२९ वर्षदेखि एउटै व्यक्ति सामुदायिक वनको अध्यक्ष, अनियमितताको आरोप – Nepal Press

२९ वर्षदेखि एउटै व्यक्ति सामुदायिक वनको अध्यक्ष, अनियमितताको आरोप

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ३ का उपभोक्ताले सिर्जना सामुदायिक वन उपभोक्ता समितिमा अनियमितता भएको उपभोक्ताले शंका गरेका छन् । २९ वर्षदेखि वन उपभोक्ता समितिका अध्यक्ष रहेका खड्गबहादुर सुनारले साधारणसभाविनै उपभोक्ता समिति गठन गरी समितिमा हिनामिना गरेको स्थानीयको आरोप छ ।

‘हामीले बारम्बार साधारणसभा बोलाउन र हिसाब सार्वजनिक गर्न माग गरेका छौं । उनीहरू अहिलेसम्म हामीलाई वनको आय–व्यय दिन मानिरहेका छैनन् । मनलाग्दी गर्ने, विरोध गर्नेलाई उपभोक्ता समितिबाट निकाल्ने, कार्यालयमा बैठक नराखेर अन्यत्रै बैठक राख्ने र वनका कर्मचारीहरूसँग मिलेर वनबाट भएको आम्दानीमा भ्रष्टाचार गरेको हामीले अनुमान गरेका छौं’ उपभोक्ता समिति सदस्य खम्बरजंग थापाले नेपाल प्रेससँग भने, ‘उनीहरूले वार्षिक रूपमा काठ चिराउने, घाँस दाउराको शुल्क उठाउने, उपभोक्तालाई काठ बेच्ने गरेको हामीले देखेका छौं । तर अहिलेसम्म आम्दानी भएको देखाइएको छैन । लाखौं आम्दानी हुने वनमा २९ वर्षसम्म ९ लाख मात्रै आम्दानी भनेर देखाइनु भ्रष्टाचार नै हो ।’

अर्का उपभोक्ता सदस्य तुलसीप्रसाद पौडेलले समितिको खातामा कम्तीमा २९ लाख हुनुपर्ने बताए । ‘हरेक वर्ष २८ हजार भन्दा बढी घाँसबाट, सोही अनुपातमा दाउराबाट, कम्तीमा तीनदेखि चार लाख काठबाट आम्दानी हुने गरेको छ’ पौडेल भन्छन्, ‘त्यही हिसाब माग्दा हामीलाई दिन नचाहने, बोलाएको स्थानमा नआउने, तर्केर हिंड्ने गर्दै आएका कारण हामीले गाउँमा नै पत्रकारलाई बोलाएका हौं ।’ उनले आफूलाई अध्यक्ष सुनारले बाघ नै सम्झेका कारण हिसाबकिताब नराखेको आरोप लगाउँदै सार्वजनिक सम्पत्तिमाथि व्यक्तिको रजाइँ हुन नदिने बताए ।

‘हामीलाई धम्क्याउने, साधारण सभामा उपस्थिति उठाउने अनि निर्णय गर्नुपूर्व नै माइन्यूट लैजाने, भोट कार्डका नाउँमा ३०० फर्जी सदस्य दिने’ उनले गुनासो गरे, ‘हामीले हाम्रो माग डिभिजन वन कार्यालयदेखि सबै निकायमा पु¥याउँदा पनि कतैबाट सुनुवाइ भएको छैन । अन्तिममा हामीले प्रेसलाई बोलाएका हौं । पत्रकारमार्फत हामीले न्याय पाउने आशा गरेका छौं ।’

सिर्जना सामुदायिक वन २६२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ‘कुकाठ भनेर रूखै काटिन्छ, तर कति काटिन्छ उपभोक्तालाई जानकारी नै दिइँदैन । कहिले काटिन्छ, त्यो पनि सुँइकोसम्म पाइँदैन’ उनले भने, ‘वन कार्यालयका कर्मचारी र समितिका अध्यक्षको मिलेमतोमा व्यापक गलत कार्य भइरहेको छ । हरेक नागरिकले सामाजिक संस्थाको आर्थिक पारदर्शिता बारे जान्न पाउने अधिकार कुण्ठित भएका कारण हामी पत्रकारलाई जानकारी दिन बाध्य भएका हौं ।’

वन समितिका अध्यक्ष खड्ग सुनार भने आफूहरूले भ्रष्टाचार नगरेको बताउँछन् । ‘हामीले लेखा परीक्षण पनि गराएका छौं । आगामी फागुन १५ गते भेला पनि बोलाएका छौं । उनीहरूले लगाएको आरोप निराधार हो’ उनी भन्छन्, ‘गत वर्षसम्मको बचत ५ लाख ४२ हजारसहित हामीसँग अहिले ९ लाख २२ हजार रुपैयाँ मौज्दात छ ।’

डिभिजन वन कार्यालयका प्रमुख गोविन्दप्रसाद दाहाल कर्मचारीको मिलेमतो हुनुको कुनै कारण नभएको बताउँछन् । एकै व्यक्ति लामो समयसम्म अध्यक्ष भएको सत्य भएको बताउँदै त्यहाँको विवाद मिलाउन टीम नै खटाएको बताए ।

‘अहिलेसम्म वनमा रकम हिनामिना गरेको किटानी जाहेरी आएको छैन । आएको खण्डमा कारबाही गर्न सकिन्छ’ उनले भने, ‘वा उपभोक्ताले वन मासेको भनेर भन्नुपर्छ । त्यस्तो भएको पाइएमा हामी समुदायबाट वन फिर्ता लिन सक्छौं ।’

तर अहिले त्यहाँ लोकतान्त्रिक विधिमार्फत नै समिति गठन गर्न १५ फागुनसम्मका लागि म्याद दिइएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर