प्रदेश १ सभा : नेकपाको दुवै पक्षको अडानले बैठक खुलाउने वार्ता निष्कर्षविहीन – Nepal Press

प्रदेश १ सभा : नेकपाको दुवै पक्षको अडानले बैठक खुलाउने वार्ता निष्कर्षविहीन

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक खुलाउनेबारे नेकपाको दुई पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुगिंएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएसँगै देखिएको विवाद निरुपण गर्न पहिलोपटक यी दुई पक्ष संवादका लागि जुटेका हुन् ।

करिव २ महिनाअघि नेकपाको प्रचण्ड-माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएयता मतभेद चुलिएको छ । जसको प्रभाव प्रदेशसभा बैठकमा समेत देखिँदै छ ।

विराटनगरको एसियाटिक होटलमा १ घण्टा भएको वार्तामा दुवै पक्षले आफ्नो अडान दोहोर्‍याएपछि समस्या झन पेचिलो बनेको छ ।

ओली पक्षले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन गरेको आग्रह प्रचण्ड-माधव पक्षका सांसदहरूले इन्कार गरेको बताइएको छ । अविश्वासको प्रस्ताव प्रदेशसभाको बैठकमा प्रक्रियामा लैजानुपर्ने अडान उनीहरूले राखेको छ ।

वार्तामा सहभागी प्रचण्ड-माधव पक्षका नेता इन्द्र आङ्बोले सरकारको तर्फबाट आव्हान भएअनुसार आफूहरू वार्तामा बसेपनि केही निष्कर्ष ननिस्किएको जानकारी दिए ।

‘सरकारका तर्फबाट मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने कुरा प्रस्तावको रूपमा आयो’उनले भने,‘ सरकारको पुरानौ कुरा प्रस्तवाका रूपमा दोहोरिएकाले त्यसलाई हामीले स्वीकार गरिनौं । प्रष्टसंग अविश्वासको प्रस्ताव टेवल हुनुपर्ने हामीले भन्यौं । साझा विन्दुमा पुग्न सकिएन ।’

वार्तामा ओली पक्षबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्य विमल कार्की, प्रचण्ड-माधव पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्ष्मण तिवारी सहभागी थिए ।

ओली पक्षले दलका नेताले कारबाही गरेका सांसदलाई बैठकमा सहभागी हुन नदिने अडान राख्दै प्रदेशसभा अवरुद्ध गरेको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन गत माघ ७ गतेबाट शुरू भएको हो । त्यसयता दुई वटा बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका छन् । प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठक फागुन ९ गते तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर