सिन्धुपाल्चोकका पूर्वमाओवादी नेताका दुई परिवार पनि फुट्यो, श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर – Nepal Press
नेकपा विभाजन

सिन्धुपाल्चोकका पूर्वमाओवादी नेताका दुई परिवार पनि फुट्यो, श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर

काठमाडौं । नेकपा विभाजनको असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर परेको हो ।

तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान र देवी खड्का प्रचण्ड–माधव पक्षीय नेकपामा खुलेका छन् । तामाङ वागमती प्रदेशसभाकी सदस्य हुन् भने खड्का पहिलो संविधानसभाकी सदस्य हुन् ।

मोक्तान मकवानपुरकी नेतृ हुन् भने खड्का दोलखाकी नेतृ हुन् ।

‘राजनीतिक चेतनासहितको दम्पती भएका कारण पार्टी फुटेसँगै श्रीमान–श्रीमती दुईतिर हुनु स्वाभाविक हो’ खेलकुदमन्त्री दावा तामाङले भने, ‘पार्टी फरक भए पनि पारिवारिक रुपमा सम्बन्ध सुमधुर छ ।’

श्रीमान–श्रीमती दुईतिर लाग्नुमा भूगोलको प्रभाव भएको बताउँछन्, नेता श्रेष्ठ । ‘राजनीति गर्ने भएपछि भूगोलको स्थितिले पनि फरक पार्दो रहेछ’ श्रेष्ठले भने, ‘पार्टी फरक भए पनि परिवारमा समस्या भने छैन ।’

अहिलेका सभामुख अग्निप्रसाद सापकोटा समूहबाट पेलिएका तामाङ र श्रेष्ठ ओली पक्षमा लागेसँगै कमजोर भनिएको सिन्धुपाल्चोकमा ओली पक्षीय नेकपा क्रमशः बलियो बनेको उक्त पक्षका नेता एवम् प्रदेशसभा सदस्य सुरेश नेपालले बताए ।

सिन्धुपाल्चोककै नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि शनिबार आफ्नो पक्षमा लागेसँग ओली पक्षीय नेकपा हौसिएको छ ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकका पूर्वमाओवादी नेताका दुई परिवार पनि फुट्यो, श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर