उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ? – Nepal Press

उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । तर, उक्त शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित थिए । उनीहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले व्यक्तिगत कुण्ठा र बकबास गरेको बताएका छन् ।

‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवम् कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन’ थापाले भनेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्‍घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिंड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढङ्गले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व उपकुलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू” को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदैथियो’ थापाले लेखेका छन्, ‘बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिष्कार र कर्तव्यच्युत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटका पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याईं गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, शपथग्रहण समारोह बहिष्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने/ टाँस्सिइरहने ? सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आ-आफ्ना निवासमा आयोजना गरिरहने – यो के रवैया हो ?

‘राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’ थापाले प्रश्न गरेका छन्, ‘पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर