सरकारले एकैपटक पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै (भिडियो) – Nepal Press

सरकारले एकैपटक पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै (भिडियो)

काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । ती औद्योगिक क्षेत्रहरुको यसै साता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन् ।

यसकै लागि प्रधानमन्त्री सोमबार सुदूरपश्चिम जाँदैछन् । पाँचमध्ये प्रधानमन्त्रीले दुई वटा, अर्थमन्त्री पौडेलले एउटा र उद्योग मन्त्री लेखराज भट्टले दुईवटा औद्योगिक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

फागुन १० , ११ ,१३, १४ र १६ गते औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले फागुन १० गते सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी-छेला औद्योगिक क्षेत्र’ र फागुन १६ गते प्रदेश १ को झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन-नेपाल औद्योगिक पार्कको शिलान्यास गर्नेछन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले फागुन ११ गते लुम्विनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ र फागुन १४ वागमती प्रदेशको मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गर्दैछन् ।

त्यस्तै फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्विनी प्रदेशस्थित रुपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

यी पाँचवटा औद्योगिक क्षेत्रहरु पाँच वर्षभित्र निर्माण सम्पन्न हुने औद्योगिक विकास लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।

‘फागुनको १० गते देखि १६ गतेसम्म शिलान्यास हुन लागेका ४ प्रदेशका पाँच औद्योगिक क्षेत्र २५ अर्ब विदेशी लगानीमा पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । पाँच वटा औद्योगिक क्षेत्रमध्ये दुई वटा विदेशी लगानी र तीन वटा औद्योगिक क्षेत्रहरु २५ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न हुने लक्ष्य छ’, बस्नेतले भने ।

पाँचवटा औद्योगिक क्षेत्रमध्ये प्रदेश नम्वर १ को झापास्थित ‘चीन-नेपाल औद्योगिक पार्क’सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो भने सबैभन्दा सानो वागमती प्रदेशको ‘मयुरधाप औद्योगिक क्षेत्र’रहेको छ ।

कति लागत ?

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी-छेला औद्योगिक क्षेत्र’

८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ ।
लुम्विनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ ९ अर्ब स्वदेशी लगानीमा निर्माण हुँदैछ । यसको कुल ३३८ बिघा रहेको छ ।

लुम्विनी प्रदेशस्थित ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास दोस्रो ठूलो हो । उक्त औद्योगिक क्षेत्र १२ अर्ब विदेशी लगानीमा निर्माण गर्ने सरकारको योजना रहेको बस्नेतले बताए । यो औद्योगिक क्षेत्र करिव ९३५ बिघा क्षेत्रफलमा निर्माण गरिनेछ ।

मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ सबैभन्दा सानो हो । २०० बिघा क्षेत्रफलमा रहने यस औद्योगिक क्षेत्र ८ अर्ब स्वदेशी लगानीमा सम्पन्न हुने सरकारको लक्ष्य रहेको छ ।

झापाको ‘चीन-नेपाल औद्योगिक पार्क’

प्रदेश नम्बर १ स्थित झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकालाई समेटेर ‘दमक- कमल-गौरादह औद्योगिक क्षेत्र’ फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । यी तीनवटै स्थानीय तह प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने महत्वपूर्ण क्षेत्रहरु हुन् । चीनको सहयोगमा निर्माण हुन लागेको याे औद्योगिक पार्क १४०० बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।


प्रतिक्रिया

One thought on “सरकारले एकैपटक पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै (भिडियो)

Leave a Reply to Saroj Saud Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर