टेक्सस संकटमा ऊर्जा कम्पनीहरु दोषी रहेको बिल गेट्सको आरोप – Nepal Press

टेक्सस संकटमा ऊर्जा कम्पनीहरु दोषी रहेको बिल गेट्सको आरोप

माइक्रोसफ्टका सह-संस्थापक एवं परोपकारमा सक्रिय धनाढ्य बिल गेट्सले टेक्ससमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो मौसममा सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेको भन्दै अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् ।

अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा ऊर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको गेट्सले बताएका हुन् । विद्युत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दावी छ ।

घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने ऊर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका उनको दावी छ ।

सीएनएनसँगको कुराकानीमा उनले भने -“खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्याँस प्लान्टको क्षमताबारे सोच्नुपथ्र्यो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।”

उनले भने, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।”

टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यमा विरामी बढेका छन् भने विद्युत आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर