अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार – Nepal Press

अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार

टेक्सस – आइतबारदेखि चल्न थालेको हिउँसहितको चिसो आँधीले चार अमेरिकी राज्यमा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै चिसो आँधी भनिएको यो तुफानको कारण टेक्सस राज्यमा दुई दिनदेखि विद्युत छैन ।

बिजुली नहुँदा टेक्सस राज्यका बासिन्दालाई न्यानो भइरहन मुस्किल भएको छ । ह्युस्टनको एउटा घरमा हिटर तताएर न्यानो हुन खोज्दा कार्बन मोनोक्साइडले निसास्एिर एक आमा र छोरीको मृत्यु भएको छ ।

ह्युस्टनमै एक घरविहीन मानिस र एक दस वर्षीय बालकको समेत मृत्यु भएको छ । टेक्ससमा अहिले आर्कटिक क्षेत्रतर्फ तीव्ररुपमा हुरी चलिरहेको छ । आर्कटिकबाट दक्षिण क्यारोलिनातर्फ बढिरहेको हुरीबाट त्यहाँ रातभरमा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् ।

मौसम चिसिएको कारण अमेरिकाको सबैभन्दा धेरै बिजुली उत्पादन गर्ने टेक्ससको पावर हाउस बन्द भएको छ । जसले गर्दा टेक्सस राज्य र वरपरको विजुली आपूर्ति बन्द भएको छ । सम्भावित आँधीले विद्युत आपूर्ति रोक्न सक्नेतर्फ पूर्वतयारी नगरेको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरेका छन् ।

टेक्ससमा अहिले पनि हिमवर्षा भइरहेको र तापक्रम माइनसमै रहेको जनाइएको छ । टेक्ससबासीले गएराति पनि विद्युत बिनै रात बिताए । पूर्वी अमेरिकामा न्यानो हुनका लागि अझै एकसातादेखि १० दिन लाग्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर