मेलम्ची अब साँच्चिकै टुंगोतिर, दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झर्दै – Nepal Press

मेलम्ची अब साँच्चिकै टुंगोतिर, दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झर्दै

काठमाडौं । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण शुरू गरिएको छ । यो आयोजना निर्माणको लगभग अन्तिम अवस्था हो । तर, अझै पनि काठमाडौंवासी मेलम्चीको पानी चाँडै धारामा झर्ला भन्नेमा आश्वस्त छैनन् ।

नेपालमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेर रुग्ण बनेका आयोजनाको एउटा बिम्व बनेको छ मेलम्ची । २०४९ सालमा यसको अध्ययन भएर २०५५ बाट आयोजनाको काम शुरू भएको थियो । आज २२ वर्ष पुग्दा पनि सकिएको छैन ।
मेलम्ची आयोजनाका तत्कालीन कार्यकारी निर्देशक दिनेशचन्द्र प्याकुरेलले सन् २००६ मा मेलम्ची आउँछ भनेर दिएको अन्तर्वार्ता अहिले पनि पढ्न सकिन्छ । यो बीचमा कति भाकाहरू तोकिए र फेरिए भन्ने कुनै लेखाजोखा छैन ।

अब चाहिं मेलम्ची साँच्चिकै टुंगोतर्फ लम्केको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि सुरुङबाट पानी पठाएको छ । यसलाई परीक्षण अवधिको रूपमा लिइन्छ । सुरुङभित्र पानी होल्ड गर्ने र खाली गर्ने नियमित प्रक्रिया भइरहेको छ ।
मेलम्चीबाट पठाइएको पानी सुन्दरीजलसम्म पुग्न करीब १५ देखि १७ दिन लाग्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, ‘१७ दिन जति त हेर्नैपर्ने हुन्छ । अहिले भनेको सुरुङ निरीक्षण नै हो । पानी पठाएपछिको समयमा परामर्शदाता र विभिन्न विज्ञले सुरुङको निरीक्षण गरेर ठीक छ भनेमा पानी सुन्दरीजलमा ल्याएर वितरणका लागि उपलब्ध गराउन सकिन्छ ।’

पानी पूर्णरूपमा सुन्दरीजल पठाउने वा नपठाउने भन्ने विषयमा परामर्शदाताले समितिलाई सुझाव दिनुपर्ने हुन्छ । सुरुङको परीक्षण गर्ने कार्य अवधि करीब दुई महिनाको हुनसक्ने पन्तले बताए ।

‘उहाँहरूले सुरुङ ठीक छ भनेर जतिचाँडो प्रमाणित गरिदिनुभयो पानी वितरणका लागि त्यति चाँडो हामीले उपलब्ध गराउने हो । मोटामोटी समय भनेको दुई महिना हुन्छ । तर दुई महिनासम्म पर्खनैपर्ने भन्ने होइन ।’

सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनाइएको छ । केन्द्रमा आउने वित्तिकै पानी प्रशोधनको काम शुरू हुन्छ । पानी ‘इन’ हुने वित्तिकै ‘आउट’ हुन्छ । समितिले सुन्दरीजलसम्म पानी ल्याएर बल्भ स्टेसनमा हालिदिन्छ । त्यो पानी केयूकेएल र सीआईले वितरण गर्छ ।
समितिका प्रवक्ता पन्त भन्छन्, ‘मेलम्चीको पानी काठमाडौंको धारामा दुई महिनाभित्र आउन सक्छ । दुई महिनामा सुन्दरीजलमा पानी झारेर बल्भ स्टेसनमा पठाउँछौं । त्यही बीचमा सीआईबाट र केयूकेएलबाट आवश्यक तयारी भयो भने त उहाँहरूले वितरण पनि गरिहाल्नुहुन्छ ।’

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको सुरुङ र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको निर्माण गर्ने जिम्मा पाएको थियो । यसको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ३० अर्ब रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ ।

खानेपानी मन्त्री भन्छन्ः तीन महिना लाग्छ

मेलम्चीको सुरुङमा पानी हालेर परीक्षणको शुरुआत गर्न खानेपानी मन्त्री मणिचन्द्र थापा आयोजनास्थल पुगेका थिए । मन्त्री थापाले भने तीन महिनामा काठमाडौंमा पानी आउने बताए ।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘काठमाडौंवासीले तीन महिनाभित्र पानी पिउने परिस्थिति बन्छ भन्ने अध्ययनले देखाएको छ ।’

उनले थपे, ‘हामी १६ दिनसम्म रिचार्जको लागि सुरुङमा पानी पठाउँछौं । त्यो पानीलाई केही समयको लागि बाहिर पठाउँछौं । त्यसपछिको चरणमा सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टमा पानी आउँछ, अनि तीन महिना परीक्षण प्रक्रिया शुरू गछौं।’

सुरक्षामा ध्यान दिएका छौंः इन्जिनियर

मेलम्चीको पानी काठमाडौं पठाउने कामको शुरुआत भने पहिलोपटक भएको होइन । यसअघि पनि पानी परीक्षणको प्रयास भएको थियो । तर गत असार ३१ गते दुर्भाग्यवश मुहानमा दुर्घटना हुनपुग्यो ।

त्यसबखत मेलम्चीको टनेलभित्र पानी भर्दा हेर्न इन्जिनियरको टोली पनि गएको थियो । रिडिङ गरेर फर्कंदै गर्दा गेटको ढोका खुलेर दुर्घटना हुनपुग्यो । दुर्घटनामा परेका दुई जना अझै बेपत्ता छन् ।

फेरि प्राविधिक टोलीले संरचनाहरूको सुरक्षा अडिट र आवश्यक संरचनाको मर्मत गरेपछि निर्माण सम्पन्न गरी परीक्षण शुरू भएको हो ।

यसरी हुन्छ पानीको प्रवाह

सुरुङको गेट–१ बाट पानी छिर्छ । गेट–१ बाट छिरेको पानी गेट–९ मा बन्द गरिसकेपछि गेट–३८ हुँदै टनेलभित्र छिर्छ । त्यो पानी फल्सिङ गेटबाट फल्स आउट भएर आएको हो । फल्सिङ गेटलाई बन्द गरिदिएपछि पानी टनेलमा विल्ड अप भएर १५ दिनमा सुन्दरीजल पुग्छ ।

मेलम्ची खानेपानी विकास समितिका इन्जिनियर शेखर खनालले गेटको सुरक्षामा ध्यान दिइएको बताए ।

उनले भने, ‘पहिलाका जुन कमजोरीहरू थिए त्यसलाई हामीले सुधार गरेर ब्लक लेन भनेर ३ मिटरको ढलान गरेका छौं । पहिला एउटा गेट बाहिरबाट हालिएको थियो । अहिले भित्रबाट हालिएको छ । गेटमा थप सपोर्ट राखेका छौं । गेटको डिजाइनलाई एकदमै मजबूत पारिएको छ । पहिलाको जस्तो दुर्घटना अब हुँदैन ।’

मेलम्चीको कथा

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । २०२९ सालदेखि खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गर्यो ।

त्यसपछि २०४९ सालको अर्को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प मेलम्ची, याङ्ग्री र लार्केलाई छान्यो । त्यहाँबाट दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न सकिने अध्ययनको निष्कर्ष थियो । सोही अनुसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्र्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो ।

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्णरूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने समितिले जनाएको छ ।

हेलम्बुका स्थानीय असन्तुष्ट

मेलम्ची खानेपानीको मुहानका स्थानीय बासिन्दा भने आयोजनासँग असन्तुष्ट बनेका छन् । हेलम्बु गाउँपालिका–१ स्थित आम्बथानमा रहेको मुहानका बासिन्दाहरू आफ्ना माग पूरा नभएको भन्दै रुष्ट बनेका हुन् ।

मेलम्चीको पानी लैजाने चर्चा चल्न थालेसँगै गाउँपालिकाका स्थानीयहरूले आयोजनासँग विभिन्न माग राखेका थिए । तर माग पूरा नभएको भन्दै पानी परीक्षणको शुरुआत गर्ने कार्यक्रम उनीहरूले बहिष्कार गरे । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कार्यक्रममा निम्त्याइएको थियो । तर उनी पनि गएनन् ।

शेर्पाले नेपाल प्रेससँग भने, ‘मागहरू पूरा नभए पनि हामी राष्ट्रिय महत्वको आयोजनामा सहयोग गर्छौं ।’

काठमाडौंवासीले हेलम्बुको पानी खान लागेको कुरा बिर्सन नहुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर