निर्माण सकिएका ४० फिल्ममध्ये ८ ले मात्र घोषणा गरे रिलिज डेट – Nepal Press

निर्माण सकिएका ४० फिल्ममध्ये ८ ले मात्र घोषणा गरे रिलिज डेट

काठमाडौं । ४० भन्दा बढी फिल्म निर्माण भएर प्रदर्शनको पर्खाइमा छन् । यी फिल्मका निर्माताले अहिलेसम्म औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छैनन् । उनीहरु अवस्था सामान्य हुने प्रतीक्षामा छन् ।

नेपाल प्रेसलाई प्राप्त विवरणअनुसार जम्मा आठ फिल्मले मात्र अफिसियल रिलिज डेट घोषणा गरेका छन् । ४० भन्दा बढी फिल्म रिलिजका लागि तयार भएपनि जम्मा ८ फिल्म मात्र प्रदर्शनको लागि तयार छन् ।

आठमध्ये ६ वटा फिल्म यसैवर्षभित्र रिलिज हुनेछन् भने बाँकी दुई आउने वर्ष तयारीमा छन् । फागुन २१ गते अञ्जली अधिकारी र अर्जुन गुरुङ अभिनित गोर्खो प्रदर्शन हुनेछ ।

चैत १३ गते अर्पण थापाको भूतघर लाग्नेछ । चैत २७ गते सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’, पुष्पल खड्का, पल शाह, वर्षा शिवाकोटीको मनसँग मन, कृष्णलीला र राजु गिरीको ‘तिम्रो हुने कहिले’ प्रदर्शन हुनेछन् । नयाँवर्षको छेकोमा चार फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।

०७८ सालको भदौ ११ मा चिसो मान्छे र दशैंमा प्रशान्त तामाङको परदेशी २ ले रिलिज मिति घोषणा गरेका छन् । यो वर्ष प्रदर्शन हुने फिल्मलाई कोभिड राहतस्वरुप चलचित्र विकास बोर्डले ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

माघ १ गते शिव श्रेष्ठले निर्माण गरेको ‘यस्तो एउटा प्रेम कहानी’ असफल भएपछि धेरै निर्माताले प्रदर्शन मिति घोषणा गर्न झस्किएका छन् । फलस्वरुप, फिल्म हलले पुरानै हिट फिल्मलाई पुनः रिलिज गरिरहेका छन् । अहिले सानो संसार, कबड्डी ३, कागबेनी लगायत प्रदर्शन भैरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *