गुणस्तरहीन सामान उत्पादन गरी बेच्दै आएका पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर – Nepal Press

गुणस्तरहीन सामान उत्पादन गरी बेच्दै आएका पर्सा र बाराका चार उद्योगमाथि मुद्दा दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।

बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले

खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताए ।

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताए ।

अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको छ । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ ।

कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ ।

यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको प्राप्त समाचारमा जनाइएको छ ।

सो कार्यालयले हालसम्म आठपटक संयुक्त अनुगमन तथा १२० पटक एकल अनुगमन गरेको छ । पर्सा र बारामा १२ वटाभन्दा बढी डेरी उद्योग रहेको र ती उद्योगले पाउडर मिसाएर दूध बनाउने गरेको, नक्कली घ्यू उत्पादन गर्ने जानकारी आएकाले ती उद्योगमा निगरानी बढाएको छ ।

करीब २० वटा पानी उद्योग रहेको र तीमध्ये अधिकांश उद्योग नेपाल सरकारको मापदण्डविपरीत सञ्चालनमा रहेको बताइएको छ । उद्योगी पmरार रहेकाले कार्यालयसँग भएको पुराना मुद्दा टुङ्गिन नसकेको हो ।

पर्सा र बारा दुई जिल्ला हेर्ने सो कार्यालयमा एक कार्यालय प्रमुखसहित दुई कर्मचारी मात्र भएको र सवारी साधनको अभावमा नियमित रुपमा अनुगमन हुन नसकेकाले प्राविधिक काम प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर