प्रदेश-२ मै पहिलोपल्ट सिरहा अस्पतालले शुरु गर्‍यो मेडिकल अक्सिजन उत्पादन – Nepal Press

प्रदेश-२ मै पहिलोपल्ट सिरहा अस्पतालले शुरु गर्‍यो मेडिकल अक्सिजन उत्पादन

जनकपुरधाम । सिरहा सदरमुकाममा रहेको सिरहा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । प्रदेश २ सरकारको सहयोगमा निर्मित प्लान्टबाट अस्पताल आफैंले मेडिकल अक्सिजन उत्पादन सुरु गरेको हो ।

अक्सिजन उत्पादन गर्ने यो अस्पताल प्रदेश २ मै पहिलो बनेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले पाइपलाइन मार्फत आवश्यक पर्ने सबै विभागमा अक्सिजन आपूर्ति गरिरहेको बताए । उनले भने, ‘पाइपलाइन मार्फत अक्सिजन सबै विभागमा पुर्‍याउँदा सिलिण्डरमा पनि निर्भर हुने बाध्यता समाप्त भएको छ ।’ अन्य अस्पतालमा अक्सिजन निर्यात गर्नका लागि मात्र सिलिण्डर आवश्यक पर्ने उनको भनाइ छ ।

उनका अनुसार अस्पतालमा ५० बिरामी, शल्यक्रिया कक्ष, १० वटा सघन कक्ष र इमर्जेन्सी वार्डमा आवश्यक परेको बेला सहज रुपमा अक्सिजन आपूर्ति भइरहेको छ ।

‘अस्पतालमा वर्षेनी करिब १ करोडको हाराहारीमा अक्सिजन खरिद गर्नुपर्थ्यो’, मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले भने, ‘बाहिरबाट ल्याउने झन्झटबाट मुक्त भएका छौं ।’ अस्पतालमै अक्सिजन उत्पादन हुन थालेपछि वर्षेनी १५ देखि २० लाख रुपैयाँ बचत हुने उनले बताए ।

तत्कालका लागि अस्पतालमा भर्ना भएका बिरामीका लागि पाइपलाइनबाट अक्सिजन उपलब्ध गराइएको छ । भविश्यमा सिलिण्डरमा भरेर अन्यलाई बेच्ने गरी योजना बनाइरहेको डा. यादवले जानकारी दिए ।

यहाँको प्लान्टबाट उत्पादन गर्ने अक्सिजनको शुद्धता ९३ प्रतिशत रहेको डा. यादवको दावी छ । उनका अनुसार आईएसओ मान्यता प्राप्त कम्प्रेशरे, ३ सय लिटरको एयर ट्याङ्की र १० वर्ष वारेन्टी रहेको जीओलाईट प्रयोग भएको छ । प्लान्टले अधिकतम प्रतिदिन ६० हजार लिटर अक्सिजन उत्पादन गर्न सक्छ ।

अस्पतालले आफैं अक्सिजन उत्पादन सुरु गरेपछि शुल्क घटाउने मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले जानकारी दिए । उनले भने, ‘शुल्क निर्माण गर्ने अधिकार समितिको हो । अब बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने बाध्यता हटेकाले शुल्क घटाउने विषयमा पनि छलफल चलिरहेको छ ।’

सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव, मेडिकल अक्सिजन प्लान्टमा । तस्बिरः सन्तोष/नेपालप्रेस

८८ लाखकाे प्लान्ट जडान

प्रदेश–२ सरकारको ८८ लाख आर्थिक सहयोगमा अक्सिजन उत्पादन प्लान्ट स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष शैलेन्द्र ठाकुरले जनाए ।

‘एक वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै स्थापना भएको छ । प्रदेशकै लागि यो गौरवको विषय हो । पहिले ५० किलोमिटरको दुरीमा रहेको लहानबाट अक्सिजन ल्याउनुपर्थ्यो । तर प्लान्ट स्थापना गरेपछि हामीले अक्सिजन बेच्नेसक्ने भएका छौं,’ अध्यक्ष ठाकुरले भने ।

जनशक्तिको अभाव

अस्पतालमा जनशक्ति अभावले सेवा प्रभावत हुँदै आएको समितिका अध्यक्ष ठाकुर बताउँछन् । उनका अनुसार ५० शय्याको अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्ट, १० जना कन्सल्टेन्ट, ४ जना मेडिकल अधिकृत, ११ जना नर्सलगायत ५३ जनाको दरबन्दी छ । तर मेडिकल ससुपरिटेन्डेन्ट, २ मेडिकल अधिकृत, एक जना नर्स र कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

दरबन्दी अनुसार जनशक्ति उपलब्ध गराउट पटक पटक पत्राचार गर्दा पनि सरकारले चासो नदेखाएको उनको गुनासो छ । जनशक्ति अभावमा बिरामीको अपेक्षा अनुरुप सेवा प्रदान गर्न कठिनाइ भएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए । जनशक्ति अभावकै कारण बिरामीको चाप बढेका बेला अन्य अस्पतालमा रेफर गर्नुपरेको बाध्यता रहेको उनले सुनाए ।

वर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. यादवको आगमनसँगै अस्पतालमा व्यपक सुधार आएको उनको भनाई छ । ‘अस्पताल लथालिङ्ग बनेको थियो । भएका डाक्टर र नर्स पनि इमान्दारितापूर्वक काम गरिरहेको थिएनन् । उहाँ आएपछि धेरै सुधार भएको छ,’ ठाकुरले भने । डा. यादवकै सक्रियतामा अस्पतालमै अक्सिजन उत्पादन भएको हो ।

 


प्रतिक्रिया

3 thoughts on “प्रदेश-२ मै पहिलोपल्ट सिरहा अस्पतालले शुरु गर्‍यो मेडिकल अक्सिजन उत्पादन

Leave a Reply to Mukesh Mandal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर