संसद पुनःस्थापनामै अल्झियो कांग्रेस, पौडेलको माग देउवाले गरे ठाडै अस्वीकार – Nepal Press

संसद पुनःस्थापनामै अल्झियो कांग्रेस, पौडेलको माग देउवाले गरे ठाडै अस्वीकार

काठमाडौं । ‘प्रतिनिधिसभा पुनःस्थापना’ को पक्षमा पार्टी उभिनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘ठाडै अस्वीकार’ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई लिएर कांग्रेसभित्र बढेको मतभेद आजबाट शुरु केन्द्रीय कार्यसमिति बैठकमा पनि उजागर भयो ।

बैठकको शुरुमै दुई महिनादेखिको विवादले प्रवेश पाएको थियो । मुख्यतः विधानअनुसार महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रीय समितिको म्याद ६ महिना थप्ने र भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गर्ने सभापति देउवाको योजना थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले जेठ मसान्तभित्र क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाई भदौ ७ देखि १० गतेसम्म काठमाडाैंमा महाधिवेशन गर्ने प्रस्ताव गरे ।

तर, महामन्त्री खड्काले प्रस्ताव पेश गरेलगत्तै बोलेका वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दा उप्काएपछि विषयान्तर भएको थियो । पौडेलले विगतका बैठकमा झैं प्रतिनिधिसभा विघटनलाई पार्टीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ करार गरिसकेको अवस्थामा संसद पुनःस्थापनाको माग गर्न हिच्किचाउन नहुने बताए । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर आन्दोलन घोषणा गरिए पनि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच ‘अघोषित सहकार्य’ भएकाे हुनसक्ने उनको आशंका थियो ।

‘संविधानविरुद्ध काम भयो भन्ने तर त्यसलाई सच्याउनुपर्छ भन्न नसक्ने हो भने सभापतिजीमाथि पनि प्रश्न त उठ्छ । होइन भने कुनै अलमल नगरी संसद पुनःस्थापनाको पक्षमा वक्तव्य दिएर बृहत् प्रदर्शन गर्नुपर्छ’, बैठकमा पौडेलले भने । उनले कांग्रेसले प्रष्ट निर्णय नगरेका कारण अदालतसमेत अलमलमा परेको हुनसक्ने भन्दै संसद विघटन खारेज गर्न कांग्रेसले माग गर्नुपर्ने बताए । त्यस्तै संवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने पक्षमा पार्टी उभिनुपर्ने धारणा पौडेलको थियो ।

‘संसद पुनःस्थापना हुनुपर्छ, असंवैधानिक नियुक्ति खारेज गर्नुपर्छ र प्रदेशका अविश्वास प्रस्ताव पारित गर्न कांग्रेसले मत हाल्नुपर्छ । मैले यी तीनवटा विषय केन्द्रीय समितिमा प्रष्टसँग राखेको छु’ बैठकपछि पौडेलले नेपाल प्रेससँग भने ।

पुनःस्थापनाको एजेन्डा बोक्दैनौंः देउवा

पौडेल बोलेलगत्तै सभापति देउवाले प्रतिक्रिया दिएका थिए । प्रतिपक्षी पार्टीले अदालतलाई आदेश दिन नमिल्ने भन्दै उनले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने बताए ।

‘संसद पुनःस्थापनाको एजेण्डा हामीले बोक्दैनौं । अदालतले जे भन्छ त्यही गर्नुपर्छ । चुनाव भन्यो भने चुनावमा जाने, पुनःस्थापना भयो भने संसदमा जाने’ बैठकमा देउवाले भने । उनले प्रतिपक्षी पार्टी निर्वाचनसँग डराउनुपर्ने कारण नरहेको समेत बताए ।

‘अदालतले चुनाव गर् भन्छ भने हामी किन डराउने ? यदि ६ महिनामा चुनाव गरेन भने चैं आन्दोलन गरौंला’ देउवाको भनाइ थियो । पुस ५ गते संसद विघटन भएको मितिले ६ महिना अर्थात् असार ५ सम्ममा सरकारले निर्वाचन नगरे आन्दोलन चर्काउनुपर्ने देउवाले बताएका हुन् ।

महाधिवेशनबारे भोलि निर्णय

महाधिवेशनको नयाँ मितिलगायत विषयमा कांग्रेस केन्द्रीय समितिले बिहीबार निर्णय लिने भएको छ । प्रस्तावित कार्यतालिकालाई केही संशोधन गर्न माग भएकोले बिहीबारको बैठकबाट टुंगो लगाउने बताइएको छ ।

कार्यतालिकामा असारमा पार्टीको स्थानीय संरचनाको अधिवेशन गरिने उल्लेख छ । असारमा वर्षा र खेतीपातीको समय भएकाले कार्यतालिका संशोधन गर्न केन्द्रीय सदस्यहरुले अनौपचारिक हिसाबले सुझाव दिएका छन् । बुधबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरमा भएको भागरथी भट्टको बलात्कार र हत्याको विषयमा स्थलगत अनुगमन गरिएको बारे जानकारी गराएका थिए । कांग्रेस बैठक बिहीबार ३ बजे पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर