प्रधानमन्त्रीले भने- उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडिया बने (भिडियो) – Nepal Press

प्रधानमन्त्रीले भने- उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडिया बने (भिडियो)

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिंड्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताए । उनले सभामुखलाई किर्तेको संज्ञा दिंदै सरकारविरुद्ध मुद्दा लिएर सभामुख अदालत गएको बताए ।

ओलीले भने–सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।

ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको पनि आलोचना गरे । पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश प्रमुखको शपथग्रहण बहिष्कार गरेका थिए भने प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेका थिए ।

ओलीले भने–उपराष्ट्रपतिजी सरकारविरुद्ध भाष्णा गरेर हिंड्नुभएको छ । उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस् ।

ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको र अब प्रतिनिधिसभा पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र किनमेल खरिदविक्रीको राजनीति शुरु हुने भन्दै अदालतले यो कुरा बुझेर संविधानसम्मत फैसला गर्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर