प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै पुलको शिलालेख तोडफोड – Nepal Press

प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै पुलको शिलालेख तोडफोड

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ ।

नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो । शिलालेख किन र कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन ।

‘साँझसम्म ठिकै थियो, राति तोडफोड गरिएको छ’ , राप्ती गाउँपालिका वडाध्यक्ष विद्याशरण चौधरीले टेलिफोन सम्पर्कमा भने ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले तोडफोडबारे अनुसन्धान शुरू भएको नेपाल प्रेसलाई बताए ।

महदेवा क्षेत्रमा बनेको पुलको शिलालेखमा सिसहनियाँ पुल लेखिएको भन्दै स्थानीयले शुरूमा गुनासो गरेका थिए । यही विषयमा असन्तुष्टि राखेका स्थानीयले तोडफोड गरे वा राजनीतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फरक मत राख्नेले उनको नामहटाउन शिलालेख तोडफोड गरे भन्ने विषय नखुलेको बताइएको छ ।

महदेवाको नाम थपेर नयाँ शिला राख्ने तयारी गरिएको पुल निर्माण सहयोग समन्वय समितिका अध्यक्ष नन्दकुमार चौधरीले जानकारी दिए । ‘शिला तयार पार्दा महदेवाको नाम छुट्न गएछ । त्यसमा थप्ने कुरा भएको थियो, उनले भने नयाँ शिलालेख तयार नहुँदासम्म नहटाउनुपर्ने थियो । अब नाम सच्चाएर नयाँ शिला राखिनेछ’, चौधरीले भने ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिलालेख तोडफोडले राम्रो सन्देश नगएको बताउँदै विकासमा अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

२०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब रूपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर