पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव – Nepal Press
नेपाल टक

पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव

विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने गौतमको भनाइ छ । पछिल्ला राजनीतिक घटनाक्रम र अबको परिदृश्यमा केन्द्रित रही गौतमसँग गरिएको कुराकानीको अंश :

प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुन:स्थापित गरेको छ । र, यसले स्वेच्छाचारी तरिकाले जे मनलाग्यो त्यही गर्दै हिंड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधिसभा मात्रै पुन:स्थापित होइन अरु धेरै कामहरू पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु ।
मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो ।

अब कोर्स कताबाट शुरू गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन शिराबाट शुरु हुन्छ ?

पार्टी एकताको निम्ति शुरू गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरूले हो भनेर यतातिर भनेको छ अनि साइड बाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ-आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको दाेष अरुलाई लगाउने, आफैं गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले गर्दाखेरि नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिंड्नुभएको छ । यो पुन:स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुन:स्थापित गर्नुपर्छ । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।

कहाँबाट शुरू हुनुपर्छ ?

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरू हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर, प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरू एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन ।

अब तपाईं चाहिं के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रूपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं ।

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?

नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर, म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर