मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुने भएपछि प्रदेशसभाको बैठक बस्दै – Nepal Press
प्रदेश १

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुने भएपछि प्रदेशसभाको बैठक बस्दै

विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल हुने भएको छ ।

केहीबेरपछि शुरू हुने बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक नबसाई बैठक संचालनको तयारी गरेका छन् ।

प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् ।

सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरू मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् । यता, सत्तापक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरू सभामुखसँग छलफलमा जुटेका छन् । बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरु आउने क्रम जारी छ ।

भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हस्ताक्षर फिर्ता लिने सांसदको संख्या ४ पुगिसकेको छ ।

सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३३ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर