सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड – Nepal Press

सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड

काठमाडौं । राष्ट्रिय महिला लिगको उत्कृष्ट फरवार्ड नेपाल पुलिस क्बलकी सावित्रा भण्डारी बनेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको लिगमा सावित्राले १० खेल खेल्दै ४३ गोल गरेकी थिइन् ।

दशौं खेलमा घाइते भएकी सावित्राले अन्तिमका दुई खेल गुमाएकी थिइन् भने एक वर्ष मैदान बाहिर रहने भएकी छन् ।

राष्ट्रिय महिला टोलीकी सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्राले चौदण्डिगढी नगरपालिकाविरुद्ध एपिएपले २२ गोल गर्दा एक्लै १२ गोल गरेकी थिइन् ।

सावित्राले कोरोनालाई जितेर फुटबलमा फर्किन पाउँदा खुशी भएको प्रतिक्रिया दिइन् । ‘पहिले १०-१२ दिनमा लिग सकिन्थ्यो, बाहिरका टोलीहरूको मोरल डाउन भइहाल्थ्यो,’ उनले भनिन्, ‘यस पटक डबल लिग भएकाले विभागीयबाहेकका टोलीले पनि पुनरागमन गरे । अन्तिम समयसम्म राम्रो खेल्न थालेका थिए ।’

‘विभागीय टोलीसँगै अन्य टोलीले पनि सुधार गरिरहेका छन्,’ उनले भनिन्, ‘एउटा खेलमा बाहेक, गत वर्षभन्दा कम गोल भएको देखियो । अर्को वर्ष अझै कम हुने र विभागीय टोली पनि अन्य टोलीसँग डराउने समय आउन सक्छ ।’

सावित्राले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *