सन्दीपलाई ‘अलार्म कल’ – Nepal Press

सन्दीपलाई ‘अलार्म कल’

शक्ति भन्छन्ः सन्दीपले कमब्याक गर्नेछन्

काठमाडौं । हरेक खेलाडीको करिअर उतार-चढावले भरिएको हुन्छ । फर्म भेट्टाउने र गुमाउने सिलसिला चलिरहन्छ । तर, त्यो खेलाडी ‘लिजेन्ड’ हो, जो क्षणिक असफलतामा आत्तिंदैन र क्षणिक सफलतामा मात्तिंदैन ।

उठाउन खोजिएको प्रसंग क्रिकेटर सन्दीप लामिछानेको हो । उनी आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा ‘अनसोल्ड’ भएपछि नेपाली समर्थकहरू निराश छन् । कतिपयले सन्दीपको करिअर अब ओरालो लाग्न थालेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । जुन प्रतियोगिताले उनको करिअरलाई नयाँ मोड दियो, त्यसमै यसपालि नबिक्दा सन्दीप स्वयम् दुःखी बनेको हुनुपर्छ ।

त्यसो त आईपीएलको पछिल्लो सिजनमा सन्दीपले एउटा म्याच पनि खेल्न पाएका थिएनन् । उनको टिम दिल्ली क्यापिटल्समा भारतीय स्पिनरहरू नै यथेष्ट थिए । उनीहरूले राम्रो प्रदर्शन गर्दा सन्दीपको पालो नै आएन । त्यसैले यसपालि दिल्लीले उनलाई रिलिज गरिदिएको थियो । गत जनवरीमा दिल्लीले आईपीएल–२०२१ खेल्ने १९ जना खेलाडीको सूची सार्वजनिक गर्दा त्यसमा उनी अटाएनन् । सन्दीपसहित ६ जना खेलाडीहरू रिलिज गरिएकोमा चार जना विदेशी थिए ।

दिल्लीले सन्दीपलाई रिलिज गर्नु स्वाभाविक नै मानिएको थियो । सो टिममा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर मौजूद रहेकाले सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन मुश्किल हुन्थ्यो । दिल्लीले मुक्त गरेपछि आगामी आईपीएलको अक्सनमा अरू टिमहरूले सन्दीपलाई खोसाखोस गर्ने कतिपयको अनुमान थियो । तर त्यस्तो भएन । बिहीबार भएको अक्सनमा सन्दीप ‘अनसोल्ड’ भए । एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीका लागि ४० लाख भारुको न्यून मूल्यमा पनि कसैले चासो नदेखाउनु आश्चर्य नै भयो ।

त्यसो त यसपालि सन्दीप मात्र होइन, कुनै पनि एसोसिएट्स कन्ट्रीका खेलाडीहरूले आईपीएलमा स्थान पाएका छैनन् । तसर्थ यो प्रतियोगिता आयोजककै रणनीतिको अंग पनि हुन सक्छ । यद्यपि, आईपीएलले एसोसिएट राष्ट्रका खेलाडीलाई नखेलाउने भनेर अहिलेसम्म घोषित नीति भने बनाएको छैन ।

आईपीएलमा सन्दीप

इतिहास रच्दै सन् २०१८ को आईपीएलमा नेपाली किशोर सन्दीपले इन्ट्री मारेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष मात्र थियो । दिल्लीले उनलाई न्यूनतम मूल्य २० लाख भारुमा खरीद गर्दा नेपालमा निकै हल्लाखल्ला भयो ।

त्यसयताका तीन आईपीएलमा सन्दीपलाई दिल्लीले आफूसँग राख्यो । आईपीएलमा उनको समग्र प्रदर्शन सन्तोषजनक छ । उनले जम्मा ९ म्याच खेलेर ८.३४ को औसतमा १३ विकेट लिएका छन् । तर यो आँकडा २०१८ र २०१९ मा उनले गरेको प्रदर्शनमा मात्रै आधारित छ । किनकि पछिल्लो संस्करणमा उनले एउटा खेल पनि नखेली केवल बेन्चको शोभा बढाएर बसेका थिए ।

सन् २०१८ को आईपीएल सन्दीपका लागि विशेष बनेको थियो । यो आईपीएलमा छनोट भए पनि प्लेइङ ११ मा पर्न सन्दीपले लामो प्रतिक्षा गर्नुपर्‍यो । ११ म्याचसम्म बेञ्चमा बसेका उनले दिल्ली प्रतियोगिताबाट आउट भइसकेपछिका बाँकी तीन खेल खेल्न पाएका थिए । त्यसमा उनले आफ्नो छाप छोड्न सफल भए । उनले कसिलो बलिङका साथ तीन म्याचमा ५ विकेट लिएका थिए, जसमा उनको बलिङ एभ्रेज १६.४० थियो । विराट कोहली र एबी डिभिलियर्सजस्ता ब्याट्म्सम्यानलाई पनि सन्दीपले आच्छुआच्छु बनाएका थिए ।

पहिलो पटक खेलेको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपको भाग्य चम्कियो । अन्य देशमा हुने टी–२० फ्रेन्चाइजहरूको ध्यान उनीतिर तानियो । त्यसयता उनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) देखि वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल), बंगलादेशको बंगलादेश प्रिमियर लिग (बीपीएल), पाकिस्तानको पाकिस्तान सुपर लिग (पीसीएल), क्यानाडाको ग्लोबल टी-२० लगायतमा आफ्नो स्पिनको जादु देखाइसकेका छन् ।

किन बिकेनन् ?

सन्दीपले अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइजमा प्रवेश गरेको पहिलो वर्ष एकप्रकारको सनसनी नै मच्चाएका थिए । हरेक देशका टुर्नामेन्टमा उनी चम्किए । तर, त्यसपछिका वर्षहरूमा भने उनको चार्म कम भएको थियो । २०१८ देखि अहिलेसम्म आइपुग्दा सन्दीपले आफूलाई थप निखार्न चुकेकै हो ।

आईपीएलमा सन्दीप अनसोल्ड रहनुका तीन सम्भावित कारण हुन सक्छन् । पहिलो भनेको उनको जुन विधा छ, त्यसमा भारतीय खेलाडीहरू नै पोख्त छन् । स्पिन बलिङमा भारतीय क्रिकेटरहरू विश्वमै अगाडि मानिन्छन् । त्यही भएर फ्रेन्चाइजहरूले आफ्नो टिम बनाउँदा स्पिनरमा भारतीय खेलाडी नै राख्न चाहन्छन् । ओभरसिज कोटामा फास्ट बलर वा विज्ञ ब्याट्सम्यान रोजेको पाइन्छ । त्यसैले पनि सन्दीपलाई टिमहरूले बेवास्ता गरेका हुनसक्छन् ।

दोस्रो कारण भनेको ब्याटिङमा सन्दीप शून्यप्रायः छन् । ब्याटिङ गर्न नसक्ने बलर र ब्याटिङ पनि अलिअलि गर्ने बलर हुँदा टिममा धेरै फरक पर्छ । कहिलेकाहीं अन्तिममा आउने ब्याट्सम्यानले पनि जित–हारमा भूमिका खेल्नुपर्छ । यो पक्षमा सन्दीपको कमजोरी छ ।

तेस्रो चाहिं प्रदर्शनमा अपेक्षित सुधार नआउनु पनि हो । पछिल्लो दुई वर्ष सन्दीपको प्रदर्शन औसतभन्दा माथि उक्लिन सकेको छैन । सम्भवतः उनको बलिङ प्रायः ब्याट्सम्यानहरूले बुझ्न थालिसकेकाले पनि हुनसक्छ । त्यसैले सन्दीपका लागि आफ्नो बलिङमा थप विविधता जरूरी देखिएको छ ।

सन्दीपले नखेल्ने भएपछि आगामी संस्करणको आईपीएलको समग्र चर्चा नेपालमा कम हुने पक्का छ । सन्दीप विनाको आईपीएल नेपालीले हेर्दै हेर्दैनन् भन्ने होइन, तर कमले हेर्छन् ।

आईपीएल अक्सनको ठीक अगाडि सन्दीपले अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) खेलेका थिए । लगातार तेस्रो पटकको बिग बासमा उनको प्रदर्शन ठीकठीकै थियो, तर उत्कृष्ट होइन । यदि बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेको भए सन्दीपलाई आईपीएल फ्रेन्चाइजहरूले पक्कै नजरअन्दाज गर्न सक्दैनथे ।

पछिल्लो समयमा अपेक्षित प्रदर्शन गर्न नसकेको महसूस भएरै हुन सक्छ, सन्दीपले आईपीएलको अक्सनमा आफूलाई महत्वाकांक्षी रूपमा प्रस्तुत गरेका थिएनन् । उनले केवल ४० लाख भारु बेस प्राइस राखेका थिए । उनको स्तरको खेलाडीका लागि आईपीएलमा यो निकै कम मूल्य हो । तीन वर्षसम्म २० लाखमै खेलेका उनले कम्तीमा एक करोड सहजै पाउन सक्ने अनुमान थियो । तर, सन्दीपका लागि ४० लाख खर्चिन पनि कुनै टीम तयार भएनन् ।

सन्दीपलाई ‘चेतावनी घण्टी’

सन्दीपले कम उमेरमै आफूलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेटर सावित गरिसकेका छन् । उनले कुनै पनि भूमिमा आफूलाई प्रमाणित गर्न बाँकी छैन । आईपीएलमा नबिक्दैमा उनको करिअर समाप्त हुने पनि होइन । तर, यो उनका लागि एउटा ‘अलार्म कल’ अवश्य हो ।

संसारका धेरै देशमा हुने टी–२० फ्रेन्चाइजहरूको तुलनामा आईपीएललाई माथि राख्ने गरिन्छ । नेपालसहित दक्षिणएशियामा त आईपीएलको अलग्गै क्रेज छ । त्यसैले यो प्रतियोगितामा छनोट नहुनु सन्दीपका लागि गम्भीर धक्का हो । नेपाली समर्थकका लागि पनि आईपीएल खल्लो हुने भयो ।

अर्कोतर्फ आईपीएलका लागि समेत सन्दीपको अनुपस्थितिले केही न केही क्षति अवश्य पुर्‍याउने छ । नेपाल क्रिकेट लभरहरूको देश भनेर चिनिन्छ । सन्दीपको सहभागितासँगै नेपालमा आईपीएलप्रतिको चासो र लोकप्रियता ह्वात्तै बढेको थियो । केवल सन्दीपका लागि आईपीएल हेर्ने नेपाली पनि धेरै छन् । त्यसै अनुसार मिडिया कभरेज पनि छ ।

दिल्ली क्यापिटल्सको फेसबूक पेज हेर्दा पनि थाहा हुन्छ कि, नेपालमा सन्दीपको क्रेज कति छ । उसले हाल्ने अरू पोष्ट र सन्दीपको नाम जोडिएका पोष्टमा हुने अन्तरक्रियामा आकाश–जमीन फरक थियो । त्यही बुझेर दिल्लीले असान्दर्भिक रूपमा पनि बेला–बेला सन्दीपको पोष्टहरू गरिराख्थ्यो । साथै, सन्दीपकै कारण सिंगै नेपालको समर्थन दिल्लीलाई थियो । अब दिल्लीले यो समर्थन गुमाएको छ ।

सन्दीपले नखेल्ने भएपछि आगामी संस्करणको आईपीएलको समग्र चर्चा नेपालमा कम हुने पक्का छ । सन्दीप विनाको आईपीएल नेपालीले हेर्दै हेर्दैनन् भन्ने होइन, तर कमले हेर्छन् ।

शक्ति भन्छन्ः सन्दीपले कमब्याक गर्नेछन्

नेपाली राष्ट्रिय टीमका भूतपूर्व स्पिनर शक्ति गौचन शक्ति आईपीएलमा छनोट नहुँदा आफूलाई दुःख लागेको बताए ।

‘सन्दीपले क्रिकेट जगतमा नेपालको ब्राण्ड एम्बेसडर जस्तै हो, हरेक देशमा खेलेर नेपालको नाम चम्काइरहेको छ’ शक्तिले भने, ‘यसपालि आईपीएलमा छनोट नभएको सुन्दा दुःखी भएँ, तर यो नै अन्त्य होइन ।’
उमेरका हिसाबले सन्दीपसँग प्रशस्त समय भएकाले एउटा आईपीएलमा छनोट नहुँदैमा आत्तिनु नपर्ने उनको भनाइ छ ।

‘उनी एउटा सक्षम खेलाडी हुन्, उनको क्षमता कसैले खोस्न सक्दैन’ शक्तिले भने, ‘विश्वका कैयन् चर्चित ब्याट्सम्यान र बलरहरू पनि आईपीएलमा अनसोल्ड भएका छन्, यो धेरै ठूलो कुरा होइन । आईपीएलका आगामी सिजनहरूमा उनले पक्कै कमब्याक गर्नेछन् ।’

भारतमा स्पिनरहरूको दबदबा बढी भएकाले सन्दीप प्राथमिकतामा नपरेको हुनसक्ने उनको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *