नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्तिको तयारी – Nepal Press

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्तिको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ ।

संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो ।

सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्पुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।

काठमाडौं महानगरले शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ ।

यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । आगामी शैशिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ ।

नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताए ।
पछिल्लो समय काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।

काठमाडौं महानगरले स्थानीय पाठ्पुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संकृतिका बारेमा जानकारी लिन नयाँ पुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताए ।

स्थानीय पाठ्पुस्तक तयार

काठमाडौं महानगरले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ ।

आगामी शैक्षिकसत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । जसअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ््यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ्पुस्तक तयार गरेको हो । काठमाडौं महानगरले गएको वैशाख÷जेठबाट तयारी शुरु गरेको थियो । कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्पुस्तक छपाइलगायतका काममा ढिलाइ भएको थियो ।

पाठ्पुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषय समेटिएका छन् ।

त्यसैगरी प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । गत मङ्सिरमा नै कक्षा १ का लागि पाठ्पुस्तक तयार भइसकेको थियो ।

कक्षा २ देखि ८ सम्मका पुस्तक पनि तयारीको अन्तिम अवस्थामा छन् । पूर्णरूपमा रङ्गीन रहने यो पुस्तक नेपाल भाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ ।

पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर