देउवालाई पैसाको अभर कि आन्दोलनसितै डर ? – Nepal Press

देउवालाई पैसाको अभर कि आन्दोलनसितै डर ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ६ गते कास्कीमा आयोजित कार्यक्रममा बोल्दै ‘आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको’ बताए । संसद विघटनविरुद्ध कडा आन्दोलन नगरेको भनेर पार्टीको एउटा खेमाले दपेटिरहँदा उनले प्रतीक्षामा पैसाको बहाना देखाएका हुन् ।

प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ ठहर गर्दै कांग्रेसले देशका विभिन्न स्थानमा तीन चरणमा प्रदर्शन र सभा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको सत्ताधारी र विपक्षी दुवै घटकले राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा शक्ति प्रदर्शनसहितको सभा गरेका थिए । कांग्रेस भने जिल्ला, क्षेत्र, गाउँ÷नगर हुँदै वडा केन्द्रित आन्दोलनमा लाग्यो । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले शक्ति प्रदर्शनसहितको बृहत् आन्दोलन गर्नुपर्ने बताए पनि देउवा त्यसमा सहमत भएनन् । आन्दोलनका मञ्चमा पनि ‘चुनावको तयारी थाल्नुपर्ने’ अभिव्यक्ति देउवाले दिएका छन् ।

‘आन्दोलन गर्न पैसा चाहिन्छ । हामीसँग पैसा छैन । जबरजस्ती आन्दोलनमा बोलाउन सक्दैनौं’ सभापति देउवाको भनाइ थियो ।

आन्दोलन गर्न पैसा नभएको देउवाको अभिव्यक्तिले पार्टीभित्र एकप्रकारको तरंग भने ल्याएको छ । वरिष्ठ नेता पौडेलले इटहरीबाटै देउवाको अभिव्यक्तिको खण्डन गरे ।

‘आन्दोलन गर्न पैसा होइन विचार चाहिन्छ । उहाँसँग पैसा होइन, विचार नभएको हो’, पौडेलको भनाइ थियो ।

आन्दोलनसँग आत्तिने देउवा

चारपटक देशको कार्यकारी बनेका देउवा अहिले देशकै पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्वमा छन् । यद्यपि आजसम्म कुनै पनि राजनीतिक आन्दोलनमा उनको नेतृत्वदायी भूमिका देखिएको छैन । देउवा निकटस्थहरूका अनुसार विद्यार्थी राजनीति गर्दादेखि नै उनी आन्दोलनप्रति रुचि राख्दैनथे ।

२०३६ सालमा देउवा नेविसंघको अध्यक्ष भए पनि जनमत संग्रह घोषणा गर्न बाध्य पार्ने आन्दोलनको नेतृत्व बलबहादुर केसीले गरेका थिए । आन्दोलन चर्काउन पार्टी नेतृत्वले नै देउवा अध्यक्ष रहँदै केसीलाई कार्यवाहक अध्यक्ष बनाएको थियो ।

कांग्रेस राजनीतिमा महत्वपूर्ण मानिने सुरजपुरा काण्डमा देउवा घाइते भए । रूपन्देहीको सुरजपुरामा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासँगै पुगेका देउवासहितका नेताहरूमाथि पञ्चायतका समर्थकहरूले हमला गरेका थिए । सो क्रममा आक्रमणकारीले प्रहार गरेको ईंटाले लागेर देउवाको ओठ काटेको थियो ।

महत्वपूर्ण आन्दोलनको अगुवाई नगरे पनि सुरजपुरा काण्डसम्म देउवा संघर्षका लागि तयार ‘नेता’ का रूपमा परिचित भएका थिए । देउवाका समकक्षी एक नेता बेलायत गएसँगै देउवामा परिवर्तन आएको बताउँछन् ।

‘हुन त नेविसंघको अध्यक्ष भए पनि देउवाको नेतृत्वमा सम्झनलायक आन्दोलन भएन । कांग्रेसमा लागेका कारण जेलनेल भोगे पनि बेलायत पढ्न गएपछि भने उनले दुःख गर्नै परेन’, ती नेताले भने ।

संसद पुनःस्थापनाको मागसहित गिरिजाप्रसादको नेतृत्वमा पाँच दल आन्दोलनमा रहँदा देउवा आन्दोलनमा थिएनन् । उनको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) र नेकपा एमाले मिलेर ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकार सञ्चालन गरेका थिए ।

अध्ययनका लागि २०४४ सालमा बेलायत गएका देउवा २०४६ को जनआन्दोलन उत्कर्षमा छँदा मुलुकमै थिएनन् । प्रजातन्त्र पुनःस्थापनलगत्तै गिरिजाप्रसाद कोइरालाले देउवालाई नेपाल बोलाएका थिए । नेपाल फर्केलगत्तै २०४८ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि देउवाले पछाडि फर्कनुपरेन ।

प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो निर्वाचित सरकारमा गृहमन्त्री रहेका देउवा २०५२ सालमा पहिलोपटक मुलुकको प्रधानमन्त्री भए । २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका उनले सोही कार्यकालमा संसद विघटन गरी निर्वाचन घोषणा गरे । निर्वाचन गराउन नसकेपछि राजा ज्ञानेन्द्रबाट अपदस्त बनेका उनी पुनः २०६१ मा राजाबाटै प्रधानमन्त्रीमा मनोनीत भए ।

संसद पुनःस्थापनाको मागसहित गिरिजाप्रसादको नेतृत्वमा पाँच दल आन्दोलनमा रहँदा देउवा आन्दोलनमा थिएनन् । उनको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) र नेकपा एमाले मिलेर ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकार सञ्चालन गरेका थिए । राजाबाट २०६१ माघ १९ मा दोस्रोपटक अपदस्थ भएपछि मात्रै देउवा आन्दोलनका लागि तयार भए । यद्यपि शाही आयोग बनाएर राजा ज्ञानेन्द्रले देउवालाई भ्रष्टाचार आरोपमा हिरासतमा राखे ।

देउवा हिरासतमा छँदा कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति गोपालमान श्रेष्ठले आन्दोलनको मोर्चामा भूमिका खेले । २०६२ फागुन १ गते सर्वोच्च अदालतले शाही आयोग खारेज गरेपछि देउवा हिरासतमुक्त भए । त्यसको अढाइ महिनामै लोकतान्त्रिक आन्दोलन सफल र संसद पुनःस्थापना भयो ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवा संगठनको मुख्य पदमा पुगे पनि आन्दोलनको नेतृत्वकर्ता नरहेको बताउँछन् ।

‘लोकतन्त्रको पक्षमा सक्रिय भएको र जेलनेल गएको सत्य हो, तर लोकतान्त्रिक आन्दोलनलाई अगुवाइ गरेको देउवाको अनुभव होइन । कुनै पनि आन्दोलन देउवाजीको नेतृत्वमा भएको देखिंदैन । त्यसैले आन्दोलनबारे उहाँका हलुका धारणा आउनु अनौठो होइन’, आचार्यले नेपाल प्रेससँग भने ।

आन्दोलन र पैसा

काठमाडौंमा नेकपाका दुवै घटकले गरेका सडक प्रदर्शनमा आसपासका जिल्लाबाट मान्छे ओसारिएको थियो । आन्दोलनमा आएका सहभागीलाई ‘मासुभात’ सँगै ‘नगद’ को व्यवस्था समेत गरिएको समाचार सार्वजनिक भएका थिए । सभापति देउवाले सोही अर्थमा पैसा बाँडेर आन्दोलन गर्न नसकिने बताएको कांग्रेस नेता गोपालमान श्रेष्ठ बताउँछन् ।

कांग्रेस संगठन विभागका प्रमुख समेत रहेका नेता श्रेष्ठको भनाइमा कांग्रेस आन्दोलनमै भए पनि देशभरका मान्छेलाई काठमाडौंको सडकमा उतारेको छैन ।

‘अस्ति ओली र प्रचण्डको सभामा सयौं गाडी मान्छे ल्याइयो । गाडी ल्याएपछि तेल हाल्नै प¥यो, भाडा तिर्नैप¥यो । खाना, खाजा खुवाएर दुई हजार रुपैयाँसहित पशुपतिसमेत घुमाएको चर्चा चल्यो । कांग्रेसले त्यसरी खर्च गरेर चैं आन्दोलन गर्न सक्दैन भन्नुभएको हो,’ देउवाको भनाइलाई प्रष्ट पार्दै श्रेष्ठले भने । शक्ति प्रदर्शन गर्ने आन्दोलनमा पैसा खर्च हुने कुरा स्वाभाविक भएको र देउवाले गलत नबोलेको श्रेष्ठको भनाइ छ ।

हाल प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेका अन्य दलका नेता भने देउवाको अभिव्यक्तिप्रति सहमत छैनन् । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री आन्दोलन पैसाले नभई मुद्दाले हुने बताउँछिन् ।

‘कांग्रेसका धेरै निष्ठावान् नेता, कार्यकर्ता त आन्दोलनकै पक्षमा छन् तर देउवाजीको एजेण्डा आन्दोलन होइन । आन्दोलन गर्न मन नभएका कारण पैसाले मात्रै मान्छे आउँछन् कि भन्ने उहाँलाई लागेको हो’, झाँक्रीले भनिन् ।

नेकपा जस्तो ‘क्याडरबेस’ पार्टीमा भन्दा कांग्रेस जस्ता ‘मासबेस्ड’ पार्टीमा आर्थिक स्रोत व्यवस्थापन जटिल हुने भए पनि पैसाको अभावले आन्दोलन गर्न नसक्ने तर्क राजनीतिक नभएको झाँक्रीको भनाइ छ ।

आन्दोलनमै रहेको जनता समाजवादी पार्टीका नेता केशव झा कांग्रेस सभापति देउवाले आजसम्म कांग्रेसको नेतृत्वमा भएका आन्दोलनको खर्च र स्रोत देखाउनुपर्ने बताउँछन् ।

‘कांग्रेसका मान्छे पैसा नभएसम्म आन्दोलनमै आउँदैनन् जस्तो कुरा गर्नुभयो देउवाजीले । यदि पैसाले मात्रै आन्दोलन हुने हो भने त आजसम्म प्रजातन्त्र र लोकतन्त्रको लागि लड्दा कांग्रेस कसको पैसाले आन्दोलनमा गयो भन्नुपर्‍यो नि !’, झाले भने । देउवाको भनाइले समग्र राजनीतिक आन्दोलनको गरिमामाथि प्रहार गरेको उनको भनाइ छ ।

कांग्रेस राजनीतिलाई नजिकबाट बुझेका विश्लेषक आचार्य कांग्रेस सभापति देउवालाई हरचिज पैसाले प्राप्त हुन्छ भन्ने भ्रम परेको हुनसक्ने बताउँछन् । ‘इतिहासमै कुनै पनि आन्दोलन पैसाले सफल भएको छैन । पैसा साधन हो साध्य होइन तर पैसाको महत्व निकै बुझेको व्यक्ति भएकाले आन्दोलन पनि पैसाबाटै हुन्छ भन्ने उहाँलाई लागेको हुनसक्छ’, आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर