नागढुंगा पुगेर प्रधानमन्त्रीले भने– थानकोटबाट फुत्त नौबिसे निस्कने दिन आउँदैछ – Nepal Press

नागढुंगा पुगेर प्रधानमन्त्रीले भने– थानकोटबाट फुत्त नौबिसे निस्कने दिन आउँदैछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् ।

आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए ।

दहचोकमा आयोजित कार्यक्रममै देश सुरुङ युगमा प्रवेश गरिरहेको बताएका प्रधानमन्त्रीले डाडाँकाडाँ उकालो–ओरालो तथा असंख्य घुम्तीहरु पार गर्दै हिँडने सडक अब सुरुङमार्गबाट निमेशभरमै गन्तव्यमा पुग्ने बताए । ‘देश अब सुरुङ युगमा प्रवेश गरिसक्यो । अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ ।’

सुरुङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौती र कोभिडका कारण परेको असर बारे जानकारी गराएका थिए ।

कुल २ हजार ६ सय ८० मिटर लम्बाईको दुई लेनको यो सुरुङमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पठाउने, आकस्मिक उद्धार र सुरुङ भित्र चौबीसै घन्टा प्रकाश तथा अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सीसीटीभीसमेत हुनेछ ।

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याउनुभएको थियो । प्रधानमन्त्रीले आफूतिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

२०१९ को नोभेम्बर महिनामा ठेक्का सम्झौता भएको मितिले ४२ महिना भित्र यसको निर्माणकार्य सम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पुर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरुभएपछि सुरुंग निर्माणले तीव्रता लिने आयोजनाका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर