विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ – Nepal Press

विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

चार समूहले बनाए सरकारविरोधी मोर्चा

रुपन्देही । रुपन्देहीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेता पक्राउ परेका छन् ।

बुटवलको ट्राफिकचोकमा भएको रणनीतिक संयुक्त मोर्चाको सभामा सहभागी भएका विप्लवका नेता भेषराज भुषाल र देवबहादुर केसी पक्राउ परेको मोर्चाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सो मोर्चामा विप्लव नेकपासहित वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी (माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका साना वामपन्थी पार्टी र समूहहरु रहेका छन् । मोर्चाले गिरफ्तार भुषाल र केसीको रिहाईको माग गरेको छ ।

केही दिन पहिला गठन भएको मोर्चाले बुटवलमा पहिलो सभा गरेको हो । मोर्चाले शान्तिपूर्ण कार्यक्रममा सहभागी भएर आफ्नो विचार राखेकै आधारमा पक्राउ गर्नुले सरकार अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त न्यूनतम अधिकारसमेत हनन गर्न चाहन्छ भन्ने प्रष्ट भएको जनाएको छ । मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषि कट्टेलले शुक्रबार पत्रकारसंग भने सरकारी दमनलाई परास्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

मोर्चाका नेता तथा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले सरकारले नागरिकका मौलिक अधिकारहरु हनन् गरेको बताए ।

सभासम्मेलन र लेख्नबोल्न पाउने नागरिकको मौलिक अधिकारमाथि सरकारले अवरोध गरेर फांसीबादी चरित्र देखायो– उनले भने । संयुक्त रणनैतिक मोर्चाको उद्वेश्य क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता गर्ने उद्वेश्य रहेको उनले बताए ।

उनले भने– तत्कालका लागि केही मतभेद भएकाले आपसी मतभेदलाई हल गरेर छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टबीच एकता हुनसक्ने अवस्था छ । रणनैतिक संयुक्त मोर्चाका नेता ऋषिराम कट्टेलले आस्थाका आधारमा नेता, कार्यकर्तालाई धरपकड गरेर झुटा चलाउने सरकारको पञ्चायती शैली धेरै दिनटिक्न नसक्ने दावी गरे । उनले वर्तमान व्यवस्था विस्थापित गरी जनताको राज्यसत्ता स्थापनाको उद्देश्य पूरा गर्नका लागि रणनैतिक संयुक्त मोर्चा गठन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *