मैना सुनारकी आमाको वेदना

१७ वर्षदेखि न्यायको लडाइँ, सेनाको त्रासले गाउँबाटै विस्थापित

बुधबार बैतडीमा प्रहरीले भागरथी हत्याका आरोपीलाई गर्वसाथ सार्वजनिक गरिरहँदा काठमाडौंमा देवी सुनार पत्रकारसामु आँशु बगाइरहेकी थिइन् । भागरथीको हत्यारा त १३ दिनमा पक्राउ परे, तर देवीकी छोरी मैना सुनारको हत्या गर्नेहरू १७ वर्षसम्म पनि खुलेआम हिंडिरहेका छन् ।

देवीले न्यायको लागि संघर्ष गरेको ‘एक जुग’ भयो । न्यायका निम्ति बोली, कराई र चिच्याइरहेकी छन् । तर, राज्यको कानसम्म उनको आवाज पुग्दैन । अब त अरूले पनि बिर्सिसके ।

नेपाल बार एशोसिएसनको हलमा छोरी मैना सुनार र भदै रीना सुनारको १७औं स्मृति सभा आयोजना गरिएको थियो । त्यहाँ देवीले फेरि एकपटक न्यायका लागि गुहार मागिन् ।

‘जति बोल्दा पनि कानून हाम्रो लागि होइन रहेछ’ उनले नीरस लवजमा भनिन्, ‘हिजोजस्तो लाग्छ मेरी छोरीले बोलेको बोली, मेरो बहिनीको चीत्कार । हिजोजस्तो लाग्छ…!’

देवी अझै पनि १७ वर्षअघिका ती कहालीलाग्दा दिन बिर्सन सक्दिनन्, जुन क्षण उनले आफ्नी छोरी र भदैलाई सेनाको बर्बरताबाट गुमाएकी थिइन् ।

०००

२०६० साल फागुन १ गते । देवी सुनार माइतमा थिइन् । अचानक आएका सैनिक जत्थाले भदैनी रीना रसाइलीलाई उनकै आँखा अगाडि जबर्जस्ती गरे । रातभरि सेनाले रीनालाई बलात्कार गरेर मारिदिएका थिए । त्यो बज्रपात सही नसक्नुको थियो । त्यतिबेला निरीह बनेकी देवीले यो घटना निडरताका साथ सार्वजनिक गरिन् ।

‘सेनाले दोहोरो भिडन्तमा मारिएको भनेको थियो । तर, दोहोरो भिडन्त थिएन । मैले घटना सार्वजनिक गरेपछि उनीहरूले मलाई खोज्न थाले’, देवी सुनाउँछिन् ।

४ गते घटना पत्रपत्रिकामा आयो । ५ गते शाही सेनाहरू देवीको घरमा पुगे । उनीहरूले १५ वर्षीया छोरी मैना सुनारलाई अपहरण गरे । २०६० फागुन ७ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा उनको बर्बरतापूर्वक हत्या भयो ।

छोरी गुमाउनुको पीडाले आहत थिइन् देवी । उनी न्यायका लागि लड्न थालिन् । तर, सेनाले उनलाई पनि तारो बनायो ।

‘त्यसपछि म त्यो घरमा एक दिन पनि बस्न सकेको छैन । भागी–भागी ज्यान जोगाएँ’, उनी सम्झिन्छिन् ।

सादा पोशाकमा आएका सैनिकहरू उनलाई खोज्न बच्चाहरूको स्कूलसम्म जान्थे । त्यसैकारण उनले आफ्ना अरू सन्तानहरूलाई स्कूलबाट छुटाउन बाध्य भइन् । पछि न्यायको ढोका ढक्ढक्याउँदै जाँदा धेरै संस्थाले उनलाई सहयोग गरे । मानवअधिकार आयोगले साथ दियो ।
त्यतिबेलादेखि उनले घर छाडिन् । २०७२ सालको भूकम्पमा उनी घर पुगेकी थिइन् । तर, घरमा बन्दुकले बनाएका प्वाल देख्दा उनको मुटु चहर्‍यायो ।

छोरी र भदैको न्यायका लागि आफ्नो ज्यानको बाजी लगाएर देवीले गरेको संघर्ष सानो थिएन । इन्हुरेडका अध्यक्ष डा. गोपाल शिवाकोटी ‘चिन्तन’ त्रासदीपूर्ण अवस्थामा देवी आफूलाई भेट्न आएको क्षण सम्झन्छन् ।

‘उहाँ न्याय खोज्दै, भौंतारिंदै शहर छिर्नुभएको थियो । यत्रो ठूलो शहरमा उहाँलाई आश्रय दिन आँट गर्ने संस्था कतै थिएन’ उनी खोतल्छन्, ‘पहिलोपटक उहाँ मेरो अफिस आउनुभयो । जब उहाँ छिर्नुभयो, सादा पोशाकधारी तर गोलीगट्ठा बोकेको सेनाको जत्थाले अफिस घेराउ गरे ।’
केही दिन आफ्नो संस्थाले आश्रय दिए पनि देवी सुनारको ज्यान निकै खतरामा थियो । सुरक्षा दिन कठिन भएपछि विदेशी संस्थाहरूको आश्रय लिनुपरेको उनी सम्झन्छन् ।

‘मुद्दा अन्तर्राष्ट्रिय मानवअधिकार आयोगमा पुगेपछि मात्र सेनाले मैनालाई मारेको सार्वजनिक गर्‍यो’, उनी भन्छिन् ।

सेनाले निरञ्जन बस्नेत, बबि खत्री, सुनिल अधिकारी र अमित पुन गरी चार जना सैनिकहरूको नाम सार्वजनिक गरेको थियो ।

अदालतले निर्णय गर्‍यो, कार्यान्वयन भएन

१३ वर्षको संघर्षपछि २०७४ वैशाख ३ गते काभ्रे जिल्ला अदालतले मैना सुनारको हत्यामा महासेनानी बबि खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनलाई कसुरदार ठहर गरेको थियो । ठहर गरेको तीन वर्षभन्दा बढी बित्यो, तर दोषीहरू पक्राउ परेका छैनन् । मैनालाई पक्राउ गर्न जिम्मेवार र यातना दिंदा उपस्थित रहेका निरञ्जन बस्नेतले त सफाइ नै पाए ।

भदै रीनाको बलात्कार तथा हत्यामा संलग्न पीडकहरूमध्ये तल्लो दर्जाका सिपाही काजीबहादुर कार्कीलाई मात्र प्रहरीले पक्राउ गरेको थियो । उनको कसुर ठहर नहुने भनी अदालतले पछि सफाइ दियो ।

‘बलियो प्रमाण जुटाउनका लागि कुनै भरपर्दो अनुसन्धान गरिएन । काजीबहादुर कार्कीले नाम किटेका नेपाली सेनाका वरिष्ठ अधिकृतहरूलाई कहिल्यै पनि सोधपुछ गरी अनुसन्धानको दायरामा ल्याइएन’ देवी भन्छिन्, ‘त्यसैले यो कानून धनीका लागि हैन रहेछ, गरीबका लागि मात्र रहेछ । फैसला गरेको मुद्दा त कार्यान्वयन हुन्न भने मुद्दै दर्ता नभएका केसमा पीडितले कहिले न्याय पाउलान् भनेर आशा गर्ने हामीले ? राज्यले हामीमाथि अपमान गरिरहेको छ ।’

सेनाले मुद्दा हाल्यो, तारिख खेप्दै देवी

देवी अदालतको फैसला कार्यान्वयन गराउन तीन वर्षदेखि अर्को लडाइँ लडिरहेकी छन्– कहिले विज्ञप्ति त कहिले सार्वजनिक आवाजमार्फत । तर, उल्टै सेनाले देवीलाई मुद्दा हालेको छ । डेढ वर्षयता उनले त्यो मुद्दा खेपिरहेकी छन् ।

उनीहरूको तर्क रहेछ– ‘सेनाको हिरासतमा राखेर कारबाही गरिसक्यौं हामीले, अब सेनाले डबल कारबाही खेप्न चाहँदैन । हाम्रो अदालतले कार्यान्वयन गरिसकेको केस उनीहरूलाई कार्यान्वयन गर्न दिनुहुन्न ।’ यही मुद्दाका कारण अर्को झण्झट व्यहोर्नुपरेको छ देवीले ।

हुन त अहिले पनि सेनाले पटक–पटक उनीसँग वार्ता गर्न खोज्छ । एकपल्ट भनेका थिए, ‘हामी मैनाको नाममा केही गरिदिन्छौं । तपाईं जे चाहनुहुन्छ त्यो गर्छौं ।’

देवीले मैनाको हड्डी जलाएकी छैनन् । त्यो टिचिङ हस्पिटलमा छ । उनको एउटा इच्छा थियो– छोरीको हड्डी राखेर म्युजियम बनाउने !

उनले त्यो कुरा राखिन् तर, एउटा शर्तमा मात्र । शर्त थियो– ‘तपाईंहरूले अदालतबाट फैसला भएका अपराधीलाई कानूनको दायराभित्र ल्याउने काम गर्नुभयो भने मात्र यो कुरालाई स्वीकार्छु । नत्र भनें म पैसामा बिक्दिनँ ।’

त्यसपछि सेना तर्किए । देवीलाई भेट्न छाडे ।

‘नत्र मलाई पटक–पटक भेट्न बोलाइरहन्थे’ उनी भन्छिन् ।

एउटै सपना- न्याय चाहियो !

कहिलेकाहीं त देवीको आशा हराउँछ । र ठान्छिन्– बरु मार्छन्, न्याय दिंदैनन् । यसपालिको स्मृति कार्यक्रममा पनि देवीको आउने सोच थिएन । ‘बोलेर केही हुँदैन’ भन्ने थियो ।

तर, बहिनी गीताले झक्झकाइन्– ‘दिदी यो कार्यक्रममा नेता ल्याएर भाषण गर्ने हैन, यो घटनालाई निरन्तर नियाल्ने र बुझ्नेहरूलाई ल्याएर न्यायको निम्ति बाटो खोज्ने हो ।’

बहिनीले थपेकी थिइन्, ‘पछिको पिंढीलाई यो घटना नै थाहा छैन । भावी सन्तानहरूले पनि यो थाहा पाउनुपर्छ । पछिल्लो पुस्ता पनि लाग्नुपर्छ यो घटनामा ।’

बहिनीको यो कुराले देवीलाई छोयो । सोचिन्, ‘बोलेन भने त सिद्धिन्छ । सास छउन्जेल लागिरहनुपर्छ ।’

स्मृति सभामा पनि १७ वर्षदेखि निरन्तर न्यायका निम्ति लडिरहेकी देवीले दृढताका साथ भनिरहेकी थिइन्– ‘हाम्रा सन्तान फर्केर आउँछन् भन्ने आशा छैन । भोलिका दिनमा पीडितहरू मारिनु नपरोस् भनेर पनि हामी बोलिरहने छौं । लडिरहनेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?