बहसमा राजा त्रिभुवन

‘भारतीय दूतावासमा शरण लिन जानु त्रिभुवनको ऐतिहासिक भूल थियो’

काठमाडौं । नेपालको इतिहासमा एक महान् प्रजातन्त्रवादी राजाका रूपमा स्थापित छन्, त्रिभुवन वीरविक्रम शाह । जहानियाँ राणाशासन ढालेर २००७ सालमा प्रजातन्त्र स्थापना गर्न उनले निर्णायक भूमिका खेलेको विश्वास गरिन्छ । ‘राष्ट्रपिता’ को अनौपचारिक उपमा पनि उनलाई प्राप्त छ ।

तर, त्रिभुवनको कार्यकाललाई मिहिन ढंगले विश्लेषण गर्दा उनको शासकीय कौशलमाथि भने प्रश्न उब्जाउने यथेष्ट ठाउँ छन् । उनको शासनकालबाटै नेपालको राजनीतिमा छिमेकी भारतले खुला परेड खेल्न थालेको हो । नेपालमा प्रजातन्त्र ल्याउन आफूलाई सघाएको भनेर त्रिभुवन भारतप्रति अति नतमस्तक बनेको विभिन्न उदाहरणले पुष्टि गर्छन् । उनको पालामा नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय राजदूत सशरीर उपस्थित हुन्थे । त्रिभुवनको भारतपरस्त नीतिलाई पछि महेन्द्रले तोडेका थिए ।

राजनीतिक विश्लेषक तथा अध्येता सौरभको भनाइमा त्रिभुवनले राजगद्दी छोडेर भारतीय दूतावासमा शरण लिनु उनको रणनीतिक गल्ती थियो । त्यही विन्दुबाट नेपालमा भारतीय चलखेलको क्रम शुरू भएको र आजपर्यन्त जारी रहेको उनी स्वीकार्छन् ।

सौरभ खुलस्त रूपमा भन्छन्, ‘नेपालमा प्रजातन्त्र ल्याउन त्रिभुवनको योगदान छ, तर यस क्रममा उनले गरेका गल्तीहरूलाई नजरअन्दाज गर्न सकिंदैन । उनी प्रजातन्त्रवादी राजा हुँदाहुँदै पनि ‘राष्ट्रपिता’ कहलाउन चाहिं योग्य होइनन् ।’

प्रजातन्त्र दिवसको सन्दर्भमा राजा त्रिभुवनका विविध पक्षहरूमाथि केन्द्रित भई नेपाल प्रेसले गरेको वार्तालाप यहाँ प्रस्तुत छः

२००७ सालको परिवर्तनमा राजा त्रिभुवनको भूमिकालाई तपाईंले आजको विन्दुबाट फर्किएर हेर्दा कसरी मूल्यांकन गर्नुहुन्छ ? उनले राजगद्दी छोडेर विदेशी दूतावासमा शरण लिन जानु राष्ट्रियताको दृष्टिकोणले कति सही वा गलत कदम थियो ?

त्रिभुवनले आफ्नो पालामा एक–दुईवटा काम गरे, जसको असर चिरकालसम्म परिरह्यो । हो, नेपालमा प्रजातन्त्र अत्यावश्यक थियो । राणाकालको अन्त्य हुनैपथ्र्यो । त्रिभुवनले एउटा निरंकुश व्यवस्थाबाट जनतालाई उन्मुक्ति दिएकै हुन् । तर, त्यस क्रममा उनले ‘ट्याक्टिकल्ली’ सही कदम चाल्न सकेनन् । ढंगसँग विचार पुर्‍याएनन् । जसले गर्दा हामीले आजसम्म निरन्तर दुःख पाइरहेका छौं ।

त्रिभुवन राणाशासनलाई जरैदेखि उखेलेर फाल्न चाहन्थे । त्यो उद्देश्य राख्दा उनले अरू कुराहरूलाई गौण सम्झिदिए । चाहे पातालै उल्टियोस् कि, आफ्नो गद्दी नै गुमोस् कि, देशै भड्खालोमा जाओस् कि उनलाई मतलब भएन । असाध्यै हतारिए । हतारिएर भारतीय दूतावासमा शरण लिन पुगे । नेपाललाई भारतले कज्याउन शुरू गरेको त्यहींबाट हो । बीचमा महेन्द्रले छेकवार गरेका हुन् । तर, उनको अवसानपछि फेरि उही सिलसिला दोहोरिएको छ, र आजपर्यन्त यो जारी नै छ ।

‘मरता क्या न हिं करता’ भनेजस्तो त्यसबेला उनीसित अरू विकल्प नभएका हुन् कि ?

विकल्पै नभएको होइन । सात सालभन्दा अलिअघि त्रिभुवनलाई भगाएर पाल्पा लैजाने र रुद्रशमशेरको सुरक्षामा राख्ने भनेर बीपी कोइराला र सुवर्णशमशेरले योजना बनाएका थिए । रुद्रशमशेर त्यसबेला पाल्पाको तैनाथवाला थिए ।

रुद्रशमशेरले राजालाई लुकाउने विषयमा एउटा शर्त राखेका थिए । उनको शर्त थियो– त्यहाँ आउनेवित्तिकै राजाले मोहनशमशेरलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेको कागज मलाई बनाएर दिनुपर्छ । त्यसमा त्रिभुवन सहमत पनि भएका थिए । तर, यो योजना एरिका ल्युकट्यागको मुखबाट तत्कालीन भारतीय राजदूत सीपीएन सिंहको कानमा चुहियो । अनि, लैनचौरले त्रिभुवनलाई आफैंले भगाउने योजना बनायो ।

एरिका त्रिभुवनको छोरीको उपचारका लागि भारतबाट ल्याइएकी ब्रिटिश नर्स थिइन् । त्रिभुवनको उनीसँग घनिष्ठ सम्बन्ध थियो । त्रिभुवनले धेरै कुरा उनीसँग सेयर गर्ने, अनि उनले लैनचौरमा सुनाउने । उनले नै त्यसबेला गडबडी गरेकी हुन् ।

भारतले त्रिभुवनलाई भगाउन चाहनुको पछाडि उसको स्वार्थ चाहिं के थियो ?

त्यो त स्पष्टै छ नि ! राजालाई आफ्नो हातमा लिएपछि त जे पनि गर्न पाइयो । भारतको प्रवृत्ति अहिले जस्तो छ नि, त्यसबेला पनि त्यस्तै हो । दुई शक्तिलाई भिडाएर आफ्नो स्वार्थपूर्ति गर्न भारत त्यतिबेलादेखि नै अभ्यस्त थियो । तर, हाम्रा राजाले त्यो बुझेनन् । अनि भारतीय रणनीतिको जालमा परे र सबै कुरा गोलमाल भयो ।

यद्यपि, यसमा त्रिभुवनलाई अलिकति ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ । त्यो बेला काठमाडौंबाट पाल्पा पुग्न पनि बाटोघाटोका कारणले धेरै समय लाग्थ्यो । त्यहाँ नपुग्दै राणाहरूले भेउ पाउन सक्थे । हुन त त्यहाँको तीर्थस्थल रिडी जाने बहानामा गएको भए पनि हुन्थ्यो । तर, त्रिभुवनले लैनचौर नै जान सजिलो सम्झिए ।

त्रिभुवनले नेपालमा प्रजातन्त्र ल्याउने उद्देश्यले मात्रै आफ्नो गद्दी दाउमा लगाएका थिए वा राणाशासन फ्याँकेर आफू शक्तिशाली बन्ने महत्वाकांक्षाले उनलाई बढी उत्प्रेरित गरेको थियो ?

शक्तिशाली बन्ने चाहना त थियो होला । राणाको बन्धनमा बस्न उनलाई सकस नै थियो । राणा फालेपछि उनी स्वतः शक्तिशाली हुन्थे । त्यसर्थ व्यक्तिगत स्वतन्त्रता उनले चाहेका हुन् । जहाँसम्म प्रजातन्त्रको कुरा छ, त्यो समयमा त्रिभुवनमा प्रजातन्त्रको विषयमा त्यति गहिरो ज्ञान र गम्भीरता थियो जस्तो लाग्दैन । यत्ति हो कि उनी राणाको बन्धनभित्र बस्न चाहँदैनथे ।

त्रिभुवनलाई आफ्नो नियन्त्रणमा राखेपछि भारतको तत्कालीन रणनीति चाहिं के थियो ?

त्रिभुवनलाई लगेर हैदरावाद हाउसमा राखेपछि भारतमा दुईवटा खेमा खडा भए । एउटा जवाहरलाल नेहरू खेमा र अर्को बल्लभभाइ पटेल खेमा । नेहरूको कुरा के थियो भने नेपाल, भूटान र सिक्किमको चीनसँग सीमा जोडिएको हुनाले उनीहरूको स्वतन्त्रतालाई डिस्टर्व गर्दा सीधै चीनसँग सीमामा ‘कन्फ्रन्टेसन’ शुरू हुन्छ । त्यसैले छुनुहुँदैन भन्ने थियो । बलल्भभाइ पटेल खेमाको चाहिं यही मौकामा नेपाललाई भारतको अधीनमा पार्नुपर्छ भन्ने थियो ।

हैदराबाद हाउसमा पटेलले आफ्नो टिम पठाएर बिहान ११ देखि ४ बजेसम्म एउटा दस्तावेजमा सही गर्न त्रिभुवनलाई निकै दबाब दिए । त्रिभुवनले त्यसलाई विभिन्न बहाना बनाएर छलेको छल्यै गर्नुप¥यो । यदि त्यसमा सही गरेको भए नेपालको स्वतन्त्रता गुम्न पनि सक्थ्यो ।

के दस्तावेज थियो त्यो ?

त्यही नेपाल इण्डियालाई सुम्पिने ! ‘नेपालको छोडिए, कुछ नहिं होगा । आप राजा हि रहेंगे । भत्ता मिलेगा ।’ भनेर अनेक तरहले फकाउन खोजेका हुन् । तर, जब नेपालमा राणाहरूले बालक ज्ञानेन्द्रलाई राजगद्दीमा राखे, अनि बल्ल उनीहरू हच्किए । वास्तवमा राणाहरूले गद्दी खाली नै छोडेको भए, त्यसबेला नेपालको स्वतन्त्रता अप्ठेरोमा पर्न सक्थ्यो ।

त्रिभुवनले दरबार छोड्ने बेला आफ्नो श्रीपेच लुकाएर गएको र राणाले ज्ञानेन्द्रलाई श्री ३ कै श्रीपेच लगाइएको भन्ने कति सत्य हो ?

त्यो त मलाई थाहा भएन । श्रीपेचको कुरा गर्नुभयो । एउटा सन्दर्भ चाहिं मैले पढेको छु । २००७ सालपछि एकपटक त्रिभुवनलाई जेनेभा भ्रमणमा जाने बेला पैसाको असाध्य खाँचो भएको थियो । त्यसैले पैसाको जोहो गर्नका लागि उनले श्रीपेचका बहुमूल्य पत्थरहरू बेचेका थिए । पछि राजा महेन्द्रले नयाँ श्रीपेच बनाएको जस्तो लाग्छ ।

विदेश भ्रमणमा जान पनि पैसा नहुने अवस्था थियो र त्यो बेला ?

एकदमै थियो । राणा प्रधानमन्त्रीको र देशको एउटै ढुकुटी हुन्थ्यो, जसलाई मुलुकी खाना भनिन्थ्यो । त्यसलाई राणाहरूले आफ्नै निजी सम्पत्तिको रूपमा लिएका थिए । देश त तन्नम नै थियो ।

दिल्लीमा राजा त्रिभुवन

सात सालपछि त राष्ट्रिय ढुकुटीमा राणाहरूको पहुँच थिएन नि ?

सात सालमा त उनीहरूले सबै सिध्याएर गइहाले नि ! के थियो र ? श्रीपेचका पत्थरहरू त्रिभुवनले बेचेको जानकारी मलाई त्यो बेला राजालाई पैसा सापटी दिने परिवारबाटै आएको हो ।

प्रजातन्त्र आएपछि नेपालमा भारतीय हस्तक्षेप उत्कर्षमा पुग्यो । यसमा त्रिभुवन मात्रै दोषी छन् कि त्यसबेलाका नेताहरू पनि ?

त्रिभुवन भारतप्रति आवश्यकताभन्दा धेरै कृतज्ञ बने । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला पनि भारतभक्त थिए । अरू नेताहरू भारतमै पढेर आएका, भारतमै आश्रय लिएका । भारतले भनेको नमान्ने कोही भएन ।

नेहरूले जे भन्छन्, त्रिभुवनले त्यही गर्दै गए । यतिसम्म कि नेपालको राष्ट्रिय झण्डाको स्वरुप बदलेर भारतको जस्तै चारकुने बनाउने प्रस्ताव पनि त्रिभुवनले अघि बढाएका हुन् । तर, महेन्द्रले नमानेपछि उनी सफल भएनन् ।

सीपीएन सिंह नेपालको मन्त्रिपरिषद बैठकमै जबरजस्ती बस्थे । यो कुरा कसैलाई पचेको थिएन । तर, पनि त्रिभुवनले केही गर्न सकेनन् ।

हुन त त्यसबेलाको अवस्थामा त्रिभुवनसँग पढेलेखेका मान्छेहरू पनि थिएनन् । राणाहरूले सारा नेपालीको व्यक्तित्व दलन गरेर सिध्याएका थिए । राजालाई सल्लाह दिने विज्ञहरू पनि भएनन् । यसको फाइदा भारतीयहरूले उठाए । उनीहरूले त्रिभुवनलाई चारैतिरबाट घेरे । उनले पनि भारतको कुनै कुरा काट्न सकेनन् ।

त्यसोभए त्रिभुवनलाई ‘भारतपरस्त’ मान्न सकिन्छ ?

भारतपरस्त नै त नभनाैं । दासै भएको त होइन । तर चाहिनेभन्दा बढी गुणग्राही भएको अवश्य हो ।

म राजा त्रिभुवन र तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीमा गज्जबको समानता देख्छु । मनमोहन जब प्रधानमन्त्री भए, त्यसबेला उनीसँग निकट एक पत्रकारले सुनाएको कुरा । मनमोहन कुर्सीमा एक्लै बसेका बेला आफ्नै सुरमा मुसुमुसु हाँसिरहन्थे रे ! त्यो किनभने उनलाई वास्तवमा प्रधानमन्त्री बन्छु भन्ने नै थिएन । त्यसैले प्रधानमन्त्री बनेपछि उनमा भयंकर आत्मसन्तोषको भाव पैदा भयो । अब बाँकी आर्जन गर्न केही बाँकी भएन भनेजस्तो । त्यही खुशी उनको अनुहारमा मुस्कानका रूपमा प्रकट हुन्थ्यो ।

त्रिभुवन पनि त्यस्तै हो । प्रजातन्त्र आएपछि उनको सबै इगोहरू समाप्त भए । अरू कुरा जेसुकै होस, केही मतलब गरेनन् उनले । आफू बन्धनमुक्त हुनु नै ठूलो कुरा भयो त्रिभुवनका लागि । त्यसकै गुन तिर्न उनी भारतको आज्ञापालक बनेर बसे ।

भारतकै विषयलाई लिएर राजा त्रिभुवन र महेन्द्रबीच ‘टसल’ हुने गरेको चाहिं कति सत्य हो ?

त्रिभुवन र महेन्द्रबीच सम्बन्ध सुमधुर थिएन । दूरी थियो । तर, त्यो हुनुको मुख्य कारण चाहिं भारत नभएर राणाहरूलाई हेर्ने दृष्टिकोण हो जस्तो लाग्छ । त्रिभुवनलाई राणाको ‘र’ पनि सुन्नु थिएन । महेन्द्रले चाहिं राणाकै छोरी विवाह गरे । जबकि त्रिभुवन उनको विवाह भारतमा नै होस् भन्ने चाहन्थे । त्रिभुवनका दुवै रानी भारतीय हुन् । महेन्द्रले चाहिं भारतमा विवाह गर्न चाहेनन् र राणा परिवारसँग सम्बन्ध गाँसे ।

महेन्द्रको निर्णयबाट रुष्ट भएर त्रिभुवनले उनको विवाह समारोह पनि बहिष्कार गरेका हुन् ?

त्यसै भन्छन् । एउटा छापिएकै भर्सन पनि छ । मैले पहिले सुनेको, पछि छापिएर कतै आएको छ । त्यो के भने लैनचौरमा एउटा गेम हुँदैथियो । शायद ब्याडमिन्टन वा केही हुनुपर्छ । राजा त्रिभुवन त्यहाँ पुगेका थिए । त्यहीबेला बीपी कोइरालाले त्रिभुवनलाई चिया पिउने रुममा बसिरहेका राजालाई लगेर एउटा खाम दिए । त्यो खाममा महेन्द्रको चिठी थियो । भनिन्छ, त्यो चिठीमा उनले रत्नसँग विवाह गर्न नपाए युवराजबाटै राजीनामा दिने चेतावनी दिएका थिए । त्यतिसम्म टसल भएको थियो ।

‘रे’ को कुरा के पनि छ भने इन्द्रराज्यलक्ष्मीको असामयिक निधन भएको खबर सुनेपछि महेन्द्रले ‘काँडै पन्छियो’ भनेका थिए । तर, फेरि पनि महेन्द्रले राणाकै छोरी बिहे गरे ।

महेन्द्रको चाहिं राणाहरूप्रति आसक्तिपन किन थियो ?

एकप्रकारले उनको बाध्यता नै हो । त्यसबेला नेपालमा अलि पढेलेखेका, देश–विदेश घुमेका, टाठाबाठा भन्ने राणाहरू नै थिए । अरू नेपालीले त्यो खालको व्यक्तित्व बनाउनै सकेका थिएनन् । महेन्द्रलाई शासन सञ्चालन गर्न सहयोगी हात त चाहियो । रोलवाला भएकाले ‘ए क्लास’ राणाहरू दरबारसँग चिढिएका थिए । त्यसैले महेन्द्रले ‘सी क्लास’ राणाहरूलाई हातमा लिएका हुन् । यसरी महेन्द्रले स्पेस दिएका राणाहरू धेरै छन् ।

त्रिभुवनले महेन्द्रलाई राजा हुनबाट रोक्न पनि कुनै चलखेल गरे ?

चलखेल त गरेनन् । तर, यति हो कि महेन्द्र राजा बन्ने कुरामा उनी खुशी चाहिं अवश्य थिएनन् । त्रिभुवनका प्रिय चाहिं महेन्द्रका भाइ बसुन्धरा थिए ।

नासल चोकमा महेन्द्रको राज्याभिषेक भयो । मैले सुनेअनुसार राज्याभिषेक भइरहँदा बसुन्धरालाई हिमालयले कोठाभित्र थुनेर झ्यालबाट बन्दूक ताकेर राखेका थिए । उनले केही गडबडी नगरुन् भनेर । यो कुरा मलाई पुरुषोत्तमशमशेर राणाले भन्नुभएको हो । उहाँले किताबमा पनि लेख्नुभएको छ ।

महेन्द्र र बसुन्धराको कुनै तुलनै हुँदैन । बसुन्धरा सुरा–सुन्दरीका कारण बदनाम थिए । विदेशी महिलाहरूसँग हिमचिमदेखि मूर्ति तस्करीसम्मका विवादमा मुछिएका थिए । महेन्द्रको छवि अर्कै थियो । उनीसँग शासन सञ्चालनको क्षमता र दूरदर्शिता थियो । त्रिभुवनले यो देखेनन् ।

त्रिभुवनले जसरी भारतीय हस्तक्षेपलाई रेड कार्पेट ओछ्याएर खुल्ला आमन्त्रण गरे, त्यसलाई महेन्द्रले तोडेका हुन् ?

अवश्य हो । महेन्द्रले गरेका धेरै काम यस्ता छन्, जसले नेपालमा भारतीय दवदवालाई मत्थर बनायो । सबैभन्दा पहिला आउँछ, पूर्व–पश्चिम राजमार्ग । कसरी हुन्छ नेपालीलाई देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जाँदा इण्डियाको बाटो जानु नपरोस् भन्ने उनी चाहन्थे । त्यसबेला पूर्वबाट पश्चिम होस् वा पश्चिमबाट पूर्व जाँदा भारतको रेल्वे स्टेसनहरू भएर जानुपर्ने बाध्यता थियो । हामीकहाँ बाटो थिएन । महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाए ।

त्यसबेला नेपाली नोटको तुलनामा इण्डियन पैसाको चल्ती व्यापक थियो । महेन्द्रले त्यसलाई रोके । हरेक उपाय लगाएर सबैतिर नेपाली पैसा प्रवाह गरे । कतिसम्म भने जहाँ बाटो पुग्दैन, त्यहाँ प्लेनबाट पैसा खसाउन लगाए । नेपाली झण्डा फेर्न रोकेको अघि नै भनिहालें ।

अनि, नेपाल संयुक्त राष्ट्रसंघमा कसैगरी नपुगोस् भन्ने भारत चाहन्थ्यो । तर, यूएनको सदस्यता नेपाललाई कति आवश्यक छ भन्ने महेन्द्रले बुझेका थिए । उनले सदस्यता दिलाएरै छाडे । सम्भव भएसम्म कुनै पनि अन्तर्राष्ट्रिय फोरम उनले छोडेनन् ।

महेन्द्रले अनेक खेल खेलेर नेपालमा अमेरिकन र रसियन एम्बेसी एकैपटक ल्याए । इण्डियालाई थाहै नदिई उनले दुई शक्ति राष्ट्रसँग यसरी सम्बन्ध विस्तार गरेका थिए । त्यसबेला भारतले आफ्नो राजदूत (शायद भगवान सराय थिए क्यारे) लाई स्पष्टीकरण नै सोधेको थियो । राजदूत आफूलाई थाहा नदिएको भनेर दरबारमा गएर रोएकै हुन् ।

इण्डियाले उत्तरी सीमामा राखेका सैन्य क्याम्पहरू महेन्द्रले नै हटाए । उनले चीनसँग बाटो पनि खोले । शिक्षाको क्षेत्रमा पनि उनले काम गर्न भ्याए । त्यसबेला नेपालीहरू पटना, इलाहावाद गएर परीक्षा दिन्थे । भारतीय कोर्स पढ्थे । भारतीय इतिहास र संस्कृति नेपालीले पढ्नुपथ्र्यो । महेन्द्रले त्रिभुवन विश्वविद्यालयको स्थापना गरेर त्यो बाध्यता पनि अन्त्य गरे ।

यस्ता कामको सूची लामो छ । सारा आधारशिला महेन्द्रले निर्माण गरेका हुन् । वीरेन्द्रले त के गरे र ? उनलाई त बपौती परेको हो । उपरखुट्टी लगाएर बसे, सुविधाभोग गरे । काम केही गरेनन् । म त उनलाई ‘ल्वाँदे राजा’ भन्छु ।

भारतलाई थाहा नदिइकन अमेरिका र रूसको दूतावास खोलेको भन्नुभयो । त्यसबेला सञ्चारप्रविधिको आजजस्तो विकास भएको थिएन । महेन्द्रले कसरी अमेरिका र रूससँग गुप्त ढंगले समन्वय गरे त ?

सुनिएको कुरा के हो भने महेन्द्रले टंकप्रसादलाई एउटा खामबन्द चिठी दिएर चीन पठाए । यो चिठी नखोल्नु भनेका थिए । टंकप्रसादले त्यसै गरे । उनी बेइजिङ पुगेर त्यहाँ रहेका रसियन राजदूतलाई चिठी ह्यान्डओभर गरेका थिए । त्यसैका आधारमा नेपालमा दूतावास खोल्ने प्रक्रिया गोप्य रूपमा अघि बढेको देखिन्छ ।

महेन्द्र अत्यन्त चतुर राजा थिए । तपाईंले धेरै फोटोहरूमा उनले कालो चश्मा लगाएको देख्नुभएको होला । उनको आँखा डेढो भएकाले चश्मा लगाएको भन्ने गरिन्छ । अलिकति डेढो पनि हो । तर, मेरो विचारमा कालो चश्मा लगाउनुको कारण त्यो मात्रै होइन ।

महेन्द्र कुनै विदेशीसँग भेटवार्ता गर्दा प्रायः कालो चश्मा लगाउने गर्थे । खासगरी भारतीयहरूसँग । उनी आफ्नो आँखाको ‘मूभमेन्ट’ अर्कोले थाहा नपाओस् भन्ने चाहन्थे । एकपटक नेहरूसँग वार्तामा बस्दा महेन्द्रले कालो चश्मा लगाएपछि नेहरूले खोल्न आग्रह नै गरेका थिए । नेहरू महेन्द्रको आँखाको मूभमेन्ट हेर्न चाहन्थे भने महेन्द्र लुकाउन । यस्ता सानासाना कुराहरूले पनि महत्व राख्छन् कूटनीतिमा ।

त्रिभुवनलाई प्रजातन्त्रप्रेमी भनिरहँदा १९९७ सालमा जब चार युवाहरूलाई मृत्युदण्ड दिइयो, त्यो निर्णयमा त्रिभुवनकै लाहछाप थियो भनिन्छ । एउटा प्रजातन्त्रप्रेमी राजाले प्रजातन्त्रका लागि लडिरहेका योद्धाहरूलाई मृत्युदण्ड दिन किन तयार भए त ?

प्रश्न त उठ्छ । तर, उनलाई चरम दबाब दिइएको देखिन्छ । मैले सुनेअनुसार शुक्रराज, गंगालालहरूलाई प्राणदण्ड दिने कागजमा सही गर्न जुद्धशमशेरले त्रिभुवनकहाँ लगेका थिए । शुरूमा त्रिभुवन पन्छिन खोजेका हुन् ।

‘यत्रा मान्छे मारिए, मेरो सही चाहिएन, आज किन चाहियो’ भनेर उनी तर्किन खोजेका थिए । तर, जुद्धशमशेरले ‘तँ सही गर्छस् कि गर्दैनस्, गर्दैनस् भने तँ जस्ता सातवटा ठकुरी फेरिदिन्छु’ भनेर धम्क्याएका थिए । बाध्य भएर त्रिभुवनले सही गर्नुपरेको भन्ने छ । त्यसबेला उनले विद्रोह गर्न चाहिं नसकेकै हुन् ।

राजा त्रिभुवन कत्तिको रंगीन स्वभावका थिए ? सुरासुन्दरीको आसक्ति कति थियो ?

राणाहरूले बानी लगाइदिए नि ! एउटा त पावरमा बसेको मान्छे, सम्भ्रान्त वर्गको मान्छेमा त्यस्तो चरित्र स्वतः आउँछ । आजका पावरफुल मान्छेहरूमा पनि देखिएकै छ । ‘अब्सोलुट पावर करप्ट’ हुन्छ नि !

त्रिभुवनको वास्तवमा कस्तो बानी थियो रे भने यसो जमघट भयो भने स्वास्नी मानिसहरूको छेउछाउ गएर कामुक हाउभाउ देखाउने । उच्छृङ्खल शब्दहरू बोल्ने । कतिपय महिलालाई उठेरै हिंड्नुपर्ने बनाउँथे रे !

फागुन ७ लाई प्रजातन्त्र दिवस मनाउने गरिएको छ । नेपालमा पटक–पटक विभिन्न नाममा ‘प्रजातन्त्र’ आएका छन् । सात सालको प्रजातन्त्र दिवस, ४६ सालको अर्को प्रजातन्त्र दिवस, त्यसपछि लोकतन्त्र दिवस र गणतन्त्र दिवसमध्ये तपाईं कुनलाई माथि राख्नुहुन्छ ?

मेरो विचारमा फागुन ७ लाई नै सबैभन्दा माथि राख्नुपर्छ । अरू कुराले भनेको होइन । सात सालको आन्दोलन एउटा क्रान्ति थियो । यसकारण कि रोलक्रमवाला राणाहरूलाई छोडेर सम्पूर्ण देशवासी यसमा एकजुट थिए । प्रजातन्त्र आएपछि सबै नेपालीले खुशी मनाएका थिए ।

२०४६ सालको र २०६३ सालको चाहिं क्रान्ति नभएर विद्रोह मात्र हुन् । त्यसमा जनता विभाजित थिए । एकथरीले खुशी मनाए, अर्काथरी असन्तुष्ट पनि भए । यो सर्वस्वीकार्य होइन । बच्चादेखि बूढासम्म खुशीले उफ्रेको सात सालमै हो । अंग्रेजीमा युफोरिया भन्छन् । सीमाहीन उल्लास । त्यस्तै थियो । त्यसलाई क्रान्ति मानिएन भने हाम्रा बुवा–हजुरबुवा पुस्ताको अपमान हुन्छ ।

अन्त्यमा, राजा त्रिभुवनलाई ‘राष्ट्रपिता’ भन्ने गरिएकोमा तपाईंकाे धारणा के छ ?

स्पष्ट रूपमा भन्दा त्रिभुवनलाई राष्ट्रपिता भनेको मलाई मन पर्दैन । इण्डियामा गान्धीलाई त्यो भनियो भनेर हामीले किन भन्नुपर्ने ? जयप्रकाशनारायणलाई लोकनायक भन्दा बीपीलाई किन जननायक भन्नुपर्ने ?

फेरि राष्ट्रपिता भनिन लायक त्रिभुवनको योगदान पनि होइन । राष्ट्रपिता नै भन्ने भए कि पृथ्वीनारायण शाहलाई भन्नुप¥यो, उनले नेपालको एकीकरण गरेबापत । त्रिभुवनले राणाबाट उद्धार गरेको त हो, तर राणा भनेको पनि नेपाली नै हो नि ! अरू योगदान के त ? त्यसैले अलिकति चित्त बुझ्दैन ।

बरु महेन्द्रलाई भन्न सकिन्थ्यो ?

म त कसैलाई पनि यस्तो उपाधि दिनुहुँदैन भन्छु । हुन त सरकारले निर्णय गरेर त्रिभुवनलाई राष्ट्रपिता भनिएको पनि होइन । यो आम रूपमा चलनचल्तीमा प्रयोग भएको हो ।

बरु महेन्द्रले ठीक गरे । उनले जनताको योगदानको कदर गरे । जस्तो लेखनाथलाई कविशिरोमणि, धर्मराज थापालाई जनकविकेशरी, गणेशराज श्रेष्ठलाई वाद्यशिरोमणि, यस्ता पदवीहरू भनेको जनताको सम्मान हो । त्यो मलाई बडो राम्रो लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *