त्यसैले कमरेड प्रचण्ड ! ननभेज आन्दोलन भन्दै नभन्नुस् – Nepal Press
नेपाल चिन्तन

त्यसैले कमरेड प्रचण्ड ! ननभेज आन्दोलन भन्दै नभन्नुस्

कतिपयले तत्काली माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र आन्दोलनलाई नै गणतन्त्रको स्थापना अनि राजसंस्था अन्त्यको देन मान्दै आएका छन् । समानता, वाक्स्वतन्त्रता, जातीय, क्षेत्रीय, लंैगिक अधिकार र आरक्षणलाई पनि त्यही गुरिल्ला आन्दोलनको उपलब्धि थियो भन्ने गरिन्छ ।

समयक्रमसँगै ती भ्रमका पर्दाहरू विस्तारै खुल्दै जानेछन् । अनि त्यो बुझाइ र विश्लेषण भ्रम थियो भन्ने पुष्टि पनि हुँदै जानेछ । इतिहासको कठघरामा एकदशक लामो हिंसाले देशलाई कति पछि पारेको थियो भन्ने कुरा भविष्यमा अझ पुष्टि हुँदै जानेछ ।

अब खास विषयतर्फ लागौं । रक्तपातपूर्ण छापामार युद्धलाई फागुन १ मा केही समूहले जनयुद्ध दिवसको रूपमा पनि मनाइसकेका छन् ।

साढे दुई दशकअघि तत्कालीन माओवादीले देशमा ज्यान मार्ने शृंखलाको शुरुआत गर्दा देश भर्खर–भर्खर एउटा प्रसव पीडाको भुमरीबाट मुक्त हुँदैथियो । अर्थात् वि.सं.२०४६÷४७ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने दिशातर्फ उन्मुख भइरहेको थियो ।

२०५१ सालको निर्वाचनमा मतमार्फत जनताले तत्कालीन नेकपा एमालेलाई समृद्धि, विकास अनि समानताको जग बसाउन ठूलो दल बनाएका थिए । जनमतमार्फत स्थापित स्व.मनमोहन अधिकारी नेतृत्वको सरकारले नौ महिनाको छोटो अवधिमै परिवर्तन कसरी सम्भव छ भन्ने सन्देश दिने गरेर काम गरिसकेको थियो ।

तर विडम्बना शिक्षा, स्वास्थ्य, बाटोघाटो, सहकारी, बैंकिङ, कृषि जस्ता क्षेत्रमा गाउँका बासिन्दालाई जोडेर एमाले सरकारले एकातिर परिवर्तनको रोडम्याप कोरेको थियो भने त्यति नै बेला माओवादीले रक्तपातपूर्ण आन्दोलनको बीजारोपण गरेर गाउँमा विकास पस्नबाट रोक्न थालेको थियो । यो तितो सत्य कसैबाट छिप्न सक्दैन ।

भौतिक संरचना खडा गर्न उही समयमा फर्कन अहिले हामी विवश छौं । हो, यदि त्यो हिंसा हुँदैनथ्यो भने विकासको लहरले आज एक चौथाइ शताब्दी पार गरिसकेको हुनेथियो । कल्पना गर्नुस्, त्यो लहर झांगिन पाएको भए साढे दुई दशकमा हामी कहाँ पुगिन्थ्यो !

यदि देशमा हिंसा मच्चिंदैनथ्यो भने कांग्रेस या राजावादीले निर्वाचन जिते पनि एमालेको नेतृत्वले निर्माण गरेको विकासको त्यो जगबाट उनीहरू पछि फर्कन सक्दैनथे । किनकि एक्काइसौं शताब्दीमा जन–विकासको चाहनालाई रोक्ने तागत उनीहरूसँग कदापि हुँदैनथ्यो । तर हिंसाको अगाडि परिवर्तनका ती रोडम्याप सहजै गरिब, निमुखाको बस्ती र घरसम्म पुग्न सकेनन् । हिंसाले जित्दै, विकास र समृद्धि हार्दै गयो । गाउँको गरिब बस्ती माओवादी हिंसाको शिकार बनिराख्यो ।

विकास पुग्नुपर्ने बेला विनाश, हत्या, आतंक र काटमारको राज चल्न थाल्यो । यो यथार्थतालाई इन्कार नगरौं । राजसंस्था फालिन्थ्यो फालिन्थेन त्यो अर्को बहसको विषय बन्ला । तर २०५१ सालमा निर्माण भएको जनताको स्तर र अवस्था परिवर्तनको जग भने अवश्य बलियो बन्दै जाने थियो ।

एक्काइसौं शताब्दीमा त्यो पनि हिंसाबाट कुनै पनि देशले समृद्धि र सुशासन हासिल गरेको नजिर छ ? छैन । छ त केवल जनताले भोग्नु परेको सास्ती र संकट । जुन आम गरिब–दुःखी नेपालीले एक दशकसम्म झेल्नु प¥यो । जसका कारण आजभन्दा पच्चीस वर्षअघि ठडिएका विकासका विम्बहरू ढले ।

अनि भौतिक संरचना खडा गर्न उही समयमा फर्कन अहिले हामी विवश छौं । हो, यदि त्यो हिंसा हुँदैनथ्यो भने विकासको लहरले आज एक चौथाइ शताब्दी पार गरिसकेको हुनेथियो । कल्पना गर्नुस्, त्यो लहर झांगिन पाएको भए साढे दुई दशकमा हामी कहाँ पुगिन्थ्यो !

गाउँ–गाउँमा सडक सञ्जाल विस्तारका काम नौ महिने शासनकालमा शुरुआत हँुदै थिए । त्यसले मूर्तरुप लिन नपाउँदै भएका सानातिना तुइनहरू काटिन थाले । पुलपुलेसा र विद्यालयहरूमा बम बर्सिन थाले । जसका कारण नयाँ संरचना बन्न त परै जाओस् भएका सीमित सुविधा उपयोग गर्नबाट पनि निरीह, निहत्था अनि गरिब नेपाली विमुख हुन बाध्य भए ।

घाम जस्तै छर्लंग छ, २०५१ पछि गाउँ गाउँमा पुग्ने कति बाटाहरू खनिएका थिए । कति स्वास्थ्य चौकीको जग बसालिएको थियो । विद्युतीकरणका निम्ति कति पोलहरू ठड्याइएका थिए । तर विडम्बना ती सबै संरचना निर्माणको महाभियान गरिब बस्तीसम्म पुग्न नपाउँदै मक्किन पुगे ।

विकास अभियान लिएर जानेको खुट्टा भाँचिन थाले । समृद्धिको नक्शा कोर्नेहरूको हात काटिन थालियो । कथित युद्धको नाममा सामन्त र दलालको संज्ञा दिंदै सर्वसाधारणलाई सफाया गर्न थालियो । अनि यस्तो विभीषिकाको बीचमा गाउँ–गाउँ अनि बस्ती–बस्तीमा विकास भित्रन संभव नै भएन ।

नयाँ निर्माण गर्न दिन त परै जाओस् भएका केही मध्यमस्तरका अस्पतालहरूलाई मिसनरी र विदेशी दलालको आरोप लगाएर शहरोन्मुख गाउँबाट विस्थापित गराइयो ।

सोच्नुस् त साढे दुई दशक अघि ती काला दिनको आरम्भ हुँदैनथ्योे भने शायद आज कमरेड झलनाथ खनाललाई इलाज गर्नकै निम्ति डल्लुबाट दिल्ली जान नपर्न सक्थ्यो । सीता दाहालको उपचारको लागि सुविधासम्पन्न अस्पतालको खोजीमा कमरेड प्रचण्डलाई कहिले न्यूयोर्क, कहिले दिल्ली त कहिले सिंगापुरतिर भौंतारिरहन पर्दैनथ्यो ।

विकास अभियान लिएर जानेको खुट्टा भाँचिन थाले । समृद्धिको नक्शा कोर्नेहरूको हात काटिन थालियो । कथित युद्धको नाममा सामन्त र दलालको संज्ञा दिंदै सर्वसाधारणलाई सफाया गर्न थालियो । अनि यस्तो विभीषिकाको बीचमा गाउँ–गाउँ अनि बस्ती–बस्तीमा विकास भित्रन संभव नै भएन ।

गाउँ–गाउँमा स्तरीय क्लिनिक र अस्पताल अनि ठूला शहरहरूमा सुविधासम्पन्न अस्पताल निर्माणको कामले पच्चीस वर्षसम्म त पूर्णता पाइसकेको हुने नै थियो । जुन कामको फेरि अहिले आरम्भ गर्नु परेको छ । हो यही नै हो हिंसाले हामीमाथि थोपरेका विडम्बना । त्यसैले अब त ‘ननभेज’ आन्दोलन भन्दै नभन्नुस् कामरेड प्रचण्ड !

यदि त्यो हिंसा हँुदैनथ्यो भने त्यतिबेला जन्मिएर अहिले युवा बनेको एउटा नेपालीले परिवारको खुशीको निम्ति खाडीमा जानुपर्ने विवशताको अन्त्य भइसकेको हुनेथियो । बरु कोही अहिले देशकै कुनै सुविधासम्पन्न विश्वविद्यालयमा खोज अनुसन्धानको विद्यार्थी बनिरहेका हुनेथिए । कोही कृषि र प्रविधिको प्रयोगात्मक शिक्षा लिएर स्वरोजगार बनिरहेका हुनेथिए । कति अरूलाई रोजगार दिइरहेका पनि हुनेथिए ।

अनि अर्कातर्फ तपाईंहरूलाई याद नै छ अहिले विदेशिइरहेका युवाको ठूलो पंक्ति त्यही दशक लामो द्वन्द्वको शिकार भएका निर्दोष युवाहरू नै छन् । कति डर, त्रास र धम्कीका कारण पढाइबाट पलायन भए । कति अज्ञानताका कारण आशै आशमा युद्धमा लागेर डाक्टर इन्जिनियर बन्ने सपनालाई तिलाञ्जली दिए, भविष्य बर्बाद बनाए ।

के हिजो माओवादीले भने जस्तो नपढे पनि डाक्टर, इन्जिनियर, प्राध्यापक, आधुनिक कृषक, सक्षम प्रशासक बन्न संभव रहेछ त ? रहेनछ । आखिर हिजो पढ्नेहरू नै आज देशको तत्क्षेत्रमा सम्मानित र तुलनात्मक रूपमा सुखी जीवन विताइरहेका छन् ।

अब भन्नुस् यदि त्यो हिंसा हुँदैनथ्यो भने देशमा अर्धशिक्षित नागरिकको तुलनामा शिक्षित योग्य जनशक्तिको आकार कत्रो हुनेथियो ? हो त्यही छापामार लडाइँले नै आज धेरै नेपालीलाई शिक्षित र योग्य हुनबाट रोकेको कुरालाई नजरअन्दाज गरिनुहँुदैन ।

अमेरिका, युरोप जस्ता समृद्ध मुलुकमा अवसरको खोजीमा भासिनुपर्ने बाध्यताको उपज पनि सशस्त्र युद्ध नै थियो । कल्पना गर्नुस् त; बाध्यता थिएन भने कोही किन आफ्नो स्तर र क्षमतालाई भुलेर विदेशिन विवश हुन्छ ? पैसाकै लागि पराइबाट हेपिन किन तयार हुन्छ ?

२०५१ को त्यो समृद्धिको जग हिंसाको कारण ढल्दैनथ्यो भने आज ती समृद्ध देशमा अवसरका लागि गएकाहरू अनुभव बटुलेर फर्किसकेका हुनेथिए । उतिबेला जन्मिएर अहिले युवा भएकाहरू पनि अवसरको खोजीमा खाडी र युरोप अमेरिकाको भिसाको पर्खाइमा हुने थिएनन् । अनि अमेरिका छिर्नकै निम्ति मेक्सिको र निकारागुवाको जंगलमा अलपत्र परेकाहरू शायद स्वदेशमै केही गरिराखेका हुनेथिए ।

अब फेरि पनि कसैसँग चित्तबुझ्दो जवाफ छ भने भन्नुस् । यदि त्यो हिंसा हुँदैनथ्यो भने पच्चीस वर्षमा हामी कहाँ हुन्थ्यौं होला ! कसैको लहडमा चालिएको हिंस्रक कदमले हामीलाई कति पछि धकेल्यो ! इतिहासमा यसको नृशंस रूपमा मूल्यांकन हुनै पर्छ । तुइन काटिएपछि, पुल भत्काएपछि ज्यानलाई हत्केलामा राखेर वल्लो गाउँबाट पल्लो गाउँमा जान विवश को भयो ? गरीब निमुखा नेपाली कि शहरिया सुखसयलमा बसेका अनि सुरक्षित रूपमा भारतमा आश्रय लिइराखेका युद्धका नेतृत्वकर्ताहरू ?

जगजाहेरै छ त्यो पीडा भोग्नु पर्यो त केवल तिनै गरिब निमुखाले । विकट गाउँका विद्यालयमा बम पड्काइएपछि, शिक्षकहरू लखेटिएपछि पढ्नबाट को वञ्चित भयो ? शहरका महँगा निजी विद्यालयमा पढ्ने धनाढ्यका छोराछोरी कि बिहान–बेलुका घाँसदाउरा गरेर छाक टारिरहेका निमुखा नेपालीका सन्तान ?

आखिर त्यो रक्तपातले फेरि पनि पछि पारेको थियो त केवल तिनै गरिब निरीह नेपालीका सन्तानलाई । उसो भए त्यो कसरी जनयुद्ध भयो ? जसले केवल प्रताडित र पीडित बनायो त मात्रै पीडितहरूलाई नै । यसो हँुदा समाज अगाडि बढ्यो कि पछाडि धकेलियो ? के हिंसाको नेतृत्वकर्ताहरूसँग यसको चित्तबुझ्दो जवाफ छ ? अहँ कदापि छैन ।

अर्को एउटा नजिर हेर्नुस् । गाउँ–गाउँमा कृषि विकास बैंकहरू विस्तार भइरहेका थिए । सर्वसाधारण जनता उतिबेला नै बैंकिङ पहुँचमा आउने क्रमको शुरुआत भइसकेको थियो । तर युद्धको उद्घोष बैंकमा लुटपाट अनि विस्फोट गरेर भयो । ग्रामीण बस्तीमा पुगिसकेका बैंकहरू विस्थापित भए । जसले नगद र बैंकसँग जोडिन पाउने गरिबको अवसर बीचमै रोकिदियो । जुन अभियानको फेरि आरम्भ गर्नुपरेको छ ।

फेरि पनि भन्नुस् त्यतिबेला नै बैंकसँग जोडिएर अर्थतन्त्रमा ग्रामीण जनताको पहुँच पुग्न सकेको भए आज उनीहरूको अवस्था र स्तर कहाँ पुग्नेथियो होला ? के रक्तपातपूर्ण युद्धको शंखघोष गर्नेहरूलाई यसको हेक्का छ ? अवश्य छैन । शायद हुन्थ्यो भने निर्दोष नेपालीलाई दशकौंपछि पार्ने गरी रगतको खोलो बग्ने थिएन ।

अन्त्यमा भन्नैपर्छ माओवादीको त्यो रक्तपातपूर्ण छापामार युद्धलाई कुनै पनि कोणबाट सही थियो भन्ने आधार नै भेटिंदैन । हो, यसर्थ हिंसालाई प्रश्रय दिने हरेक गतिविधि वर्जित हुनैपर्छ । जसले देशलाई फेरि पछि धकेल्नेछ । यदि पच्चीस वर्षअघि त्यो हिंसाको उल्टो यात्रा आरम्भ हुँदैनथ्यो भने आज हामी परिवर्तनको कुन स्टेजमा पुगिसकेका हुनेथियौं । जुन हाम्रो लागि हिंसाकै कारण यथार्थतामा कल्पना गर्नु बाहेक अरू केही रहेन ।

यसर्थ आजको एक्काइसौं शताब्दीमा समाज रूपान्तरण हिंसाबाट होइन समृद्धि, शिक्षा र समयसापेक्ष भौतिक विकासबाट मात्र संभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.