सय शय्याको अस्पताल बनाउन आठबीसका स्थानीयले दिए जग्गा – Nepal Press

सय शय्याको अस्पताल बनाउन आठबीसका स्थानीयले दिए जग्गा

सुर्खेत । दैलेखको पश्चिम क्षेत्रमा पर्ने कर्णाली राजमार्गसँग जोडिएको आठबीस नगरपालिकामा एक सय शय्याको अस्पताल निर्माणका लागि स्थानीयले जग्गा दिएका छन् ।

स्थानीय अगुवा गगन कार्कीका अनुसार नगरपालिकाको वडा नम्बर तीन कुमालखाँडामा स्थानीयले चालीस रोपनी जग्गा आठबीस नगरपालिका र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नाउँमा गरिदिएका छन् ।

नगरपालिकामा सय शय्यााको अस्पताल बनाउने सम्झौता २०७६ फागुन १० गते भएको थियो । त्यसको ठीक एक वर्षपछि आज जग्गा उपलब्ध भएको गगन कार्कीले नेपालप्रेसलाई बताए ।

‘विगतमा सानो चोटपटक लाग्दा पनि हामीले उपचारका लागि सुर्खेत जानुपर्ने अवस्था थियो । त्यो अवस्थाबाट आठबीसका जनताले मुत्तिः पाउन भनेर हामीले अस्पताललाई जग्गा दान गरेका हौं ।’ जग्गा दाता मदन कार्कीले भने, ‘गाउँमा नै अस्पताल बनेको खण्डमा कोही विरामी भएर उपचार नपाई मर्न नपरोस भन्ने हाम्रो चाहना हो । त्यहि कारण हामीले जग्गा दान गरेका हौं ।’

स्वास्थ्य शाखा प्रमुख देववराज तिमिल्सेनाले जग्गा प्राप्त भएको पुष्टि गरे । उनका अनुसार जग्गा दान गर्नेहरुमा पहराम कार्की, पदम बडुवाल, मन कार्की, परे कार्कीलगायत छन् ।

‘हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गरेको सहमति अनुसार जग्गा पाएका छौं ।’ उनले भने, ‘अब त्यहाँ भवन निर्माणको कामले तीव्रता पाउने र केहि वर्षमै यस क्षेत्रका नागरिकले राम्रो स्वास्थ्य सेवा पाउने आशा गरेका छौं ।’ उनले जग्गा दान गर्ने सबैमा हार्दिक धन्यवादसमेत दिए ।

‘यहाँ जग्गाको अभाव हुँदा हुँदै पनि उहाँहरुले जग्गा दान गरेर ऐतिहासिक काम गर्नु भएको छ ।’ उनले भने, उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर