प्रचण्ड-माधव पक्षका दुई जिल्ला सचिवले अस्वीकार गरे जिम्मेवारी – Nepal Press

प्रचण्ड-माधव पक्षका दुई जिल्ला सचिवले अस्वीकार गरे जिम्मेवारी

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता हिमाल शर्मा काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारीमा नबस्ने भएका छन् ।

तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा आफूले सचिवको जिम्मेवारी स्वीकार गरे पनि पुनः त्यही जिम्मेवारीमा नरहने बताए।

‘जिल्लाको सचिवमा म रहन्न’ उनले नेपाल प्रेससँग भने, ‘पहिले दुइटा अध्यक्ष थियौं । त्यति बेला एउटा अध्यक्ष, एउटा सचिव बस्नुपर्ने बाध्यता थियो । त्यतिबेला म बस्नै पर्ने थियो । अहिले म बस्दिनँ अरू साथीहरूलाई जिम्मेवारी दिउँ भन्ने मेरो भनाइ हो ।’

प्रचण्ड-माधव पक्षीय नेकपाले काठमाडौंसहित ६८ जिल्लाको अध्यक्ष र सचिव तोकेकोमा शर्मालाई पुनः सचिवको जिम्मेवारीमा राखिएको छ । शर्मा सग्लो नेकपाको पनि काठमाडौं जिल्ला सचिव थिए ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ७ फागुनमा गरेको हस्ताक्षर सर्कुलरमा बसन्त मानन्धरलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । मानन्धर पूर्व एमाले समूहका हुन्। सग्लो नेकपामा कृष्ण राई अध्यक्ष थिए । हाल उनी केपी ओली पक्षतिर लागेका छन्।

शर्माले काठमाडौंका हकमा सर्कुलर अन्तिम नरहेको समेत दावी गरे । उनले भने, ‘त्यो अन्तिम होइन, त्यो कसरी बाहिर आयो ? सर्कुलर काठमाडौं बाहेकको आउँछ होला।’

तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका शर्मा अखिल (क्रान्तिकारी)को अध्यक्ष र त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति समेत भएका थिए ।

मानन्धर पनि तत्कालीन माले निकट अनेरास्ववियूको महासचिव रहेका थिए । मानन्धर केन्द्रीय सदस्य भने पार्टी एकीकरण भएर नेकपा बनेपछि मात्रै बनेका थिए।

यसैबीच भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गरेका छन् । उनी पार्टी एकीकरणपछि साबिक माओवादीबाट सचिव थिए ।

अध्यक्ष प्रेमकुमार राई ओली पक्षमा लागेपछि प्रचण्ड-माधव पक्षले साबिक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर खड्कालाई सचिवमै कायम राखेको थियो ।

उनले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर