माओवादी विरासतमा ओलीको अर्को एक्सन, चुनु स्मृति प्रतिष्ठान उद्घाटन गर्ने – Nepal Press

माओवादी विरासतमा ओलीको अर्को एक्सन, चुनु स्मृति प्रतिष्ठान उद्घाटन गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि अहिले युद्धकालीन माओवादीको विरासत खोसाखोसमा परेको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले त्यो विरासतको असली प्रतिनिधि आफूलाई दाबी गर्छ भने ओली पक्ष त्यसलाई आफ्नो पकडमा पार्ने ध्याउन्नमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा ल्याउने, माओवादी जनुयुद्धका घाइते तथा अपाङ्ग र पूर्वलडाकुलाई आफूतिर ल्याउन निकै कोसिस गरिहेका छन् ।

यही मेसोमा ओलीको निशानामा परेको छ, माओवादी युद्धकी एकजना संस्कृतिकर्मी चुनु गुरुङको नाममा स्थापित स्मृति प्रतिष्‍ठान ।

नेकपाका दुवै पक्ष अहिले उक्त प्रतिष्ठानलाई कब्जा गर्ने होडमा छन् । चुनुस्मृति प्रतिष्ठानकी संयोजक डम्बरकुमारी गुरुङ पार्टी विभाजनपछि ओली पक्षमा लागेपछि त्यसको स्वामित्वलाई लिएर विवाद शुरू भएको हो ।

प्रतिष्ठानले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाएर बुधबार सांस्कृतिक कार्यक्रम गर्दै छ । माओवादी युद्धका शहीद तथा बेपत्ता परिवारलाई अभिनन्दन गर्ने गरी राखिएको त्यो कार्यक्रम बहिस्कार गर्न प्रचण्ड-माधव पक्षले आह्वान गरेको छ ।

प्रचण्ड-माधव पक्षीय जनसांस्कृतिक महासंघले ओली सहभागी भएर हुने त्यो कार्यक्रम बहिस्कार गर्न आह्वान गरेको छ ।

‘उहाँ (प्रतिष्ठानकी संयोजक) ले नमानेर उता कार्यक्रम गर्नुभयो, त्यो हाम्रो भावनाविपरीत छ,’ महासंघका संयोजक सरल सहयात्रीले भने, ‘चुनु स्मृति प्रतिष्ठानका साथीहरूले त्यसको विरोधमा विज्ञप्ति जारी गर्दै हुनुहुन्छ। ११ जनामध्ये ८ जना गलत हो भन्नेमा हुनुहुन्छ ।’

प्रतिष्ठानकी संयोजक गुरुङले भने आफूले नभइ स्वयं सरल सहयात्रीले नै चुनु गुरुङको अपमान गरेको आरोप लगाएकी छिन्। फेसबुकमा सरल सहयात्रीलाई लक्षित गर्दै गुरुङले लेखेकी छिन्, ‘मेरो कुरा ध्यान दिएर सुन, तिमी यदि त्यो महासंघको नेतृत्व हौ भने चुनु प्रतिष्ठानले फागुन १ गते आयोजना गरेको कार्यक्रम बहिष्कार गरेर रोल्पा पुग्नु के चुनु प्रतिको अपमान थिएन ?’

उनले शहीद कुनै पार्टीको पेवा नहुने भन्दै जनयुद्धका योद्धाहरुको अपमान गर्ने प्रचण्डभन्दा योद्धा र तीनका परिवारलाई न्याय दिन अघि बढेका केपी ओली धेरै ठीक भएकाले देशको प्रधानमन्त्रीबाट प्रतिष्ठानको उद्घाटन गर्न लागिएको बताइन् ।

उनले प्रचण्डबाट अब जनयुद्धको लिगेसी बोक्न सम्भव नभएको भन्दै रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू जहाँ छन्, जनयुद्धको मूलधार पनि त्यही हुने बताइन् ।

प्रचण्ड-माधव पक्षीय जनसांस्कृतिक महासंघको विज्ञप्ति:


प्रतिक्रिया

One thought on “माओवादी विरासतमा ओलीको अर्को एक्सन, चुनु स्मृति प्रतिष्ठान उद्घाटन गर्ने

  1. सहिद अब पार्टि विशेष रहना सक्दैना नेपाल सरकारकाे रेखदेखम रहन्छ पार्टिले मेराे सहिद भन्नू अपमान हाे

Leave a Reply to Chandra kiran giri Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर