नासा यानले मंगल ग्रहमा अवतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबाेट बनाउने घोषणा – Nepal Press

नासा यानले मंगल ग्रहमा अवतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबाेट बनाउने घोषणा

काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाको पर्सिभिअरेन्स रोबोट गएराति मंगल ग्रहको सतहमा अवतरण गर्‍यो । उक्त रोबाेटले रातो ग्रहमा जीवनको अस्तित्वको खोजी गर्नेछ ।

लगत्तै काठमाडौंस्थित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ नामक रोबाेट निर्माणको घोषणा गरे । केन्द्रले रोबाेटको प्रोटोटाइप निर्माण गरिरहेको उनले जानकारी दिए ।

नासाको मंगल मिसन सफल भएपछि उनले सामाजिक संजालमा रोबाेट बन्दै गरेको तस्विर पोस्ट गर्दै लेखे -अमेरिका र विकसित देशहरुले मात्र अनुसन्धान तथा विकास गरेर रोबोटहरु बनाउने भनेको छ र ? अर्काको डाहा गरेर मात्र हुँदैन । डाहा लाग्नेले काम पनि त गर्नुपर्‍यो नि ।’

महावीरले निर्माण गरिरहेको रोबाेटलाई आर्टिफिसियल इन्टिलेजेन्स प्रयोग गरेर कमर्सियल सर्भिस रोबाेटको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । १० जना इन्जिनियरले चार महिनादेखि मीना रोबाेट बनाइरहेको पनि महावीरले उल्लेख गरेका छन् ।

रोबाेट निर्माणको नेतृत्व चाहिं अमेरिकाको टेक्ससमा कार्यरत सन्देश पाण्डेले गरिरहेका छन् । नासा र राष्ट्रिय आविष्कार केन्द्रलाई तुलना नगरी हौसला प्रदान गर्न पनि महावीरले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर