बरालिएको नागरिक आन्दोलनः जे पनि प्रतिगमन ! – Nepal Press

बरालिएको नागरिक आन्दोलनः जे पनि प्रतिगमन !

काठमाडौं । प्रतिनिधिसभा विघटनको सरकारी निर्णयविरुद्ध नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष निरन्तर आन्दोलनमा छ । नेपाली कांग्रेसले पनि विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ ठहर गर्दै आन्दोलन गरिरहेको छ ।

यता, जनता समाजवादी पार्टीले आन्दोलन र सभाहरु गरिरहेको छ भने मूलधारमा नरहेका साना चार वाम दलले ‘प्रतिगमनविरुद्ध रणनीतिक मोर्चा’ बनाएरै आन्दोलनकाे घोषणा गरेका छन् । तर, सबैभन्दा बढी सक्रिय चाहिं अर्को समूह छ । यो समूहले ‘बृहत् नागरिक आन्दोलन’ नाममा संसद विघटनयता अनेकन् गतिविधि गर्दै आएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । लगत्तै पुस ७ गते विघटनको विरुद्धमा रहेका लेखक, पत्रकार, कविलगायतको भेलाले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ को संज्ञा दियो । लेखक युग पाठकले संयोजन गरेको भेलामार्फत ५४ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले ‘बृहत् नागरिक आन्दोलन’ को नाममा वक्तव्य सार्वजनिक गरे । ६ बुँदे सो वक्तव्यमा संसद विघटनको कदमलाई ‘प्रतिगामी’ र ‘कु’ को संज्ञा दिंदै प्रतिवादमा उत्रन आह्वान गरिएको थियो । राजनीतिक दलहरुको आन्तरिक खिचातानी वा शक्तिसंघर्षमा आफूहरुको स्वार्थ नरहेको भन्दै सो समूहले सडकमै उत्रिएर प्रतिगमनको विरोध गर्ने घोषणा गरेको थियो ।

त्यसयता बृहत् नागरिक आन्दोलनका नाममा विभिन्न प्रदर्शनहरु गरिएका छन् । मूलतः राजनीतिक विषयबाट उठान गरिएको बृहत् नागरिक आन्दोलनले हाल राजनीतिक प्रतिगमन मात्रै नभएर ‘सबै क्षेत्रको प्रतिगमन’ विरुद्ध उभिने उद्घोष गरेको छ । बलात्कारदेखि शिक्षा क्षेत्रका मुद्दाहरुलाई समेत नागरिक आन्दोलनले आफ्नो एजेन्डामा पारेको छ । यसरी विषय विकेन्द्रित हुन थालेपछि कतिपयले नागरिक आन्दोलन ‘बरालिएको’ टिप्पणी गर्न थालेका छन् ।

नागरिक को हुन्, को होइनन् ?

संसद विघटनको समर्थन वा विरोधमा देशका नागरिक विभाजित छन् । तर, नागरिक आन्दोलनका नाममा विघटनको विरोधमा प्रदर्शन भइरहँदा यसमा सहभागी नहुने चाहिं नागरिक होइनन् त भन्ने प्रश्न कतिपयले उठाएकै छन् ।

नेपाल कम्युनिष्ट पार्टीको दुवै समूहले सडकमा नागरिक नै उतारेका छन् । आह्वान जसले गरे पनि सडकमा पुग्नेहरुलाई ‘अनागरिक’ करार गर्न सकिंदैन ।

यद्यपि बृहत् नागरिक आन्दोलनको ब्यानर नै फरक छ । यसमा विभिन्न पार्टीका कार्यकर्ता, लेखक, साहित्यकार, प्राध्यापक, कलाकारलगायत संलग्न छन् । पुस ११ गते सुरु भएको नागरिक आन्दोलनले दुई महिना पूरा गर्नै लाग्दा यसका अभियन्ताबारे चासो बढ्नु स्वाभाविक हो । हाल नागरिक आन्दोलनको अग्रपंक्तिमा लेखक युग पाठक, पत्रकार नारायण वाग्ले, लेखक खगेन्द्र संग्रौला, चलचित्रकर्मी केपी पाठक, रंगकर्मी घिमिरे युवराज, अधिकारकर्मी जेबी विश्वकर्मा, चलचित्रकर्मी मनोज पण्डित, कवि विप्लव प्रतीकलगायतका ‘नागरिक’ हरु रहेका छन् । नागरिक आन्दोलनमा एकपटक नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तसमेत देखिएका थिए ।

आन्दोलनको संयोजन गरिरहेका लेखक युग पाठक नागरिक आन्दोलन सबैको साझा भएको बताउँछन् ।

‘संसद विघटनलाई प्रतिगमन मान्ने सबै नागरिकहरु हाम्रो आन्दोलनका सदस्य हुनुहुन्छ । हामी जो देखिएका छौं हामी पनि नागरिक अगुवा होइनौं । हामी कसैलाई अगुवा कसैलाई पछुवा भन्दैनौ’, पाठकले नेपाल प्रेससँग भने । उनले आन्दोलनमा सबै विचारका नागरिक सहभागी भएको बताए ।

नागरिक आन्दोलनका झाँकी

२०६२/६३ को लोकतान्त्रिक जनआन्दोलनमा नागरिक समाजको भूमिका निकै उदाहरणीय थियो । त्यतिबेला नागरिक समाजको उद्देश्य एउटै थियो–शाही शासनको अन्त्य र लोकतन्त्रको स्थापना । अहिले भने बृहत् नागरिक आन्दोलनको एजेण्डा बहुआयामिक छ ।

संसद पुनःस्थापनाले मात्रै प्रतिगमन नसच्चिने निष्कर्षमा रहेको बृहत् नागरिक आन्दोलनका अभियन्ता भने आफूहरु राजनीतिक प्रतिगमनको विरुद्धमा मात्रै नउत्रिएको बताउँछन् ।

‘केपी ओलीले संसद विघटन गर्नु प्रतिगमन हो तर ओलीलाई प्रतिगामी बनाउन सबै राजनीतिक दल र समाजमा विद्यमान प्रतिगामी विचारहरुले बल पुर्याएको छ । त्यसैले हामी प्रतिगामी विचारविरुद्ध आन्दोलित छौं’ पाठकले भने ।

पुस ११, १३ ,१५, १७ र १८ गतेसम्म माइतीघरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित संसद विघटनको विरुद्ध प्रदर्शन गरिएको थियो । बृहत् नागरिक आन्दोलनले माघ १२ गते बालुवाटार मार्च गर्‍यो । कमलपोखरीबाट माटोको टीका लगाएर सुरु भएको आन्दोलन बालुवाटार पुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । कमलपोखरीको माटोको टीका लगाएर अभियन्ताहरुले कमलपोखरी निर्माणमा डोजर र कंक्रिट प्रयोग गरिएको विषयमा पनि आपत्ति जनाएका थिए ।

माघ २३ गते बृहत् नागरिक आन्दोलनले शीतलनिवास मार्च गर्यो । सो आन्दोलनबाट अभियन्ताहरुले संवैधानिक आयोगहरुमा भएको नियुक्तिको मुख्यतः विरोध गरेका थिए । त्यस्तै गत माघ ३० गते बृहत् नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च आयोजना गर्‍यो । सो आन्दोलनले संसद विघटनभन्दा बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठाएको थियो । त्यही मार्चका क्रममा एक युवतीलाई जिउँदै ‘लाश’ बनाएर शंख फुक्दै हिंडेको दृष्यसमेत देखियो ।

त्यस्तै बृहत् नागरिक आन्दोलनका तर्फबाट सोमबार त्रिभुवन विश्वविद्यालयमा ‘टियु मार्च’ गरियो । यो आन्दोलनले मुख्यतः त्रिभुवन विश्वविद्यालयका कमजोरीविरुद्ध आफूलाई केन्द्रित गरेको थियो । यसरी हरेक प्रदर्शनलाई मुख्य विषयभन्दा अलग विषयसँग जोड्न थालिएकै कारण बृहत् नागरिक आन्दोलन ‘बरालिएको’ आरोप लागेको हो । यहीबीचमा फागुन ७ गते टुँडिखेल मार्चको घोषणा गरिएको छ । टुँडिखेल मार्चको मुख्य माग ‘टुँडिखेललाई सैन्य नियन्त्रण नभई जनताको पहुँचमा ल्याउनुपर्ने’ रहेको छ ।

बृहत् नागरिक आन्दोलनप्रति सकारात्मक रहेकै कतिपय अभियन्ता भने एजेण्डा बरालिएकोमा चिन्तित छन् । ‘सुरुमा संसद विघटनको कदम असंवैधानिक भएकोले त्यसविरुद्ध लड्न हामीले आवाज उठायौं । अहिले धेरै विषयमा नागरिक आन्दोलनको धारणा आएको छ । यसले मूल एजेण्डालाई समस्या पार्छ कि भन्ने डर छ’, आन्दोलनको पहिलो दिनको भेलामा सहभागी एक लेखकले भने ।

सबैतिर प्रतिगमन ?

बृहत् नागरिक आन्दोलनका नाममा भएका प्रदर्शन केलाउने हो भने ‘प्रतिगमन’ शब्दलाई नै हलुका बनाइएको छ । संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएको आन्दोलनले अहिले आएर बलात्कारदेखि शैक्षिक समस्याहरुलाई पनि ‘प्रतिगमन’ को कोटरीमा हालिदिएको छ ।

राजनीतिक प्रतिगमनको मात्रै विरोधमा नउत्रिएको दाबी गर्ने बृहत् नागरिक आन्दोलनले सबै क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउन के यो उपयुक्त समय थियो ? अभियन्ता पाठक सबैखाले प्रतिगमनविरुद्ध उभिनुको विकल्प नभएको बताउँछन् ।

‘यो बेला राजनीतिक प्रतिगमन मुख्य हो तर सबै क्षेत्रका प्रतिगमनविरुद्ध आवाज उठाउन सम्बन्धित क्षेत्रका नागरिकहरुकै दबाब छ । समाजका सबै क्षेत्रका प्रतिगामी विचार राजनीतिक प्रतिगमनको जरो हो’, पाठकले भने ।

सामाजिक सञ्जालमा कतिपयले बृहत् नागरिक आन्दोलनलाई ‘नयाँ पार्टी खोल्ने तयारी’को रुपमा टिप्पणी गरेका छन् । नागरिक आन्दोलन भने ऋणमा छ । आन्दोलनकै मैदानमा ‘क्राउड फण्डिङ’ बाट उठेको रकमले आन्दोलनको खर्च धानेको छ ।

‘हामी यही समाजका नागरिक हौं । आन्दोलनमा को कस्ता मान्छे छन् भनेर सबैले हेर्न देख्न पाउनुहुन्छ । लुकाएर केही भएको छैन । प्रतिगमनविरुद्धको आन्दोलनका सहभागीले नै सहयोग संकलन गरेर आन्दोलन धानेका छौं’, पाठकले भने ।

विगतमा नागरिक आन्दोलनका सामु राजनीतिक दलहरु निरीह देखिन्थे । दलहरुबीच सडकमा धेरै जनता उतार्ने प्रतिस्पर्धा भइरहँदा भने नागरिक आन्दोलनमा सबैतिर ‘पुरानै अनुहार’ देखिन्छ । यद्यपि बृहत् नागरिक आन्दोलन आफ्ना प्रदर्शनमा नागरिक आकर्षण नभएको स्वीकार्न तयार छैन । ‘टाउको गन्ने हो भने त प्रधानमन्त्रीकै सभामा मान्छे धेरै गए होलान् तर बहुसंख्यक नागरिक त प्रतिगमनकै विरुद्धमा छन् । त्यसैले संख्या होइन विचार हेर्नुपर्छ’, पाठकले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर