ठेकेदारको लापर्बाहीका कारण रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानमा ढिलाइ – Nepal Press

ठेकेदारको लापर्बाहीका कारण रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानमा ढिलाइ

काठमाडों । जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलाइ भएको छ ।

जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका छन् ।

उनीहरु हिडेसँगै विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो । उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि अझै काम अघि बढ्न नसकेको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ ।

भूमिगत संरचनाको विद्युत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्राय पूरा भइसकेको अवस्थामा भोइथ इण्डियाले ढिलासुस्ती गर्दा काम अघि बढ्न नसकेको अन्य कर्मचारीले बताएका छन् ।

कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक १३ अर्ब ६५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैह्रेले जानकारी दिए ।

ब्याजको व्ययभार कम गर्न प्राप्त गरिने ऋण कार्यप्रगतिको आधारमा किस्ता किस्ताको दरले लिने गरेको आयोजनाले बताएको छ ।

यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्राय पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याङ्को निर्माण कार्य भइरहेको छ ।

भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन २०१४ देखि निर्माण कार्य शुरू भएको हो ।

रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरूङ गत २०७६ साल भदौ ४ गते देखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको प्राविधिकको भनाइ छ ।

प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीन वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इण्डियाले कोभिड–१९ को कारण दर्शाउँदै आलटाल गर्दैआएको बताइन्छ ।

सुरूङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको छ ।

कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड–१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको अवस्थामा उपकरण जडानकर्ता भोइथ इण्डिया गैर जिम्मेवारी काम गर्दै आएको आयोजनामा कार्यरत प्राविधिकहरू बताउँछन् ।

आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नु पर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताए ।

विद्युत्गृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदुर कार्यरत छन् । ती मध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *