोलित बने । अहिले तेस्रोपटक अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

दबाबमा प्रहरी

घटनाको अनुसन्धानमा प्रहरीले जालझेल गरेको आरोप मृतक प्रवीणकी बहिनी सदीक्षाले लगाएकी छन् । सदीक्षाका अनुसार प्रहरीले मिसिलमा समावेश गरेका मृतकका तीन तस्वीरमध्ये एउटा अरू नै व्यक्तिको थियो ।

प्रहरीले यसमा गल्ती भएको स्वीकारेको छ । कुनै गलत नियतले नभई भूलवश एउटा गलत फोटो राखिन पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

यस विषयमा छानबिनका लागि डीएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको छ । तर, सदीक्षा र आफन्तहरूले भने प्रहरीले घटनाको अनुसन्धान नै फितलो बनाउन योजनाबद्ध ढंगले यस्तो गरेको आरोप लगाएका छन् । प्रहरी–प्रशासनलाई निष्पक्ष छानबिनका लागि दबाब दिन उनीहरूले आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका थिए । उनीहरू मंगलबार न्याय माग्दै जिल्ला प्रशासन कार्यालयसम्म धाए । त्यसअघि उनीहरूले सरकारी वकिलको कार्यालय परिसरमा नारावाजी गरेका थिए ।

आन्दोलित समूहले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासमक्ष घटनाको निष्पक्ष छानबिन गरी सत्य–तथ्य बाहिर ल्याइदिन माग गरेका छन् । निरौलाले घटनाको छानबिनका लागि बनाइएको समितिले दिने प्रतिवेदनका आधारमा कदम चाल्ने बताए । उनले घटनामा कुनै त्रुटि भएको पाइएमा सम्बन्धित अनुसन्धान अधिकृतलाई कारबाही गरिने आश्वासनसमेत पीडित परिवारलाई दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रवीण हत्या प्रकरणको मुद्दालाई जिल्ला अदालतमा दर्ता गराउने तयारी गरेको छ । जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले अभियोगको अभियोजन गर्ने काम भइरहेको र अब अदालतमा मुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

प्रत्यक्ष आन्दोलन मात्र नभएर सामाजिक सञ्जालमा पनि यो प्रकरण व्यापक भएपछि प्रहरी स्पष्ट दबाबमा परेको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एसपी सन्तोष खड्काले अब हत्याकै मुद्दा दायर हुने बताए ।

सदीक्षा भन्छिन्ः प्रहरीले जालझेल गर्‍यो

प्रवीणकी बहिनी सदीक्षा आफ्नो दाजुको मृत्यु सामान्य नभई हत्या नै भएको बताउँछिन् । घटनाको अनुसन्धानमा उर्लावारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले छलकपट गरेको उनको आरोप छ । नेपाल प्रेससँग सदीक्षाले आफ्नो पीडा यसरी पोखिन् :‘म अमेरिकाको टेक्ससमा बस्छु । अहिले विमान चालकको तालिम गरिरहेकी थिएँ । कोर्स सकिनै लागेको थियो । गत पुस ५ गते मध्यरातमा मलाई नेपालबाट फोन आयो । दाइको खबर सुनेर म अचेत भएँ ।
त्यसको दुई दिनपछि म विक्षिप्त अवस्थामा कतार एअरलाइन्सको विमानमार्फत दोहा हुँदै नेपाल आएँ । आइतबार घटना भएको म भने मंगलबार राति साढे १२ बजे ल्यान्ड भएको । त्यहाँबाट बुधबार बिहान ११ बजेतिर गाडी चढेर घर आइपुगें ।
हामीलाई आँखामा पट्टी लगाएर राख्नुभएको रहेछ । काम गरिरहेका छौं भन्ने तर अपराधीलाई छाडिसक्नुभयो । अपराधीलाई अपराधी होइनन् भनेर मिसिलमा गलत प्रमाणहरू राखेर केसलाई नै डिसमिस गर्न खोज्नुभएको रहेछ । यसमा संलग्न प्रहरीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ ।

घटना भएको दुई महिनाभन्दा बढी भइसकेको छ । पुस ४ गते मारेर ५ गते बिहान ११ बजे अस्पतालमा लाश छोडिएको रहेछ । आफन्तलाई समयमा खबर गरिएन । प्रहरीले लाशलाई देखेर पनि अनदेखा ग¥यो । हामीले प्रहरी–प्रशासनमा धेरैपटक ढोका ढक्ढक्यायौं । पछि अस्ति अचानक एउटा भिडियो लाइभ गर्न बाध्य भएँ ।

प्रहरीको मिसिलमा गलत प्रमाणहरू छन् । त्यसले मेरो दाइको केस अगाडि बढ्न नसक्ने मैले पाएँ । तपार्इंले गलत गर्नुभएको छ भन्दा फाइल गायब गर्नुभयो । एकैछिनमा नयाँ फाइल तयार गरियो । त्यसपछि जिल्लामा नयाँ फाइल पेश गर्नुभएको छ ।

मलाई जिल्लामा वकिल सरसँग कुरा गर्नू भन्नुभयो । हामी मोरङ जिल्लाको सरकारी वकिल कार्यालयमा आयौं । फाइल पल्टाउन लगायौं । त्यसमा नक्कली फोटो बदलेर सक्कली हालिएको छ । वकिलले आफ्नो काम पुलिसले जे दिएको छ त्यो हेर्ने हो, अरू प्रहरी प्रशासनले हेर्ने हो भन्नुभयो । त्यसपछि हामी जिल्ला प्रशासन पुग्यौं । सिडिओ साबले न्याय दिलाउने आश्वासन दिनुभएको छ । गलत गरेको रहेछ भने प्रहरी निरीक्षकमाथि कारबाही हुन्छ भन्नुभएको छ ।
सिडिओ साबले राम्रो रेस्पोन्स गर्नुभयो । अहिले हामी आशावादी छौं । केही दिन हेर्छौं ।’

प्रहरीले दुराशय राखेको छैनः एसपी सन्तोष खड्का

प्रहरीले जाहेरी परेकै दिनबाट सम्भावित हत्याको रूपमा हेरेर अनुसन्धान सुरु गरेको हो । जाहेरी आउनुअघि नै पनि प्रहरीले अनुसन्धान गरेको हो । बयान लिने, घटनाको विवरण संकलन गर्ने, पोष्टमार्टमको रिपोर्टलाई सम्बोधन गर्ने लगायतका काम नियमितरुपमा प्रहरीले गरिरहेको छ ।

यहाँ अलिकति प्रहरी र पीडितबीच समझदारी रहन सकेन । पक्राउ परेको व्यक्तिलाई छोड्नु कानूनी वाध्यता हो । आरोपित छुट्दा पिडितलाई शंका हुनसक्छ । तर प्रहरीले अनुसन्धानको क्रममा कुनै पनि कसर बाँकी राखेको छैन ।

आशयपूर्ण हिसाबले हो वा कुनै मानवीय त्रुटिले गर्दा हो, अर्कैको फोटो पर्न गएको छ । यो विषयमा छानविन गर्नका लागि छानविन समितिलाई सुझाव दिएका छौं । यसमा समितिले ल्याउने प्रतिवेदनलाई कार्यान्वनमा लैजान्छौं ।

प्रहरीले बनाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश हुन्छ । प्रहरी कार्यालयमा रहने भनेको त्यसैको प्रतिलिपि हो । तथ्य बंग्याउने सम्भावना कुनै पनि हालतमा हुँदैन । किनभने त्यसमा अदालतको सहिछाप गरिएको हुन्छ । त्यसो गरियो भने भोलि प्रहरी अधिकारी नै कारवाहीमा पर्ने सम्भावना हुन्छ । मैले अहिले यति मात्र के भन्न सक्छु भने प्रहरीले यसमा दुराशय राखेर अनुसन्धान गरेको छैन । धेरै मेहनत गरेर अनुसन्धान गरेको छ । यति भोलिका दिनमा कोही कसैले कमजोरी गरेको भए रिपोर्ट अनुसार कारवाही भोग्न जो कोही तयार हुनुपर्छ ।


प्रतिक्रिया

One thought on “प्रहरी लापरबाहीविरुद्ध सदीक्षाको साहसिक लडाईं

  1. यो घटनाको बिस्तृत विवरण सुन्दा र हेर्दा कानुनलाई पैसामा तुलना गर्ने गिरोहहरु मिलेर अपराधिलाई लुकाएको देखियो र अब निस्पक्ष तरिकाले कानुनले छन्बिन होस भन्न चाहन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर