राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा – Nepal Press

राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ जना कैदीबन्दीको कैद माफी मिनाहा  दिएकी छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुको कैद माफी मिनाहा गरेको जनाएका हो ।

जसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम शुक्रबारदेखि लागू हुने गरी विर्खहाङ लिम्बुसमेतका ४०१ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव केशव प्रसाद घिमिरेले जानकारी गराएका हुन् ।

उनका अनुसार सर्वोच्च अदालतको साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई आजसम्ममा कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदिप लिम्बुसमेत गरेर १७९ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सालिन्द्र यादवसमेतका १५ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर