लोकतन्त्रले प्रजातन्त्र हाइज्याक गर्‍याे (भिडियोसहित) – Nepal Press
सन्दर्भः प्रजातन्त्र दिवस

लोकतन्त्रले प्रजातन्त्र हाइज्याक गर्‍याे (भिडियोसहित)

‘राजा महेन्द्र खलनायक, ज्ञानेन्द्रमा मन्दवुद्धि, त्रिभुवन र वीरेन्द्रमा ‘सेन्स आफ हिस्ट्री’

झन्पछि झन् प्रजातन्त्रको महत्व बढ्दैछ र बुझिंदैछ । त्यसबखत बाहिरी विचारधाराको प्रभावले गर्दा मैले नै पनि प्रजातन्त्रको महत्व खासै बुझेको थिइनँ । तर, अहिले आएर प्रजातन्त्र र त्यो बेलाको आन्दोलनको युगान्तकारी महत्व बुझेको छु ।

प्रजातन्त्रका लागि आन्दोलनमा लाग्दा मैले १७ शताब्दीको केटो २०औं शताब्दीमा हाम फालेको जस्तो अनुभव भयो । यसबारे मैले ‘डिल्लीबजारको लप्टनको होटल’ निबन्ध संग्रहमा उल्लेख गरेको छु ।

०७ सालअघि नै म राजनीतिक आन्दोलनमा प्रत्यक्ष सरोकार राख्ने नागरिक थिएँ । त्यतिबेलाको विद्यार्थी आन्दोलनमा भाग लिएको थिएँ । जब कार्तिक २३ गते हवाईजहाजबाट पर्चा छरियो अनि राजा त्रिभुवन दिल्लीको शरणमा गए तब मेरो विचारमा कायापलट भयो ।

पुष्पलालसँगको भेटपछि कम्युनिष्ट !

२००७ सालमै कसरी कम्युनिष्ट भएँ ? भन्ने अहिले पनि सम्झन्छु । खासमा म हुनेखाने वर्गकै मान्छे थिएँ । तर राजनीतिक चेतना र संगतले मलाई कम्युनिष्ट बनायो ।

कलकत्ता पढ्न गएँ, कम्युनिष्ट साथीहरूसँग संगत भयो । हिक्मतसिंह भण्डारी र म एउटै कोठामा बस्थ्यौं । उनले एकदिन पुष्पलाललाई कोठामै लिएर आए । पुष्पलालसँग मेरो प्रेम भयो । देख्नेवित्तिकै उनी चमत्कारी व्यक्तित्वजस्तो लाग्यो । उनले पनि मलाई प्रभाव पारे, मैले पनि पारेछु । त्यसपछि कलकत्ताबाटै म कम्युनिष्ट कार्यकर्ताको रुपमा उदाएँ ।

प्रजा परिषदमा मेरा दाइ भए पनि १९९७ सालमा दशरथ, धर्मभक्तलाई झुण्ड्याएको हेर्न जान लागेका थियौं, तर जान दिइएन । त्यसले राणाहरूविरुद्धको विद्रोह पलाएको थियो ।

त्यसपछि २००४ सालपछिको विद्यार्थी आन्दोलनले विद्रोही चेतलाई अझै बढायो । त्यसपछि निरन्तर कम्युनिष्ट आन्दोलनमा लागें ।

नेपालको क्रान्तिको एउटा विशिष्ट चरित्र छ, जसलाई अमेरिकन इतिहासकार फिसरले मात्र बुझे । उनले टंकप्रसाद र उनकी श्रीमतीको इतिहास लेख्दा भनेका छन्– नेपालमा करिब उस्तै वर्गका मानिसबीच संघर्ष छ । यसकारण नेपालको आन्दोलन विशिष्ट छ ।

संघर्ष र क्रान्ति विरोधी वर्गको हुन्छ । पूँजीपति र मजदूर, सामन्त र किसानबीचको हुन्छ । तर यहाँ त राणाको उच्च तहमा भएका व्यक्तिका छोराहरूबीच संघर्ष भएको देखिन्छ । २००७ सालको क्रान्तिमा होमिएका युवा राणाको दरबारमा पनि थिए ।

विद्यार्थी राजनीतिको शक्ति

नेपालका प्रजातन्त्र आउनुको ठूलो श्रेय विद्यार्थी आन्दोलनलाई दिनुपर्छ । अरु देशमा देशमा राजनीतिक पार्टीले विद्यार्थी आन्दोलन चलाए । नेपालमा विद्यार्थी आन्दोलनको फलस्वरुप राजनीतिक पार्टीहरूको उदय भयो । यो पनि नेपालको क्रान्तिको विशेषता हो ।

इतिहासकारहरू यो कुरा पत्याउँदैनन् । यसलाई हाम्रो इतिहासकाहरूले कहिल्यै श्रेय दिएनन् । ०९७ साल, ०७ सालदेखि ०६२/६३ को जनआन्दोलन मैले प्रत्यक्ष नियालेको छु । यी महत्वूर्ण आन्दोलनमा विद्यार्थी सक्रिय थिएँ । तर, ०६२/६३ को आधा पाटोमा भारतको हस्तक्षेप भयो । गणेशमान र मदन भण्डारीले नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको निम्ति जुन क्रान्ति गरेका थिए, लोकतन्त्रले त्यसलाई ‘हाइज्याक’ गर्‍याे। अहिले प्रजातन्त्रको नाम लिंदैनन् । नाम लियो भने जात जान्छ भन्ठान्छन् । प्रजातन्त्र नभनेर लोकतन्त्र भन्छन् ।

०४६ सालको मौलिक आन्दोलन

२०४६ सालको आन्दोलनमा विदेशी चलखेल भए पनि गणेशमान र मदन भण्डारीको सुझबुझले क्रान्ति मौलिक भयो । त्यसैगरी पुष्पलालले ०७ सालको क्रान्तिको विरोध गर्दागर्दै पनि त्यो क्रान्तिले उठाएका प्रश्नहरूलाई जीवनमा ल्याए ।

कम्युनिष्टहरू राष्ट्रियता मान्दैनन्, उनीहरुमा देशप्रेम हुँदैन भन्थे । पुष्पलालले नेपालका कम्युनिष्टहरूलाई देशभक्त बनाए । भारतीय हस्तक्षेपको विरुद्धमा आवाज उठाएकै पुष्पलालले हो । ०७ सालबाट यो आवाज उठेको हो ।

डिल्लीबजारको चोकमा मैले नेहरुलाई कालो झण्डा देखाएँ । त्यो दिन मैले भाषण गर्दा त्रिचन्द कलेजका शिक्षकले भनेका थिए, ‘बाबु तपाईंले साह्रै मीठो भाषण गर्नुभयो ।’

त्यतिबेला पुष्पलालले क्रान्ति अधुरो भएको बताएका थिए । तर, त्यो क्रान्तिबाट प्राप्त उपलब्धिलाई रक्षा गर्ने नै पुष्पलाल र टंकप्रसाद भए । हो, हामीले राष्ट्रियताको विषय उठायौं । सार्वभौमसत्ताको विषय उठायौं, भारतीय हस्तक्षेपको विरोध गर्यौं, अंग्रेज तथा अमेरिकन साम्राज्यवादको विरोध गर्यौं । अहिले मखनटोलको भित्तामा गएर सुन्ने हो भने अझै पनि जिन्दावाद र मुर्दावादको आवाज सुन्न सकिएला । त्यसरी हामीले स्वाधीनताका निम्ति आन्दोलन गर्यौं । के थियो र त्यसबखत ? कहाँ पुग्थ्यो हाम्रो खबर ? तर, हरेक दिन १२ वटा कर्नर मिटिङ त मै गर्थें ।

त्यतिबेला हामीलाई मुक्ति सेनाले पिट्थे । कतिको हत्या गरे । तर, डर फिटिक्कै भएन ।

राजाहरुका विशेषता

२०४६ सालको आन्दोलन सफल पार्न राजा वीरेन्द्रले सहयोग गरेका थिए । वीरेन्द्रले सरेन्डर नगरेको भए भारतीय हस्तक्षेप हुन्थ्यो । खासमा ज्ञानेन्द्र र वीरेन्द्रबीचको फरक यहीं हो । ज्ञानेन्द्रले ०६२/६३ मा ०४६ मा वीरेन्द्रले जस्तो गरेको भए काण्डै अर्को हुन्थ्यो ।

१९९७ सालमा त्रिभुवनको प्रजा परिषद्सँग सम्बन्ध थियो । ०७ सालमा उनी दिल्ली नउडेको भए क्रान्ति हुन अझै समय लाग्थ्यो । ०७ सालपछिको राजनीतिक परिवर्तनलाई हाँक्ने काम टंकप्रसाद आचार्यले गरेका हुन् । र पुष्पलालले नयाँ आयाम दिने काम गरेका हुन् ।

तर पछि राजा महेन्द्र खलनायक भए । उनलाई इतिहासले राजर्षि राजा हुने मौका दिएको थियो । महत्वाकांक्षाका कारण उनले त्यो मौका गुमाए । टंकप्रसादले त्यतिबेला जति काम गरेका थिए, त्यसको श्रेय राजालाई पनि दिएका थिए ।

टंकप्रसादले चीनसँग सम्बन्ध बढाए, नेपालमा औद्योगिक विकास गरे, शिक्षाको विकास गरे, आर्थिक विकास गरे । यी सबै काम राजासँग सम्बन्ध राखेर नै गरेका थिए । तर, राजाले आफूमाथि खतरा देखेर टंकप्रसादलाई निकाले । राजा महेन्द्र खलनायकका रुपमा आए, ज्ञानेन्द्रमा मन्दबुद्धि भयो, त्रिभुवन र वीरेन्द्रमा चाहिं ‘सेन्स अफ हिस्ट्री’ थियो ।

प्रजातन्त्र बुझेका गणेशमान

गणेशमान नेपाली कांग्रेसका प्रभावशाली नेता । उनलाई बोलाएर राजा वीरेन्द्रले प्रधानमन्त्री दिन खोजे । गणेशमानले लिएनन् । पछि कृष्णप्रसादले नै गणेशमानको मिसनलाई फेल गरे । गणेशमान प्रजातन्त्र पुनःस्थापनालाई संस्थागत गर्न चाहन्थे ।

आफ्नै पार्टीका लोकतन्त्रवादीहरूले उनलाई ‘कु’ गरे । झापामा दुर्घटना गराए । गणेशमानजस्तो व्यक्तित्व पछिल्लो समय राजनीतिविहीन हुनु हाम्रो लागि दुर्भाग्य थियो । हामीले राजनीति गर्दा गणेशमानको विरोध गर्यौं । तर, उनको महत्व बुझ्ने हामीबाहेक कोही भएनन् । अहिले प्रजातन्त्र बुझ्ने नेपाली कांग्रेसमा कोही छैन ।

पटक–पटक प्रजातन्त्रको लागि लडाइँ

प्रजातन्त्रकै निम्ति ०७ सालदेखि अहिलेसम्म पनि पटक–पटक लड्नुपर्ने अवस्था छ । शासकहरूले आफ्नो कर्तव्य नबुझेर यस्तो भएको हो । प्रजातन्त्र भनेको सुशासन, कानूनको राज्य, संसदीय व्यवस्था, जनताको कल्याण हो । यसैमा घात भएपछि अवसरवादीहरू मौलाउँछन् ।

अहिले १८ हजार नेपाली जनता मारेका मान्छेहरूले ‘प्रजातन्त्र हामी ल्याउँछौं, हामी संसदवादी भनेको सुहाउँदैन’ भनिरहेका छन् । यिनीहरूले गरेको गल्ती २०औं वर्षसम्म जनताले भोगिरहेका छन् । प्रजातन्त्रमाथि बारबार धोका हुँदै गयो, यसको मूल्यमान्यतामाथि प्रहार हुँदै गयो । प्रजातन्त्र विस्थापित हुँदै गयो । अवसरवाद मौलायो ।

प्रजातन्त्रका लागि गरिएका संघर्ष मैरै आँखाले देखेको छु । त्यो कसले बुझ्छ अहिले ? गोपालप्रसाद रिमालले भनेका छन्, ‘एक युगमा एक दिन एक चोटि आउँछ ।’ युगान्तकारी परिवर्तनलाई हामीले किन भुल्छौं ?

(नेपाल प्रेसका समर्पण श्रीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *