अमेरिकी विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ता : अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ – Nepal Press

अमेरिकी विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ता : अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववस्थामा फर्किएको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक विदेशी संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले डोनाल्ड ट्रम्पको कार्यकाल अगाडिकै अवस्थामा अमेरिका फर्किएको उल्लेख गरेका छन् ।

कोरोनाभाइरस महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता समस्या सल्ट्याउन अमेरिका प्रतिबद्ध रहेको समेत उनले बताएका छन् । बीबीसीसँग कुरा गर्दै उनले कोभिड–१९ विरुद्ध विश्वब्यापी खोप कार्यक्रममा जोड दिए ।

भाइरसको उत्पति विषय अनुसन्धानका लागि पारदर्शिता नदेखाएको भन्दै उनले चीनको आलोचन गरे । ब्लींकेनका यी अभिव्यक्तिलाई डोनाल्ड ट्रम्पले लिएका विदेश नीतिमा हुने ब्यापक फेरबदलको संकेतको रुपमा हेरिएको छ । विश्वका धनी औद्योगिक राष्ट्रहरुको समूह जी–सेभेन भर्चुअल सत्रका लागि जुटिरहेको बेला ब्लिंकेनको यस्तो भनाइ आएको हो ।

एकवर्षभित्र विश्वका १९० देशका मानिसलाई दुई अर्ब मात्र खोप दिने उद्देश्य रहेको विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्ने भएको छ । विश्वका सबैले खोप नलाउँदासम्म कोही पनि सुरक्षित नहुने उनले बताए ।

भाइरस उत्पतिका विषयमा प्रकाश पार्ने सूचना उपलब्ध गराउन नसकेको भन्दै उनले चीनको विरोध गरे । इरानका विषयमा बोल्दै ब्लिंकेनले अमेरिका र उसका युरोपेली साझेदारहरु पुरानै अवस्थामा रहेको बताएका छन् । अफगानिस्तानमा विदेशी फौज राखिराख्ने विषयमा अमेरिकाले आफ्नो नीतिको समीक्षा गरिरहेको उनले बताए ।

बन्धक बनाइएकी दुबईकी शासककी छोरी लतिफा अल मुक्तमको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको उनले बताए । म्यानमारको सैन्य कूलाई उनले ऐतिहासिक लोकतान्त्रिक संक्रमणमा दुःखलाग्दो पश्चगमन भनेका छन् । चीनको सूचना जगतलाई कम खुलापन भन्दै ब्लिंकेनले बीबीसीलाई रोक लगाउने चिनियाँ कदमको विरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *