विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा – Nepal Press

विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।

ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् ।

विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटाली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जी–७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७।५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।

विश्वव्यापी जनसंख्याको आधा भाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्च आम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ,मा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ ।

विश्वका निम्न आम्दानी भएका २९ मुलुकमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ ।

देशको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्यालाई कोभिड–१९ विरूद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हरेक तीन इजरायलीमध्ये एक जनाले शनिबारसम्ममा दुबै खोप लिइसकेका छन् ।

देशको कूल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई खोप उपलब्ध गराउने मुलुकहरूमा, बेलायत ९२५० प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत, रहेका छन् ।

खोपको मात्रा प्रयोगका हिसाबले अमेरिकामा सबैभन्दा बढी पाँच करोड ९० लाख ६० हजार अर्थात् धेरै मात्रा खोप लगाइएको छ । त्यसैगरी फेब्रुअरी ९ सम्ममा चीनमा चार करोड ५० हजार खोप लगाइसकिएको थियो भने भारतमा एक करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रा खोपको मात्रा लगाइसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर