अढाइ दशकपछि ‘दैजी छेला’ औद्योगिक क्षेत्रको शिलान्यास, नौवास्ता औद्योगिक क्षेत्रको पनि काम अगाडि बढ्यो – Nepal Press

अढाइ दशकपछि ‘दैजी छेला’ औद्योगिक क्षेत्रको शिलान्यास, नौवास्ता औद्योगिक क्षेत्रको पनि काम अगाडि बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक ‘दैजी छेला’ औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासी उत्साहका साथ कार्यक्रमस्थलमा भरिएका थिए ।

लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासी सोमबार औद्योगिक क्षेत्रको शिलान्यास हुँदा खुशी भएका हुन् ।
आर्थिकरुपले विपन्न र मुक्त कमैयाको बसोबास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योग सञ्चालनमा आएमा स्थानीय स्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिनेमा उनीहरु आश्वस्त छन् ।

विसं २०५२ मा बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए निर्माण हुन सकेको थिएन ।

बेदकोट नगरपालिका वडा नम्बर २ का रमेश चौधरीले औद्योगिक क्षेत्रको शिलान्यासले गाउँका युवामा उत्साह थपिएको बताए । ‘यहाँ उद्योग सञ्चालनमा आएपछि हामीले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य पनि हुनेछ, अब निर्माण कार्य तीव्र गतिमा कार्यान्वयन गर्दै लैजानुपर्छ,’ चौधरीले भने ।

उनले यस अघिका सरकारका मन्त्रीदेखि धेरै उच्चपदस्थ व्यक्ति आएर स्थलगत निरीक्षण गरेर जाने गरेको समेत बताए । ‘यतिका वर्षसम्म आश्वासनमै टारे’, चौधरीले भने ‘यसमा स्थानीय जनप्रतिनिधिको पनि सक्रिय भूमिकाले आज शिलान्याससम्म भयो ।’

यहाँ औद्योगिक क्षेत्रका लागि ९०० बिघा जग्गा प्रस्तावित गरे पनि ३८८ बिघाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपश्चात् यहाँको बेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो ।

औद्योगिक क्षेत्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को कामसमेत सम्पन्न भइसकेको छ ।

इआइए पश्चात् कार्यस्थलमा आएर ‘भेरिफाई’ गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकारका लागि जानेछ । बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले उक्त जग्गा भोगाधिकारबारे निर्णय आउन बाँकी रहेको बताए ।

‘इआइए’पश्चात् फिल्डमा आएर भेरिफाई गर्नुपर्छ, त्यो काम बाँकी छ’, विभागबाट पत्र आएको छ, नगरप्रमुख चन्दले भने, बाँकी सरकारबाट भएका निर्णयहरु यहाँ पुगिसकेका छैनन् ।

उद्योग क्षेत्रका लागि हाल ३४९ बिघाको मात्रै डिपिआर तयार भएर काम अघि बढ्नेछ । आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हुने उनले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले छेला औद्योगिक क्षेत्र सञ्चालनले सुदूरपश्चिम प्रदेशकै विकासमा टेवा पुग्ने बताए ।

‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाहरुले पनि औद्योगिक क्षेत्रको विकासका लागि लामो समयदेखि सरकारलाई गुहार माग्दै आएका थिए ।’

नौवास्ता औद्योगिक क्षेत्र’मा पनि काम शुरु

बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि ६१ करोड रुपैयाँ विनियोजनसमेत भएको छ । रकम विनियोजनभएसँगै निर्माण द्रूत रुपमा अगाडि बढाइएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको शुरुआत भएको जानकारी दिए । उनले ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको बताए ।

सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आवमा रु ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् ।

सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ । बैजनाथमा ३३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्तीसमेत रहेको छ ।

समस्याको समाधान अझै हुनसकेको छैन । यस अघि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको जनाइएको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।

‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्वासीको एकीन तथ्याङ्कका लागि अहिले स्थानीय तहसँग समन्वय गरिहेका छौं’, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले भने, ‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भूभागमा मात्रै समस्या हो ।’

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २५० उद्योगीले आवेदन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर